ईश्वरभन्दा अग्लो मान्छे
पर डाँडाको टुप्पोमा
मन्दिर छेक्ने ठूऽऽऽलो घर बनेछ
पाप र श्रापको समय-चक्रले होला
ईश्वरभन्दा मान्छे अग्लो भएछ
मध्य शहरको बीचमा
देउतै देउताको चौक छेक्ने
विशाल ‘मल’ बनेछ
इमानभन्दा पैसा पुज्ने युगमा
ईश्वरभन्दा ‘अर्थ’ ठूलो भएछ
पशुपतिको गौचरमा
गाई होइन मान्छे चर्न थालेका छन्
नदी किनारमा आजभोली
धान होइन पैसा झुल्न थालेका छन्
मन्दिरमा ट्वाइलेटको टायल टाँसेर
पुजा गर्ने पुस्ता बन्यौँ हामी
मुर्तिमा गाईको दुध चढा’र
मन्दिरै छेउ
मैदान बस्ने पुस्ता भयौँ हामी
देउतै देउताको बीचमा उभिएर
मान्छे सफेद झूठ बोल्ने भएछ
सत्य हराएको युग भएर होला
ऊ ईश्वरलाई लाटो
आफूलाई बाठो देख्ने भएछ
पर डाँडाको टुप्पोमा
मन्दिर छेक्ने ठूऽऽऽलो घर बनेछ
कलियुग भएरै त हुनुपर्छ
ईश्वरभन्दा मान्छे अग्लो भएछ।
रवीन्द्र मिश्र । २४ फागुन, २०७५
मिश्रका थप कविताहरू उनको कविता संग्रह “रवीन्द्र मिश्रका कविता”मा पढ्न सकिन्छ। सो पुस्तकहरूबारे थप जानकारी लिन र कसरी हासिल गर्न सकिन्छ भन्ने बुझ्न कृपया BOOKS खण्डमा जानुहोला।