Skip links

साम्यवादी र पुँजिपतिका कुरा

Originally published on Nagariknews.com । गत कार्तिक २८ गते मेरा स्तंभलेखहरुको संग्रह ‘भूमध्यरेखा: अर्थहीनताभित्र अर्थ खोज्दा’ को विमोचन समारोहमा म दुई ब्यक्तित्व साम्यवादी नेता डा. बाबुराम भट्टराई र पुँजिपति ब्यापारी डा. उपेन्द्र महतोको बीचमा बसेको थिएँ।

मेरो पत्रकारीतागत लेखनका मूल धारहरु राजनीति र कल्याण रहेका छन्। राजनीतिमा मैले खुला पत्र लेखेको र खुला पत्रकै रुपमा त्यसको जवाफ दिएका ब्यक्ति भट्टराई थिए भने कल्याणको क्षेत्रमा मैले खुला पत्र लेखेको र खुला पत्रकै रूपमा त्यसको जवाफ दिएका ब्यक्ति महतो थिए। त्यसैले, मेरो पत्रको जवाफ पनि दिने र राजनीति र कल्याणलाई प्रतिनिधित्व पनि गर्ने उनीहरू दुईजनालाई नै मैले मेरो पुस्तक विमोचनका लागि आग्रह गरेको थिएँ। उनीहरू दुबैप्रति मेरो ठूलो श्रद्धा पनि छ।

विमोचनका क्रममा झण्डै डेढ घण्टा उनीहरूसँग बस्दा मेरा मनमा केही धारणाहरु तरंगित भैरहेका थिए। हाम्रा बहूरुपी साम्यवादी नेताहरूले परिस्थितिअनुसार साम्यवादलाई जसरी अर्थाए पनि वास्तविक सार के हो भने साम्यवादमा ‘नाफा’ ब्यक्तिको होइन राज्यको हुन्छ। मेरो दाहिनेपट्टी सोही आश्थाका अनुयायी भटटराई बसेका थिए, जसले आफ्नो भएको अलिकति सम्पत्ति पनि पार्टीलाई बुझाइसकेका छन्। अनि मेरो देब्रेपट्टी महतो बसेको थिए, जो यो सन्सारमा भटराईको आश्था अनुरुपको राज्य ब्यबस्था हुने हो भने आजको महतो बन्नै सक्ने थिएनन्। उनी सर्लाहीको एउटा गाउँको सामान्य परिवारबाट उठेर बहूराष्ट्रीय अरबपति बनेका छन्।

‘नाफा’ राज्यको होइन, ब्यक्तिको हुनुपर्छ भन्ने पुँजिवादी मान्यताका कारण उनी अरबपति बनेका हुन्। समाजलाई न्यायपूर्ण र शान्तिपूर्ण बनाउन ती दुबैको उपस्थिति जरूरी छ। तर ती दुबैमा एक-एक वटा यस्ता भयानक कमजोरी रहेछन्, जसको कारण समाज न्यायपूर्ण र शान्तिपूर्ण हुनमा ठूलो बाधा पुग्दो रहेछ। समाजवादी र कल्याणकारी सरकार भएको देशमा त्यस्तो कमजोरीलाई ठूलो हदसम्म राज्यले न्यूनिकरण गरिदिन्छ तर अन्य समाजमा भने ती कमजोरीका घातक असरहरु पर्ने गरेका छन्।

