Skip links

भाग्यवादीको कम्पन-कथा

(२०७२ साल वैशाख १२ गतेको महाभूकम्पसँग सम्वन्धित साहित्यकार तथा समालोचक राजकुमार बानियाँद्वारा सम्पादित अनुभूतिजन्य निबन्धहरूको संकलन, ‘अप्रिय अप्रिलबाट।)

सामान्यतया भाग्यवादीहरू ईश्वरवादी हुन्छन् । तर म चरम भाग्यवादी भए पनि ईश्वरवादी चाहीँ होइन । यद्दपि म इमान्दारीपूर्वक ईश्वरमा आश्था राख्नेहरूलाई ठूलो सम्मान गर्छु । छोटकरीमा म आफूलाई “कर्मशील भाग्यवादी” भन्न रूचाउंछु । अर्थात, गर्नु पर्ने कर्म इमान र दृढताका साथ गर्दै जाने तर परिणामहरू सधैं मान्छेको बसभित्र नहुन सक्छ भन्ने यथार्थलाई सदा मनन गर्ने र स्वीकार्ने । ईश्वरवादी नहुनाको कारणचाहिँ के हो भने ईश्वरको अस्तित्व छ या छैन भनेर प्रमाणति गर्न गाह्रो छ । त्यो प्रमाणित गर्न सकिँदैन भन्ने दृष्टिकोण राख्नेलाई अंग्रेजीमा ‘एयाग्नोस्टिक’ भनिन्छ ।

लाग्छ, म ‘थेइस्ट (आस्तिक)’ अथवा ‘एथेइस्ट (नास्तिक)’ नभएर ‘एयाग्नोस्टिक’ हुँ । तर २०७२ साल बैशाख १२ गते मध्य दिनमा धर्ति हल्लिँदा मैले चलाइरहेको मोटरभित्र म एक्लै “हे भगवान…हे भगवान…हे भगवान…” भनेर अर्ध-बेहोसीमा जसलाई मैले जिवनभर संकाको घेरामा राखेको थिएँ उनैलाई पुकारी रहेको थिएँ । पछि थाहा भयो, मैले पुकारेको भगवानका धेरै स्वरूपहरु त्यतिबेला लडिसकेका रहेछन् ! आफू ‘एयाग्नोस्टिक’ भएको विश्वास गर्ने मैले चरम पीडा र आशंकाको घढीमा भगवानकै नाम लिएछु ! अहिले फर्केर हेर्दा लाग्छ, सो पुकारमा भक्तिभाव भन्दा समाजमा निहित आश्चर्यवोधको स्वस्फूर्त अभिव्यक्ति थियो  ।

त्यो मध्यान्न म काठमाडौं केशरमहलको बाटो भएर आफ्नो मोटरमा रानीपोखरीतिर जाँदै थिएँ । केशरमहलको मूल द्वारनिर पुग्नु अगाडि मोटर पंचर भएजस्तो महशुस भयो । नियन्त्रणमा राख्न खोज्दा दायाँ-बायाँ लाग्न खोजिरह्यो । कहिले एउटा, कहिले अर्को चक्का पंचर भएको अनुभूति भयो । पहिले मोटरको गति घटाएँ तर नियन्त्रण नै गर्न नसकेपछि मोटर बाटोको बीचमैं रोकेँ । मैले मोटर के रोकेको थिएँ, मेरो अलि अगाडि देब्रेतिर नारायणहिटी दरबारको पर्खालको एक खण्ड यति बेजोडले ढल्यो कि त्यसपछि मात्र मैले त्यो भयानक भूकम्प थियो भन्ने महशूस गरेँ । मोटर छाल आएको पानीमाथिको डुङ्गाजस्तै हल्लिरहेको थियो । मैले हतास र भयको स्वरमा “हे भगवान…!”को एकोहोरो चित्कार लगाएर मोटरको अघिल्तिरको सिसाबाट बाहिर हेर्दा केशरमहलका रूख र बाटो छेउका विजुलीको खम्बा पिङ्ग मच्चेजस्तो मच्चिरहेका थिए । तिनका माथि कौवाहरू कोकोहोलो गर्दै बतास्सिएका थिए ।

