Skip links

युवाहरूका नाममा

Originally published on Setopati.com । जसका नाममा म यो पत्र लेख्दैछु, सम्भवत: ती युवाले यो पत्र पढ्ने छैनन्। पढिहाले भने तिनले ममाथि सायद गालीको वर्षा गर्नेछन्। जो युवाले यो पत्र पढ्ने लगभग निश्चित छ, तिनका लागि यो लेखिएकै होइन। थोरै विडम्बनाको स्थितिबाट मैले यो पत्र सुरू गरेँ। जो यस्ता सामग्री पढ्दैनन् र पढे पनि असहिष्ण हुन्छन्, तिनीहरूसम्म यो पत्र पुगिदेओस् भन्ने मेरो कामना छ।

इतिहासका राजनीतिक घटनाक्रमहरूलाई एकछिन परै राखौँ। गत केही साताका राजनीतिक गतिविधि नियालौं। श्रम गरेर परिवार पाल्ने निहत्था ट्याक्सी ड्राइभरको ट्याक्सीमा आगो लगाउने को? चिया बेचेर साना नानीहरूको पेट भर्ने पसलेमाथि लाठी प्रहार गर्दै तोडफोड गर्ने को? सडकमा टायर बाल्न जाने को? भ्रष्टाचारी नेताले भ्रष्टाचारविरूद्ध र्‍याली आह्वान गर्दा हजारौंको संख्यामा सडकमा निस्किने को? देशका प्रधानमन्त्रीले तुच्छ भाषा प्रयोग गर्दा दर्शकदिर्घामा बसेर पर्रर ताली पिट्ने को? अब साकाहारी आन्दोलनले पुगेन भन्दा कर्तलध्वनीले त्यो भनाइको स्वागत गर्ने को? पार्टीले भ्रष्टाचार गरेर जम्मा गरेको पैसाबाट हालिदिएको पेट्रोल भरेर सारा सहर जाम गर्दै मोटरसाइकल र्‍याली गर्ने को? ती सबै युवा हुन् र अधिकांश कलेज पढ्ने, आफूलाई केही न केही चेतनशील सम्झिने युवा हुन्।

यो देशको आधा जनसंख्या २५ वर्षमुनिको छ। तिनै युवाको एउटा पुस्ताको काँध चढेर २०४६ सालको जनआन्दोलन भयो। तर त्यो पुस्ताले न आफ्ना छोराछोरीलाई राम्रो स्कुल पायो। न आफ्ना बुवाआमाका लागि राम्रो अस्पताल पायो। न आफ्ना लागि राम्रो रोजगारी र जीवनस्तर पायो। निसन्देहरूपमा भन्न सकिन्छ, २०४६ सालको जनआन्दोलनमा परिवर्तनको आगो बोकेर हिँडेका अधिकांश युवा आज आफ्नो वृद्धावस्थामा जीवन कसरी धान्ने? गम्भीर बिरामी परे कुन घरखेत बेचेर उपचार गर्ने? र, छोराछोरीलाई देशबाहिर पठाएर उनीहरूको भविष्य कसरी सुनिश्चित गर्ने? भन्ने चिन्ताले ग्रस्त हुनुपर्छ। समग्रमा भन्नु पर्दा ती युवाले केही पाएनन् तर तिनको काँध चढेर आन्दोलन गर्नेले सबै पाए।

माओवादी सशस्त्र द्वन्द्व सुरू भएपछि परिवर्तनकै लागि भनेर युवाको अर्को पुस्तालाई बन्दुक बोकाइयो। ती युवाले शत्रुका नाममा आफ्नै छिमेकीको घाँटी रेटे, आफ्नै गुरूको छातिमा गोली ठोके। स्कुल छाडे। विभेद र गरिबीबाट मुक्ति पाउने आशामा छरपस्ट मृत्युवरण गरे। तर तिनले पनि केही पाएनन्। तिनलाई बन्दुक बोकाउनेहरूले सबै पाए। आलिशान जीवन पाए। बिरामी भए उपचार गर्न विदेशका विशिष्ट अस्पताल पाए। विहान, विहान ‘ननभेज’ र साँझसाँझ ‘मिठो हुने हुनाले’ दाउरामा पकाएको ‘भेज’ परिकार पाए। युवाहरूको अर्को पुस्तालाई फेरी तिनै भ्रष्ट र देशभक्तिहीन नेताहरूले परिवर्तनका नाममा उद्वेलित गराउने प्रयास गर्दैछन्। राजनीतिक मायाजालमा फसेका ती युवाहरू जब माइतिघरमा नुनका ढिकाजस्ता आँशुका दाना खसाल्दै रूने र चिसोमा मर्ने उखु किसानका लागि उभिन जाँदैनन्, तर जुकाले झैं निरन्तर रगत चुस्ने अपराधकर्मीहरूको आवाजमा उद्वेलित हुन्छन्, मलाई लाग्छ युवाको एउटा ठूलो पंक्तिमा गम्भीर समस्या छ।

