Skip links

आमा

आमा
तिमीले पत्कर बालेरे जगाइदिएको मेरो ज्योतिमा
म आज सुर्य खोजिरहेछु
ता कि भोलि कुनै आमालाई पत्कर सोहोर्नु नपरोस्

आमा
तिमीले फोक्सै सुकुन्जेल फुकेर बालेको दाउरामा
म आज उर्जा खोजिरहेछु
ता कि भोलि कुनै आमालाई ढुँग्रो फुक्न नपरोस्

दिनभरी बारीमा मकै रोपेर
बदाम गोडेर, साग टिपेर
गलित शरीरले विरामी हुँदा नि
एक गाँस तातो पकाएको
मैले बिर्सिएको छैन, आमा

आमा
तिमीले कयौं रात पीडा पिएर झारेको आंशुमा
म आज खुशी खोजिरहेछु
ता कि भोलि कुनै आमालाई पीडा पिउन नपरोस्

तिमीले बिर्सियौ होला, आमा
बल्ल-बल्ल ल्याएको दुई पाउ मासुको
हाड-हाड आफूलाई राखेर, मासु-मासु मलाई खुवाएकी
तिमीले बिर्सियौ होला
धोतीको फेरमा बाँधेर बचाएको दुई रूपैयाँबाट
खुसुक्क एक रूपैयाँ मलाई दिएकी

आमा
तिमीले लगाएको थोत्रो धोती र चोलोमा
आज म इज्जत खोजिरहेछु
ता कि भोलि कुनै आमालाई लुकी हिँड्न नपरोस्

आमा
हामी सबैकी आमा
आशीष देउ हामीलाई
तिमीले आफूलाई जलाएर बालेको ज्योतिमा
हामी यस्तो प्रकाश खोज्न सकौं
भोलि कुनै आमा अँध्यारोमा बाँच्न नपरोस्
कसैको सन्तान अँध्यारोमा रून नपरोस् !

रवीन्द्र मिश्र | १३ फागुन २०७१, काठमाण्डू
मिश्रका थप कविताहरू उनको कविता संग्रह “रवीन्द्र मिश्रका कविता”मा पढ्न सकिन्छ। सो पुस्तकहरूबारे थप जानकारी लिन र कसरी हासिल गर्न सकिन्छ भन्ने बुझ्न कृपया BOOKS खण्डमा जानुहोला।

This website uses cookies to improve your web experience.