Skip links

बुबा, तपाईंको पुस्ताले यो देशलाई के दियो?

धेरै वर्षपछि
मेरा छोराछोरीले मलाई सोध्नेछन्
बुवा, तपाईंको पुस्ताले
यो देशलाई के दियो?

म बोल्नै लाग्दा लरबराएको सुगाजस्तै
लरबराउने छु
अनि पर्रर्रर्र भन्नेछु
प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र
संघियता, धर्म निरपेक्षता, समावेशीता
सबै दियो

छोराले भन्नेछ:
त्यो त तपाईं, मलाई
र हामीलाई दियो
तपाईंलाई लाग्छ कि हामी देश हौं?
देश हाम्रो मुटुमा छ?

म पढ्नु पर्ने पाठ नपढी आएको
स्कुले विद्यार्थी झैं अक्मक्किने छु
र अलमलिँदै भन्नेछु
हो, हामी नै देश हौं
देश हाम्रो मुटुमा छ

अनि छोरी फिस्स हाँस्नेछिन्
र भन्नेछिन्:
तपाईंको निधार भ्याट-शून्य छ
तपाईंको आँखा कर-शून्य छ
आवाजमा अधर्म छ
शब्द असत्य छ
प्रार्थनामा पाप छ
पुजामा सराप छ
सदाचारको सूचीमा
पुछारमा हराएको तपाईं, भन्नुहुन्छ —
हामी नै देश हौँ
देश हाम्रो मुटुमा छ?

होइन…होइन…बुबा, होइन…होइन

देश
तपाईंले पैसा चपाएको
धुलाम्य बाटोमा होइन

देश
तपाईंले महल ठड्याएको
उर्बर माटोमा होइन

देश
तपाईंले न्याय मारेको
अदालतमा होइन
देश
तपाईंले नैतिकता बेचेको
शहर-बजारमा होइन

देश
देहातमा छ
देउराली र भञ्ज्याङ्मा छ

देश
मुगु, मुस्ताङ र महोत्तरीमा छ

देश
घाँस र दाउराको भारीमा छ

देश
बोराले बारेको झुपडीमा छ

देश
दाल किन्ने पैसा नभ’र
पानीमा मुछेको भातमा छ

देश
रित्तो खल्तीका कारण
सास गएको लाशमा छ

अनि भन्नुहुन्छ
तपाईको पुस्ताले सबै दियो
देश तपाईंको मुुटुमा छ?

एकपटक
मुटुमा हात राखेर भन्नोस्, बुबा
तपाईंको पुस्ताले यो देशलाई के दियो?
छेपारो जस्तै रङ्ग बदल्ने मान्छे दियो
सुत्केरी भत्ता खाने पुरूष सांसद दियो
चप्पल लाउने नेतालाई महलको मान दियो
विमानस्थलमा सधैँ झर्ने आँशुको डल्ला दियो
लाउडा दियो, धमिजा दियो
काण्डै काण्डको श्रृङ्खला दियो
सुकेको दुधको मुण्टो लिएर
कर्णालीमा हाम फाल्ने आमा दियो
मुसहर बस्तीको एक्लो रूखमा
विहानै झुण्डिने बुवा दियो

अब भन्नोस्, बुवा
तपाईंको पुस्ताले यो देशलाई के दियो?

म निशब्द भएपछि
छोरीले विस्तारै भन्नेछिन्:
बुबा, चित्त नदुखाउनुहोला
तपाईंको पुस्ताले
भएको पनि सबै लियो
मेरो आत्मा लियो, मेरो सम्मान लियो
मेरो नेपालीत्व लियो, मेरो देशभक्ती लियो
बदलामा
दशौँ लाख भोका पासपोर्ट दियो
कोही बस्नै नचाहने देश दियो
भन्नोस्, बुबा
तपाईंको पुस्ताले यो देशलाई के दियो?

रवीन्द्र मिश्र | १७ माघ २०७५
मिश्रका थप कविताहरू उनको कविता संग्रह “रवीन्द्र मिश्रका कविता”मा पढ्न सकिन्छ। सो पुस्तकहरूबारे थप जानकारी लिन र कसरी हासिल गर्न सकिन्छ भन्ने बुझ्न कृपया BOOKS खण्डमा जानुहोला।

This website uses cookies to improve your web experience.
mersin eskort bayan - izmir eskort - eskort ankara - amasya bayan eskort - eskort istanbul