युवाहरूको ठूलो पंक्तिमा देखिएको आधारभूत समस्याबारे चर्चा नगर्ने, त्यो समस्या उजागर नगर्ने र सबै मिलेर त्यसलाई सम्बोधन नगर्ने हो भने, यो देशको राजनीति अझै वर्षौंसम्म परिवर्तन हुने छैन। त्यसको सबभन्दा ठूलो शिकार तिनै युवा हुनेछन्, जो आज देश दोहनकारी, युवाको भविष्य नष्टकारी नेताको भ्रष्ट आवाजमा कर्तलध्वनीका साथ ताली पिटिरहेछन्। यसो भन्दा मलाई अरिंगालहरूले आक्रमण गर्न सक्छन्। तिनले भन्नेछन्, ‘अरूको पार्टीमा धेरै युवा गएको देखेर तपाईंको कुण्ठा बोलिरहेको छ।’ जे मन लाग्छ भन्नुहोस्, केही फरक पर्दैन। तर बुझ्न प्रयास गरिदिनोस्: के तपाईंले पाएको स्कुल र कलेजको शिक्षाको स्तरबाट तपाईं राम्रो रोजगारी अपेक्षा गर्न सक्नुहुन्छ? के तपाईंले केही न केही रोजगारी पाइहाल्नुभयो भने त्यसबाट जीवन सहज रूपमा बिताउन सकिएला? छोराछोरीलाई राम्रो जीवन दिन सकिएला? आमाबुवाको बुढेसकालमा सहजरूपमा सेवा गर्न सकिएला भन्ने आशा छ?

कर्तुत नै कर्तुतले भरिएका तपाईंका नेताजस्ता नेताले होइन, इमान भएका सक्षम र दूरदृष्टिपूर्ण नेताले शासन गरेका सुशासित देशमा तपाईंजस्ता युवाले दैनिक ज्यालादारीमा सामान्य काम गरेर पनि वर्षमा एकपटक झोला बोकेर छुट्टी मनाउन जानसक्ने हैसियत राख्छन्। देशको प्रतिव्यक्ति आयस्तर बढेपछि सामान्य श्रम गर्नेले पनि जीवनका आधारभूत आवश्यकताहरू पूर्ति गर्न सक्छ। के तपाईं तुलनात्मकरूपमा राम्रै जागिर पाए पनि वर्षमा एकपटक आफूले कमाएको पैसाबाट देशभित्र या बाहिर घुम्न जाने कल्पना गर्न सक्नुहुन्छ? गर्न सक्नुहुन्न। तपाईं कल्पना केको गर्नु हुन्छ, थाहा छ? कसरी कुन नेताको नजिक भएर अस्वाभाविकरूपमा जागिरको या पैसाको लाभ लिन सकिन्छ। कसरी सके युरोप, अमेरिका, नसके खाडी र दूरपूर्व उड्न सकिन्छ। कसरी ग्रिनकार्ड या पर्मानेन्ट रेजिडेन्सी लिएर उतै बस्न सकिन्छ।

जब मान्छे आफैंमा सक्षम हुँदैन उसलाई टेक्ने सहारा चाहिन्छ। जो आफैं सक्षम हुन्छ, ऊ स्वाभिमानका साथ नाक ठाडो पारेर उभिन्छ। अत्यन्त पीडाका साथ भन्दैछु, तपाईंका नेताहरूले हुनेखाने वर्गमा नपर्ने यो देशका सम्पूर्ण युवाहरूलाई विकलाङ्ग बनाएर हुर्काइरहेका छन्। ती युवालाई सामान्यरूपमा सहज जीवन बिताउन जिन्दगीभर संघर्ष गर्दा पनि, त्यो असम्भव हुन्छ। त्यतिमात्र होइन, ती नेताहरूले नेपाललाई यस्तो देश बनाइदिएका छन् कि यदि युरोप, अमेरिका, अष्ट्रेलिया या अन्य विकशित देशहरूले भिसा अलिकति खुकुलो बनाइदिने हो भने अपवादबाहेक युवाहरूको सिङ्गो पुस्ताले यो देश छोडेर जाने थियो।

