नयाँ शक्तिका चार खम्बा
पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टताको खम्बामा नयाँ शक्ति निर्माण भयो भने त्यसले देशको सबै प्रकारका प्रतिकूलता चिर्ने ज्ञान, विवेक र क्षमता राख्नेछ।
Originally published on ekantipur.com | ‘देश यस्तो भैसक्यो, तपाईंहरूको नयाँ शक्ति पनि गफमै सीमित हुने भयो,’ आइतबार बिहान उठेर फेसबुक खोल्दा एकजना अपरिचित शुभेच्छुकले यस्तो सन्देश पठाएका रहेछन् । नयाँ राजनीतिक शक्तिको आवश्यकताबारे बारम्बार लेखिरहेका कारण हुनुपर्छ, मलाई त्यस्ता आशयका सन्देशहरू बेलाबखत आइरहन्छन्।
अलिकति ढिलो—चाँडोको कुरामात्र हो, नयाँ शक्तिको उदय त हुन्छ–हुन्छ । तर अत्यन्तै जटिल बनेको र हेर्दाखेरि अन्तिम चरणमा पुगेको देखिएको नयाँ संविधान निर्माण कार्य पुरा नहुँदै त्यस्तो शक्तिको घोषणा गर्नु परिस्थितिलाई थप जटिल बनाउनुमात्र हुनेछ । त्यस बाहेक नयाँ शक्तिको घोषणा हतारमा गर्नुको कुनै औचित्य छैन, किनभने सबभन्दा पहिले त्यसको सफलताको सुनिश्चितताका आधारहरू निर्माण गर्नुपर्छ।
पर्याप्त गृहकार्य नगरी गरिएको घोषणाबाट पार्टी अस्तित्वमा त आउला, नयाँ नेताहरूले खुब अन्तर्वार्ता र भाषण देलान्, ताली पनि खालान्, तर तिनले शासन गर्नसक्ने छैनन् । आउँदो आमनिर्वाचनमै सामान्य बहुमत ल्याएर एकल सरकार बनाउने आत्मविश्वास, दृढता र तयारी नभएको नयाँ शक्ति जन्मिनुभन्दा नजन्मिएकै वेश, किनभने त्यसले चुनावमा अहिले नै व्यापक रूपमा विभाजित हुने गरेको मतसंख्यालाई थप विभाजितमात्र तुल्याइदिनेछ, जुन अस्थिर र असक्षम राजनीतिका लागि अरू हानिकारक हुनेछ ।
तर के आउँदो आमनिर्वाचनमै सामान्य बहुमत लिएर आउन सक्ने नयाँ शक्तिको उदय सम्भव होला ? कि त्यो धरातलीय यथार्थबोध नभएकाहरूको अति महत्त्वाकांक्षामात्र हुनजाला ? यस्ता प्रश्नहरूको उत्तर खोज्ने र विश्लेषण गर्ने क्रममा यो लेखकले नयाँ शक्तिका चार खम्बा पहिल्याएको छ । ती चार खम्बाको जगमा त्यस्तो शक्तिको निर्माण हुने हो भने त्यो कुनै पनि हालतमा कमजोर र विफल हुने छैन । तल उल्लिखित चार खम्बालाई बढाएर १४ खम्बा पनि बनाउन सकिन्छ । तर नेपालको राजनीति गत ६५ वर्षदेखि किन स्थिर, प्रभावकारी र विकासमुखी हुनसकेन र अब बन्ने शक्तिले विगतको व्यथालाई कसरी सम्बोधन गर्न सक्छ भन्ने परिप्रेक्ष्यमा मैले सबैभन्दा महत्त्वपूर्ण ठानेका चारवटा विषयलाई मात्र समेटेको हुँ ।
पद्धति (सिस्टम)