साम्यवादीहरु बर्तमानको ख्याल नगरी भविष्यलाई र पुँजिवादीहरू भविष्यको ख्याल नगरि बर्तमानलाई हेर्दा रहेछन्। साम्यवादीहरूलाई साम्यवादी भविष्यको र पुँजिवादीहरूलाई नाफामूलक बर्तमानको मात्र चिन्ता हुँदो रहेछ। साम्यवादीहरू सुन्दर भविष्यको आशामा बर्तमानलाई ध्वस्त पार्न पछि पर्दैन रहेछन् भने, पुँजिवादीहरू समृद्ध बर्तमानको आशामा भविष्यलाई ध्वस्त पार्न नहिचकिचाउने रहेछन्। यसरी सुन्दर समाज निर्माणमा विशिष्ट योगदान पुर्याउनसक्ने दुई प्रमूख वर्गहरुमा एउटाले बर्तमानमाथि र आर्कोले भविष्यमाथि घात गर्दा रहेछन्। त्यसैको परिणाम हो, सन्सारमा मानिसहरूमाझ बर्तमान र भविष्यप्रतिको निराशा बढ्दो छ।

हाम्रा माओवादी मित्रहरूलाई बर्तमान बनाउने रहर, चासो, चिन्ता कहिले पनि भएन। उनीहरू ‘आफ्नो क्षमता अनुसार दिने र आवस्यकता अनुसार लिने’ भविष्यको त्यो काल्पनिक स्वर्गको निर्माणका लागि बढो प्रतिबद्धताका साथ लडेका लडै छन्। मान्छे भनेको प्रकृतिको अंश हो। प्रकृतिको नियम अनुसार १२ घण्टा उज्यालो भयो भने १२ घण्टा अंध्यारो हुनै पर्छ। चौविसै घण्टा उज्यालो हुनै सक्दैन। अंध्यारो र उज्यालोको अनुपातलाई विश्वका कयौं समाजवादी र कल्याणकारी राष्ट्रहरुमा जस्तो न्यूनिकरण गर्न सकिन्छ तर समस्या के भने हाम्रा माओवादी साम्यवादीहरू प्रकृतिको त्यो नियमलाई भविष्यको कुनै विन्दुमा पूर्णरूपले उल्टाउएर यो सन्सारमा चौविसै घण्टा घाम लगाउन सकिन्छ भन्ने विश्वास गर्दछन्।

भविष्यमा त्यो प्राकृतिक निमय उल्टिन्छ भनेर उनीहरू बर्तमानलाई ‘बिशिष्ट संघर्ष’ को परिस्थिति ठान्दछन्। उनीहरूको दृष्टीमा पुरानो नभत्काइकन नयाँ निर्माण हुनै सक्दैन त्यसैले भविष्य निर्माणका लागि बिशिष्ट संघर्षको अवस्थामा बर्तमानलाई चिराचिरा पारे हुन्छ, मान्छेले मान्छेको घाँटी रेटे हुन्छ, संसदमा अर्थमन्त्रीलाई लछार-पछार पारे हुन्छ, समाजिक सदभाव र सहअस्त्विलाई विखण्डित तुल्याइदिए हुन्छ, सारांशमा भन्नु पर्दा, उज्वल भविष्यको सैद्दान्तिक लक्षका लागि बर्तमानलाई ध्वस्त पारिदिए हुन्छ। त्यही आश्था र त्यही विश्वासका कारण हाम्रा माओवादी नेताहरू लडेका लडै छन्। प्रचण्ड र डा बाबुराम भटटराई चौविसै घण्टा घाम लाग्ने त्यो काल्पनिक भविष्यका लागि गत तीस-पैंतिस वर्षदेखि लडिरहेछन्। विचरा कामरेड मोहन बैद्य त त्यसरी लडेको ५० वर्षै भैसक्यो होला। तर उनीहरूले इतिहासको अविछिन्न गतिले निर्माण गरेको बर्तमानको जगलाई यसरी खलबलाईसके कि अब उनीहरुको राज भयो भने पनि उनीहरूले आफूले चाहेको परिवर्तन आफ्नो जिवनकालमा देख्‍ने कुनै संभावनै छैन।