तैपनि तपाईं तिनै नेताका स्तरहीन जाली, झेली, मांसाहारी भाषणमा ताली पिट्नुहुन्छ? लोकतन्त्र हो, पिट्न चाहनुहुन्छ भने पिट्नुहोस्। त्यसको अर्थ के हो भने, तपाईं यस्तै जीवनका लागि अभिशप्त हुनुहुन्छ र आफ्ना सन्तानलाई पनि आफ्नै जस्तो जीवनका लागि अभिशप्त बनाइरहनुभएको छ। यी भन्नैपर्ने कुरा थिए, मैले भनेँ। गरिबको ट्याक्सी जलाएर होइन, गरिबको चिया पसलमा लाठी बर्साएर होइन, बिरामी आमाबुवाको वहान बाटोमा रोकेर होइन, यो देशको दोहन गरेर होइन, भद्र भाषामा यति भन्नैपर्ने थियो। गाउँगाउँबाट आमाबुवाले खेतीकिसानी गरेर, घाँसदाउराको भारी बोकेर तपाईंलाई पढाइरहेका छन्। तपाईं चाहिँ आमाबुवाको जीवन र तपाईंको भविष्य बर्बाद पार्ने नेताको निर्देशनमा सडकमा टायर बाल्नुहुन्छ, प्राध्यापकलाई कालोमोसो दल्नुहुन्छ, हिंसा गर्नुहुन्छ, तपाईंको स्वतन्त्रताका नाममा अरूको स्वतन्त्रतामाथि धावा बोल्नुहुन्छ भने तपाईंले यति कुरा सुन्नैपर्छ।

आजभन्दा १० वर्षपछि यी नेताले तपाईंको भविष्य कसरी बर्बाद बनाए भन्ने अनुभूत गरेर तपाईंले केही पाउनु हुन्न। त्यति बेला ढिलो भइसकेको हुनेछ। २०४६ साल र माओवादी द्वन्द्वमा लडेका युवाहरूको हाल संझिनुस्, एकपल्ट। त्यसैले युवाहरूसँग अन्तर्क्रिया गर्दा म बारम्बार भन्ने गर्छु: आज तपाईंले बालेको टायरले र गरेको गल्तीले १० वर्षपछि तपाईंलाई नै पोल्नेछ। किनभने, त्यति बेला तपाईंसँग न त गुणस्तरीय शिक्षा हुनेछ न क्षमता नै, न राम्रो आम्दानीको स्रोत। हुनेछ त केवल बुढा बाउआमा सँगसँगै आफैँले हेर्नु पर्ने परिवार हुनेछ।

यो अलिकति भावना, अलिकति कामना र अलिकति आगो मिसिएको पत्रले तपाईंलाई कहीँ कतै चोट पुर्‍याएको रहेछ भने क्षमा गरिदिनुहोला। तपाईंजस्ता दसौं लाख नेपाली युवाको जीवन बर्बाद भएको मेरा आँखाले देखेका छन्। ती सबै देख्दादेख्दै फेरि तपाईंको जीवन पनि बर्बाद नहोस् भन्ने मेरो कामना हो। तपाईंप्रतिको सहृदयिता हो। तपाईंको अवस्था देखेर सल्केको मनबाट बलेको आगो हो। झर्न नसकेको आँशु अक्षरमा पोखिएको हो। बाँकी तपाईंको जिम्मा। अधिनायकवादमा अधिनायक सर्वशक्तिमान हुन्छ। उसलाई ढाल्न कठिन हुन्छ। तर लोकतन्त्रमा मतदाता सर्वशक्तिमान हुन्छ र उसको विवेकपूर्ण निर्णयले सिँगो देशको मुहार फेर्न सक्छ। त्यसैले, यो देशको दुर्गतिका लागि नेताभन्दा बढी तपाईंजस्ता युवा जिम्मेवार छन्, जसले महाभ्रष्ट नेताको ‘हो’ मा ‘हो’ मिलाइदिँदा ती नेताले आत्मबलपूर्ण निरन्तरता पाएका छन्।

चोरको त धर्म नै चोर्नु हो। तर गल्तीचाहिँ उसको हो, जसले चोर हो भन्ने जान्दाजान्दै ढुकुटीको साँचो सुम्पन्छ। त्यस्तो गल्ती फेरि नगरौं। आजसम्म जे भयो, भयो। तर अब पुग्यो। तपाईं बदलिनुभयो भने यो देश बदलिन्छ। अन्यथा, भ्रष्टहरूले आह्वान गरेको जुलुसमा उत्रेर, तोडफोड र हिंसा गरेर, सत्तामा तिनै भ्रष्ट नेताहरूलाई पालैपालो बदलेर, यो देश बदलिँदैन।

मिश्रका अधिकांश स्तंभ-निबन्धहरू उनका तीनवटा पुस्तकहरू, राजनीतिसँगै राजकाज, खान पुगोस् दिन पुगोस् तथा भूमध्यरेखामा पढ्न सकिन्छ। ती पुस्तकहरूबारे थप जानकारी लिन र कसरी हासिल गर्न सकिन्छ भन्ने बुझ्न कृपया BOOKS खण्डमा जानुहोला।

This website uses cookies to improve your web experience.
mersin eskort bayan - izmir eskort - eskort ankara - amasya bayan eskort - eskort istanbul