नेपालका सबै प्रमुख पार्टीहरूले एक या अर्को निहुँमा पद्धतिलाई सदा आफ्नो स्वार्थ अनुकूल तोडमोड गर्दै र लत्याउँदै आएका छन् । उनीहरूले पार्टीको पद्धतिमात्र होइन संसद, संविधानसभा र सरकारका पद्धतिहरूसमेत यसरी कुल्चिदिए कि तिनका आचरण ‘अपवाद’ होइन, ‘नियमितता’ बनिसके । अब त यस्तो विन्दुमा पुगिसकियो कि आफूलाई सबभन्दा लोकतान्त्रिक भन्ने पार्टीले विविध कारण देखाउँदै बारम्बार आफ्नो र भ्रातृ संगठनको अधिवेशनहरू समयमा गर्न नसकेपछि पार्टीको महाधिवेशन सार्न देशको संविधान नै संशोधन गर्ने योजना गर्दैछ । जनता टुलुटुलु हेरेर बस्न बाध्य छन्।
यदि सुरुदेखि नै पद्धतिलाई प्रधान सम्झी काम गरिएको भए अहिलेसम्म सम्भवत: संविधान लेखिसकिएको हुन्थ्यो होला । मैले २०४६ सालपछिको नेपालका तीन प्रमुख विदुषक मध्येका एक भन्ने गरेको गिरिजाप्रसाद कोइरालाले बढो महान सुनिने नारा लिएर आए– सहमति, सहकार्य र एकताको । राजनीतिमा सहमति, सहकार्य र एकता असम्भव भएका कारणले गर्दा नै ‘खुला प्रतिस्पर्धामा आधारित बहुमत’ लोकतन्त्रको आधारशिला बनेको हो ।
घरमा श्रीमान र श्रीमती, दाजु र भाइ, बाउ र छोराको कुरा मिल्दैन, कहिलेकाहीं एउटै मान्छेभित्र पनि उसको दाहिने दिमागले भनेको कुरा देब्रेसँग मिल्दैन भने भिन्न–भिन्न सोच र आ–आफ्नै सत्ताको महत्त्वाकांक्षा राख्ने राजनीतिक दलहरूबीच सामूहिक शत्रुसँग लड्न बाहेकका अन्य महत्त्वपूर्ण राजनीतिक मुद्दामा सहयात्रा सम्भव नै थिएन । तर बहस र बहुमतका आधारमा लोकतान्त्रिक पद्धति मुताविक निर्णय लिन जनताले चुनेको संविधानसभालाई ‘रबर स्ट्याम्प’ बनाएर कोइरालाको असम्भव नारालाई जबर्जस्ती लागू गर्ने प्रयास अहिलेसम्म हुँदैछ ।
त्यो अलोकतान्त्रिक अभ्यास, ‘विशिष्ट राजनीतिक संक्रमण’को दुहाइ दिँदै सर्वस्वीकृत बनिसक्यो । पद्धतिबाट बाहिर गएर जब पार्टी, लोकतन्त्र र देश चलाउन खोजिन्छ, त्यसले शान्ति र स्थिरता दिनै सक्दैन । किनभने लोकतन्त्रमा पद्धतिको उल्लंघन अराजकता हो । तर दुर्भाग्यवश लोकतन्त्र बाहिरको ‘सहमतितन्त्र’ हाम्रो असफल नियति बनिसक्यो । एक पटक पद्धति बिगारेपछि त्यसलाई बनाउन हम्मेहम्मे पर्छ । त्यो काम वर्तमान नेताहरूबाट सम्भव नै छैन । नयाँ राजनीतिक शक्ति सुरुदेखि नै पद्धतिको आधारमा चल्नुपर्छ, चाहे त्यो पार्टीका संस्थापक नेताहरूका लागि कुनै विन्दुमा प्रतिकूल नै किन नहोस्।
पारदर्शिता (ट्रान्सपरेन्सी)
पैतृक सम्पत्ति या वैध आम्दानीका स्रोत भए भिन्नै कुरा, नत्र अधिकांश ठूला नेताहरूको घर खर्च केले चल्छ ? तिनका दर्जनौं पूर्णकालीन सहयोगीहरूको खर्च केले चल्छ ? तिनले मोटर कुन आम्दानीले चढ्छन् ? कसैलाई थाहा छैन । आम्दानीका वैध स्रोत छैन र पूर्णकालीन रोजगारी नै राजनीति हो भने पैसा कहाँबाट आइरहेको छ ? कोही परिवारका अन्य सदस्यले सहयोग गरिरहेको, कोही मन्त्री हुँदा कमाएको पैसा बाँकी रहेको र कोही पार्टीले खर्च बेहोरिरहेको बताउँछन् । सधैं सहयोग गरिदिने परिवारका अन्य सदस्यलाई आशंकायुक्त सलाम!
