तीन प्रेम कविता
तिमी र म
तिमी र म
धेरै टाढा हिऊँको सिरकमा
अलिपर पहाडको पछ्यौरीमा
बगानमा बहकिएको हरियाली अनि
बीचबीचमा मात्तिएर, उर्लिएर
सुस्ताएको नदीमाकहाँ छैनौं हामी ? तिमी र म…
तिमी र म
क्षितिजका बान्की–बान्कीमा
फुर्किएका पँधेरी, ओत र ओडारमा
झरेका चियाका पात
अनि नदीछेउ
पानी–पानी भएर बहेको पानीमा
कहाँ छैनौं हामी ? तिमी र म…
तिमी र म
सेताम्यमा रंगिएको सासमा
पहाडमा लजाएको परेलीमा
बुटानमा अल्झिएको तुना
अनि
नदीमा उघ्रिएको वेगमा
कहाँ छैनौं हामी ? तिमी र म…
तिमी र म
हेर्दाहेर्दै बन्द भएका आँखामा
मुस्कुराउँदै मन्द भएका ओठमा
हाम्रो स्पर्श, आभा
भावना र आवेगमा
कहाँ छैनौं हामी ? तिमी र म…
मेरा कवितामा
अनन्ततामा, निरन्ततामा
ब्रह्म, विष्णु र महेश्वर––मा
कहाँ छैनौं हामी ? तिमी र म…
**********
तिमीलाई, मलाई के होला ?
यदि मैले तिमीलाई थाहै नदिई
कुनै साँझ तिम्रो न्यानो, गहिरो
श्वास–प्रश्वासको सुवास
अनुभूत गरिदिएँ भने के होला ?
तिमीलाई पत्तै नदिई
तिम्रो अनुपात मिलेर उठेका ओठमा
हलुकासँग स्पर्श गरिदिएँ
या, तिमीलाई थाहै नदिईमेरा दुई हातमा तिमीलाई
सलर्क्कै बेरिदिएँ भने के होला ?
तिम्रो काऽऽऽलो, लामो, रेसादार कपाल
मेरा विनम्र औँलाहरुले कोरिदिएँ
र, त्यो कोरेको कपाललाई हलुकासँग बाटेर
तिम्रो छातीमा सरक्क बिछ्याइदिएँ भने के होला ?
तिमीलाई थाहै नदिई तिम्रो निधारमा
ठूलो, रातो, टीका टपक्क टाँसिदिएँ
या तिमी सपक्क ओछ्यानमा
पल्टिएकी बेला
छेउमै बसेर लोलाइदिएँ भने के होला ?
त्यति नै बेला तिमी निद्राबाट बिउँझियौ
र, म सपनाबाट बिउँझिएँ
अनि
छेउमै शान्त बलिरहेको दियो
आफैँ भर्भराएर दन्कियो भने केहोला ?
***********
न भुल्न सक्छु, न गन्न सक्छु
मेरा उच्छवासका सुवास
कहाँ–कहाँ बतासिए
र, उनका मयूरी उच्छवासले
मलाई कहाँ–कहाँ स्पर्श गरे,
यति धेरै बसेछन् मायाका डोबहरु
न म भुल्न सक्छु, न गन्न सक्छु
यी हातले बेस्कन पक्डिएका धुकधुकीहरू
यी ओठले बिस्तारै बोलेका बातहरु
वसन्तमा बेरिएका सर्पजस्तै
एकाकार भएका आवेगहरु
कहाँ थिए ती, कहाँ गए
न म भुल्न सक्छु, न गन्न सक्छु
कतै बालुवामा हिँडेछु
मेटिएका पाइला मात्र बाँकी छन्
कतै काँडामा जेलिएछु
खाटा बसेका डोब प्रस्टै छन्
कतै आगोले पोलेका खतहरु
अहिले पनि चर्चराउँछन्
जे भए, त्यस्तै, त्यस्तै भए
न म भुल्न सक्छु, न गन्न सक्छु
कतै थपक्क बिछ्याइएका मुटुमाथि
सपक्क पल्टिएछु
कतै हत्केलामा सुम्पिएका आँखामा
सलक्क पौडिएछु
अहिले पनि गहिरो सास लिँदा
फरक–फरक सुवास आउँछ
रंगिन यात्रा हिँडिएछ जिन्दगीमा
न म भुल्न सक्छु, न गन्न सक्छु ।
रवीन्द्र मिश्र | १८ माघ वैशाख २०७६
मिश्रका थप कविताहरू उनको कविता संग्रह “रवीन्द्र मिश्रका कविता”मा पढ्न सकिन्छ। सो पुस्तकहरूबारे थप जानकारी लिन र कसरी हासिल गर्न सकिन्छ भन्ने बुझ्न कृपया BOOKS खण्डमा जानुहोला।