मृत्यु चेत गुमाउँदा
सधैं कसै न कसैको
अस्तु बोकेर बहने
बागमतीको किनारै किनार
उसले कति यात्रा गर्यो, गर्यै
सधैं कसै न कसैको
आश र लाश जल्ने घाटमा
ऊ कति मलामी गयो, गयो
सबैलाई जस्तै उसलाई पनि
कहिलेकाहिँ मसान बैराग्यले
नछोपेको होइन
सबैलाई जस्तै उसलाई पनि
कहिलेकाहिँ एकल नैराश्यले
नर्वाएको होइन
विहानी घाम उकाली लाग्दा
पातलिएको हुस्सुजस्तै
उसका नैराश्य आफैं
नहराएको पनि होइन
हुस्सु आइरह्यो, हुस्सु गइरह्यो
वागमती किनार र मसान घाटमा
उसको यात्रा चलिरह्यो
भ्रममा बाँचेको मान्छे ऊ
भ्रमलाई नै जिन्दगी ठानिरह्यो
तर त्यो दिन भने फरक थियो
घर छेउकै फुटपाथमा
गुनगुनाएर हिँडिरहेको उसलाई
के थाहा
त्यहाँ शनि, मंगल र केतुको वास थियो
उसलाई के थाहा
त्यही विन्दूमा राहू विष्फोट हुँदै थियो
मासुका फाल्सा, फाल्सा
शरिरका टुक्रा, टुक्रा
बाटोभरी छरियो
कसैलाई भेट्न नपाई
ऐया पनि भन्न नपाई
जीवनलाई ऐनामा हेर्नै नपाई
सबै छोडेर, सबैलाई छाडेर
एकै पलमा ऊ गयो
यसरी नै हर दिन
जान्छन् मान्छेहरू
सोच्दै नसोचेको क्षणमा
सोच्दै नसोचेको मोडमा
आफन्त गए, साथी गए
परिचित गए, अपरिचित गए
एकदिन म पनि जानेछु
कसलाई के थाहा
मृत्यु कहिले, कुन बेला
कसरी, कहाँ
कसलाई लिन आउँछ?
फूल, माला, खादा, सम्मान
चर्चा-परिचर्च, स्मृति-वार्षिकी
मुर्ति, म्युजियम
सबैको अर्थ बाँच्नेले खोज्ने हो
जानेलाई अमरत्वको अर्थ हुँदैन
अवचेतनामा हरेक मान्छेलाई
थाहा हुन्छ
कुनै पनि बेला फुट्न सक्ने मुटु
छातिमा बोकेर
कुनै पनि बेला चर्किन सक्ने
धर्तीमा टेकेर
ऊ माटोमा विलिन हुन
पर्खिरहेको निरीह प्राणी हो
अवचेतनामा हरेक मान्छेलाई
थाहा हुन्छ
ऊ कुनै पनि बेला ढल्न सक्ने
देहमा उभिएर
कुनै पनि बेला सुक्न सक्ने
नसामा जेलिएर
शुन्यतामा समाहित हुन
पर्खिरहेको संयोगको अस्तित्व हो
तर पनि
मान्छे किन लोभी हुन्छ?
मान्छे किन धुर्त हुन्छ?
मान्छे किन क्रुर हुन्छ?
मान्छे किन अत्रिप्त हुन्छ?
पद, पैसा, प्रतिश्ठाको
मान्छे किन दास हुन्छ?
आफ्नै आँखामा झर्न
मान्छे किन अभिशप्त हुन्छ?
अवचेतन मनको मानव निरिहतालाई
चेतन मनको अत्याकाङ्क्षाले जित्न खोज्दा
मान्छेले जानीजानी मृत्यु-चेत गुमाउँछ
मानवता त्यहिँबाट भङ्ग हुन्छ।
रवीन्द्र मिश्र । २२ फागुन, २०७५
मिश्रका थप कविताहरू उनको कविता संग्रह “रवीन्द्र मिश्रका कविता”मा पढ्न सकिन्छ। सो पुस्तकहरूबारे थप जानकारी लिन र कसरी हासिल गर्न सकिन्छ भन्ने बुझ्न कृपया BOOKS खण्डमा जानुहोला।