मन्त्री हुँदा कमाएको पैसा बाँकी छ भन्नेलाई सिधा प्रश्न: तपाईं कति महिना मन्त्री हुनुभयो ? तपाईंको तलब कति थियो ? अहिले मासिक खर्च कति छ ? अनि पार्टीले खर्च बेहोरेको बताउने नेतालाई अर्को सिधा प्रश्न: मैले तपाईंको पार्टीले निर्वाचन आयोगमा बुझाएको खर्च विवरण हेरेको छु । त्यसमा त नेताको घर खर्चका लागि भनेर कतै रकम उल्लेख गरिएको छैन । उल्लेख नै नगरेको खर्च तपाईंले कहाँबाट पाउनुभयो?
यी अत्यन्तै सामान्य प्रश्न हुन् । यीभन्दा धेरै गम्भीर प्रश्नहरू गर्ने ठाउँ छ । अहिलेसम्म अपारदर्शी रहेका नेता र तिनका पार्टी अब पारदर्शी हुनसक्ने कुनै गुञ्जायस नै छैन । जो नेताहरू जिन्दगीभर सार्वजनिक जीवनमा पारदर्शितामा चुकेका छन्, तिनबाट हामी भ्रष्टाचार–न्युन पार्टी र सुशासनको अपेक्षा गरेर बसेका छौं। नेपालको लोकतन्त्रलाई जोगाइराख्ने हो भने नेता र पार्टीको जीवनमा पारदर्शिताबिना त्यो सम्भव नै छैन। कुनै पनि नयाँ शक्तिको दोस्रो खम्बा पारदर्शिता हुनैपर्छ, नत्र त्यसले जनविश्वास आर्जन गर्न सक्दैन।
इमानदारी (इन्टेग्रटी)
नेपाली समाजले पछिल्ला दशकहरूमा गुमाएको एउटा सुन्दर गहना इमानदारी हो । हामी सहज रूपमा नेताहरूलाई भ्रष्ट भनेर गाली गर्छौं । तर हामीमध्ये कतिले आफ्नो अनुहार ऐनामा हेरेका छौं ? यो देशमा भ्रष्टाचार गाउँका सिधासाधा कृषक र मजदुरले गरेका होइनन् । यो देशमा इमानदारी तिनले गुमाएका होइनन् । मूल रूपमा त्यो हामीजस्ता अलिकति पढेका, लेखेका, बुझेका, देखेका र हरेक दिन देश बनाउने आदर्श छाँट्ने तर हरेक दिन यो देशलाई घात गर्नेहरूले गुमाएका हौं । कानुनको पालना गराउनुपर्ने कानुनकर्मीहरू ‘ल फर्म’ खोलेर कर छल्छन् ।
किताब लेखेर आदर्श बक्नेहरू किताबको लेखकस्वमा कर तिर्दैनन् । सरकारी अधिकारीहरू टेलिभिजन किन्न जाँदा भ्याट बिनाको बिल माग्छन् । मानव अधिकारका लागि लड्नेहरू त्यसका लागि आएको पैसामा भ्रष्टाचार गर्छन् । डाक्टरहरू कमिसनका लागि गर्नै नपर्ने परीक्षण गराउँछन् र आफूले लगानी गरेको अस्पतालको शौचालय दुर्गन्धित राखेर देशको स्वास्थ्य सफा बनाउने भाषण गर्छन् । यो सूची लेख्दै गए धेरै लामो हुनेछ । यसको अर्थ सबै पेसाकर्मी त्यस्तै छन् भन्ने कदापि होइन । तर धेरै त्यस्ता छन् भन्नेमा शंकै छैन, नत्र यो देश ट्रान्सपरेन्सी इन्टन्यासनलको भ्रष्ट सूचीमा पुछारतिर पर्ने नै थिएन।