सैद्दान्तिक परिवर्तनको अमूर्त रेखाहरूबाटै सन्तुष्टी लिएर उनीहरूले मर्नु पर्ने प्राय निश्चित छ। उनीहरु भन्लान् क्रान्ति भनेको निरन्तरको प्रकृया हो, हामीले बालेको क्रान्तिको ज्योतिलाई भावि पुस्ताले अगाडि बढाउने छ भनेर। तर त्यो बर्तमान बनाउन नसक्नेहरुले आफ्नो असफलतालाई ढाक्न गर्ने सैद्दान्तिक तर्क मात्र हो। बर्तमान बनायो भने, भविष्य आफैँ बन्छ। जसले बर्तमान बनाउन जान्दैन, त्यसले कुनै हालतमा भविष्य निर्माण गर्न सक्दैन। बर्तमानको सौन्दर्यलाई भष्म बनाएर अनिश्चित भविष्यको रेखाचित्र मात्र कोर्ने हो भने त भन्नै पर्ने हुन्छ, तीस-पैँतिस वर्ष क्रान्तिको नाममा लडीमात्र रहेका बरिष्ठ माओवादी नेताहरुको जीवन भन्दा दश बर्षमैं देशका बीस हजार गरिव बालबालिकाहरूलाई सस्तो र स्तरिय शिक्षा दिने समाजसेवी उत्तम सञ्जेलको जीवन कयौं गुणा बढी सार्थक र सुन्दर लाग्दछ। राजनीतिको चरित्रका कारण, राजनीतिज्ञहरूले ठूला, ठूला कुरा गर्ने मञ्च पाउलान्, ठूला, ठूला मानिसहरूसँग अन्तरकृया गर्लान् र आम सर्वसाधारणले राजनीतिज्ञहरूलाई बढी चिन्लान्, सञ्चार माध्यमहरूमा उनीहरू सधैं छाउलान्, तर ठोस उपलब्धिलाई हेर्ने हो भने बर्तमान भष्म पार्ने नेताहरूलाई भविष्यप्रति आशावादी हुँदै आभार प्रकट गर्नुपर्ने खासै कारण देखिँदैन।

यो त भयो साम्यवादीका कुरा। तर मेरो देब्रेपट्टी थिए अति धनाढ्य पुँजिपति डा उपेन्द्र महतो। महतो नेपालका लागि धन र मनका दुर्लभ संगम हुन् जसले बढ्दो रूपमा आफ्नो धन सामाजिक हितमा खर्च गर्न थालेका छन्। उनका ब्यक्तिगत राजनीतिक मान्यता जेसुकै भए पनि उनी पुँजिवादका एकजना प्रतिक पनि हुन् जो सोही आर्थिक अवधारणाको परिणामस्वरूप पुँजिपति बनेका हुन्। जसरी समानता र न्यायका लागि वकालत गर्ने साम्यवादीहरु समाजका लागि अत्यावश्यक छन् त्यसैगरी समाजको समृद्धीका लागि पुँजिपतिहरू नभै हुँदैनन्। तर समस्या कहाँनिर सृजना हुन्छ भने, जसरी साम्यवादीहरू बर्तमानभन्दा बढी भविष्यमुखि हुने गर्दछन् त्यसैगरी पुँजिपतिहरू भविष्यभन्दा बढी बर्तमानमुखि हुने गर्दछन्। बर्तमानको नाफाको लालसाले पुँजिपतिहरूको भविष्यको आँखा बन्द गरिदिएको हुन्छ।