इमानदारीको त्यो पुरानो नेपाली गहनालाई पुन:स्थापित नगर्ने हो भने कुनै पनि नयाँ शक्तिले गर्ने पद्धति र पारदर्शिताका कुरा अहिलेका दलहरूले त्यसबारे गर्ने दाबीभन्दा फरक हुने छैन । व्यक्तिगत इमानदारी नहुने हो भने नेपालजस्तो देशमा कागजमा लेखिएका पद्धति र पारदर्शिताका नियम कानुन छल्ने कैयौं घुमाउरा बाटा हुन्छन् । अहिलेका राजनीतिकर्मीहरूले गरिरहेको त्यही नै हो।
यो भ्रष्टाचारी भएर बाँच्न सजिलो र सदाचारी भएर बाँच्न गाह्रो समाज हो । तसर्थ इमानदारीलाई आफ्नो पार्टीको प्रमुख खम्बा बनाउन नयाँ शक्तिलाई सहज हुने छैन । तर आम सर्वसाधारणले पनि सबै राजनीतिकर्मी इमानदार भैदिउन् भनेर अपेक्षा गरेका हुँदैनन् । उनीहरू उच्च राजनीतिक नेतृत्वमा इमानदारी भैदिए खुसी हुनेछन् । उदाहरणका लागि, एउटा अति नै भ्रष्ट पार्टीका एकजना नेताको लोकप्रियता अत्यन्त उच्च थियो । उनको लोकप्रियता त्यो पार्टीका सबै नेता–कार्यकर्ता इमानदार भएकोले उच्च भएको होइन । तर विडम्बनाको कुरा, जब उनी प्रधानमन्त्री बने र उनको मौनताबीच आसेपासेहरूको भ्रष्टता उजागर भयो, उनीमाथिको जनविश्वास ह्वात्तै घट्यो।
कुनै पनि नयाँ शक्तिको उच्च नेतृत्व इमानदारीको कसीमा उत्तीर्ण हुनैपर्छ । त्यसपछि तिनले लिने कदमले बाँकी फोहोर सफा गर्दै लानेछ । अहिले, मूल नै दूषित भएको स्थिति हो ।
उत्कृष्टता (मेरिटोक्रसी)
पद्धति, पारदर्शिता र इमानदारीले लोकतन्त्र र विधिको शासनलाई सुनिश्चित गर्छ । तर देशको द्रुत विकास गर्न, राज्यलाई परोपकारी बनाएर समाजलाई न्यायपूर्ण बनाउन, ती तीन खम्बामात्र पर्याप्त छैनन् । त्यसमा एउटा अर्को खम्बा थपेपछि मात्र नयाँ शक्तिको मन्दिर बलियो र पूर्ण हुनेछ । त्यो हो– उत्कृष्टताको चयन र कदर । सिंगापुरका ‘पिता’हरूले उत्कृष्टताको चयनलाई नै देशको अग्रगामी छलाङको एउटा प्रमुख आधार बनाएका थिए।
संसारमा कुनै पनि यस्तो देश या यस्तो व्यवसाय छैन, जसले उत्कृष्ट जनशक्तिको चयनबिना देशको विकास या व्यवसायको विस्तार गरेका हुन् । हाम्रो देशमा कतिपय निजी व्यवसायहरू अत्यधिक रूपमा सफल भए, किनभने तिनले सम्बन्धित कामका लागि उत्कृष्ट जनशक्ति चयन गरे । हाम्रै देशमा अधिकांश सरकारी निकायहरू विफल रहे, किनभने राजनीति र विविध नियुक्तिहरूमा उत्कृष्टताको कदर गरिएन । बोल्ने ढंग नभएकाहरू राजदूत भए, कुनै विज्ञता नभएकाहरू प्रधानमन्त्रीका सल्लाहकार भए, क्षमता, ज्ञान, इमानदारी केही पनि नभएकाहरू मन्त्री भए, नेताको चाकडी गरेर जीवन निर्वाह गर्नेहरू महत्त्वपूर्ण निकायका प्रमुख भए । त्यसरी देशको विकास कहिल्यै सम्भव हुँदैन । नयाँ शक्तिले पद्धति, पारदर्शिता र इमानदारीलाई आत्मसात गर्दै उत्कृष्टतालाई सम्मान गर्नुपर्छ । इमानदारी भएको उत्कृष्ट जनशक्तिले बाँकी काम आफैं गर्न जानेको हुन्छ।
यो लेख पढिसकेपछि कतिपयले ‘लोकतन्त्र, गणतन्त्र, समाजवाद, समावेशिता’जस्ता महत्त्वपूर्ण बुँदाहरूलाई आधार नबनाई कसरी नयाँ शक्ति बन्छ ? भनी प्रश्न गर्न सक्छन् । तर ती विषयहरू त अब नेपालका हकमा लगभग स्वीकृत भैसके । जे नभएर ती मान्यताहरू धरापमा परेका हुन्, जे नभएर पार्टी, राजनीति र देश बिग्रिएको हो र जुन आदर्शलाई सफल देशहरूले अवलम्बन गरेका छन्, तिनलाई चाहिंँ नयाँ शक्तिको खम्बा बनाउन खोजिएको हो ।
पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टताको खम्बामा नयाँ शक्ति निर्माण भयो भने त्यसले प्राप्त उपलब्धिको संरक्षण गर्ने र देशको सबै प्रकारका प्रतिकूलता चिर्ने ज्ञान, विवेक र क्षमता राख्नेछ । ती चार खम्बाको अनुपस्थितिमा देशको विकासको त कुरै छोडिदिउँ, स्थिरताको पनि सम्भावना रहने छैन र परिवर्तन हाम्रै जीवनकालमा कुनै हालतमा सम्भव हुने छैन।
शोक पत्र:
आदरणीय जय पृथ्वी मल्लज्यू तथा उषा मल्लज्यू,
विवेकशील साझा पार्टी मुगु जिल्लाका संस्थापक संयोजक, तपाईँहरूका सुपुत्र, एकजना उर्जाशील युवा उद्यमी तथा समाजसेवी अजय मल्लको २७ वर्षको उमेरमा भएको देहान्तबाट अत्यन्तै मर्माहित भएको छु।
उहाँबाट मुगुले र विवेकशील साझा पार्टीले धेरै अपेक्षा गरेको थियो। नियतिले उहाँलाई हामीबाट खोसेर लग्यो। जाने बेलामा पनि उहाँ समाजसेवामैँ व्यस्त हुनुहुन्थ्यो। उहाँको प्रेरणा हामी सबैले बोकेका छौँ।
तपाईँहरू, बुबा र आमालाई यस दुखको घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै छोराको छोटो तर प्रेरणादायी जीवनबारे गर्व गर्न विनम्र आग्रह गर्दछु।
स-श्रद्धा
रवीन्द्र मिश्र
अध्यक्ष, विवेकशील साझा पार्टी
मिति: २६ असार २०७८