सानो उदाहरण दिउँ, राजधानी काठमाण्डौंले सवारीको चाप धान्नै नसक्ने स्थिति बनिसकेको छ। तर सवारी साधनका धनाढ्य ब्यापारीहरूलाई त्यसको कत्ति पनि फिक्रि छैन। भोली दश मिनेटको बाटोमा उनीहरू नै दुई घण्टा सवारी जाममा फस्नेछन्, भोली काठमाण्डौंको बायु प्रदुशणले उनीहरू र उनीहरुकै परिवारको स्वास्थ विग्रने छ। तर नाफाको लालसाले उनीहरूलाई यसरी गाँजेको छ कि उनीहरू सरकारलाई सार्वजनिक सवारीलाई चुस्त बनाएर निजि सवारी साधनको चापलाई कम गर्नुपर्छ भनेर भन्दै भन्दैनन्। किनभने, त्यसो गर्दा उनीहरुको ब्यापारमा नकारात्मक असर पर्छ। तिनलाई बर्तमानमा पैसा कमाए पुग्यो, भविष्यको कुनै ख्याल नै छैन। पुँजिवादीहरूको त्यही प्रबृत्तिले गर्दा उनीहरू आफैं हिँड्नु पर्ने बाटोमा खाल्डै खाल्डो परेको छ भने आफैं बाँच्नु पर्ने यो धर्ति वातावरणीय विनासका कारण धुजाधुजा परेर गैरहेको छ। अहिले नै नपाएका भए पनि भविष्यमा तिनकै सन्तानले दुख पाउने निश्चित छ।

त्यतिमात्र होइन उनीहरुको अधिक पुँजि मोहका कारण यो समाज र सन्सार भावि पुस्ताका लागि बढ्दोरुपमा असुरक्षीत र अन्यायपूर्ण बन्दैछ। सक्नेले जति पनि कमाउने स्वतन्त्रता पाउनु पर्छ भन्ने पुँजिवादीहरूको मान्यता हो। तर सक्नेले कमाएको सबै आफैं राख्‍न पाउने ब्यबस्था कालान्तरमा समाजका लागि हितकर हुँदैन भन्ने तथ्य बढ्दोरूपमा उजागर हुँदै गइरहेको छ। अफ्रिकाका कयौं ठाउँमा खान नपाएर अस्थिपञ्जर मात्र बाँकि भइ लडिरहेका आमा र बालकको मुखमा भन-भन झिँगा भन्किरहँदा, स्वतन्त्रताको नाममा कुनै ब्यक्ति विरलै प्रयोगमा आउने कयौं महल, जेट विमान र पानीजहाजहरूको मालिक हुनको औचित्य दर्शाउन मिल्छ कि मिल्दैन ? सन्सारको चालिस प्रतिशत सम्पत्तिमाथि सन्सारका केवल एक प्रतिशत धनाढ्यहरुको नियन्त्रण रहनु र सन्सारको तल्तो तप्काका पचास प्रतिशत मानिसको हातमा केवल एक प्रतिशत सम्पत्तिमात्र रहनु मानव सभ्यता र भावि पुस्तका लागि शुभ संकेत हो कि होइन ? यी कुनै मनगणन्ते तथ्यांक होइनन्। यी बैज्ञानिकरुपमा गरिएका अध्ययन र अनुसन्धानका नतिजा हुन्। यस्तो स्थितिमा पुँजिपतिहरूले भविष्यका बारेमा सोच्ने कि नसोच्ने ?

डेढ घण्टासम्म साम्यवाद र पुँजिवादका दुई प्रतिनिधि पात्रहरूको बीचमा बस्दा मलाई लागिरहेको थियो साम्यवादीहरूले अलि बढी बर्तमानको र पुँजिवादीहरुले अलि बढी भविष्यको बारे चिन्ता गरिदिने हो भने तिनको जिवन र यो सन्सार कति सार्थक र सुन्दर हुनेथियो।

मिश्रका अधिकांश स्तंभ-निबन्धहरू उनका तीनवटा पुस्तकहरू, राजनीतिसँगै राजकाज, खान पुगोस् दिन पुगोस् तथा भूमध्यरेखामा पढ्न सकिन्छ। ती पुस्तकहरूबारे थप जानकारी लिन र कसरी हासिल गर्न सकिन्छ भन्ने बुझ्न कृपया BOOKS खण्डमा जानुहोला।

This website uses cookies to improve your web experience.