मेरो मस्तिष्कमा ह्वात्तै उब्जिएको तनावले जेलिएको तर्कना कौवाको कोकोहोलो भन्दा कम थिएन । मेरो मनमा आएको सबभन्दा पहिलो विभत्स सोच “परिवारमा म र (स्कूलबाट दिल्ली गएकी) मेरी छोरीमात्र जीवित रहने भयौं, अरु सबै गए” भन्ने थियो । अझ मैले आफन्तहरू पुरिएको, पीडामा छटपटिएको, असाहाय भएर चिच्च्याएको, कराएको सबै सोच्न भ्याएँ । मेरो सधैंको कामना मेरी श्रीमतिभन्दा पहिले म जाउँ भन्ने छ र मैले सो भावलाई कवितामा पनि अभिव्यक्त गरेको छु । “उनी पनि गइन्” भन्ने भयावह सोचले म विक्षिप्त भएँ ।  मैले तुरुन्तै श्रीमतिलाई फोन गरेँ । फोनको घण्टी गयो तर उठेन । म झन अताल्लिएँ । त्यसपछि गरेका कुनै पनि फोन जाँदै गएन, जनु अपेक्षित नै थियो ।

केही समयदेखि हामी ललितपुरको भैंसेपाटीस्थित एउटा ‘कोलोनी’मा घर किनेर त्यहिँ बस्दै आएका थियौं । बेच्ने उद्देश्यले कोलोनीमा बनाइएका घरहरू बलियो हुँदैनन् भन्ने आम धारणा थियो । मेरो बुवा-आमा, अंकल-आन्टी र भाइ-बुहारी मेरो जन्मथलो काठमाण्डौंको बौद्ध-महाँकालमा ३५-४० वर्षअघि बनाएको घरमा बस्दथे । भैंसेपाटी र बौद्ध दुबै ठाउँका घरहरू मैले भर्खरै नारायणहिटीको पर्खाल ढल्दा प्रदर्शित भूकम्पको आवेगबाट बचे होला भन्ने रत्ति पनि लागेन । मेरा अन्य आफन्तजनहरू पनि मनमा आउन थाले ।

म मोटरभित्रै थिएँ । त्यतिञ्जेलमा बाटोमा चलिरहेका अन्य सवारी साधनहरू सबै बीचबीचमैं रोकिइ सकेका थिए । त्रस्त अनुहारहरु फोनमा व्यस्त थिए । तर कसैको पनि फोन लागिरहेको थिएन भन्ने स्पष्टै थियो । बाटो ‘ज्याम’ समान थियो, अघि बढ्ने ठाउँ थिएन । चरम छटपटाहाटको मनस्थितिमा भएपनि मेरो पेसाले मलाई मोटरबाट बाहिर निस्किएर फोटो खिच्न घचघच्यायो र मैले मोबाइलोको सदुपयोग गरेँ । केही मोटरसाइकलहरु अताल्लिएर दौडन खोज्दै थिए । केही मोटरहरु पनि त्यसै गर्न बल गर्दै थिए । बाटो बिस्तारै खुल्न थाल्यो र म अघि बढेँ । अघि बढ्दा कान्तिपथ र देब्रेतिर ठमेलका घरहरू सग्लै देखेपछि मनमा अलिकति सकारात्मक आश पलायो । मोडिएर दरबारमार्गमा महेन्द्रको शालिक वरपर पुग्दा अर्को बेजोडको कम्पन आयो । आत्तिएका मान्छेहरू बाटोमा छरपस्ट थिए ।

तर दोस्रो बेजोडको कम्पनकै बेला मेरो मोबाइलमा छोराको टेक्स्ट आयो: “हामी सुरक्षित छौं, तपाईं कहाँ हुनुहुन्छ ?” त्यतिञ्जेल मेरो आँखामा आँशु त थिएन तर मुटु भक्कानिइ रहेको थियो । यति लामो र गहिरो सास लिएँ कि आफैंलाई खुशी थाम्न गार्हो भयो । त्यसपछि मलाई पनि फोन होइन, मोबाइलमा टेक्स्ट गर्ने बुद्धी आयो र कयौंलाई टेक्स्ट गरेँ । जवाफ कतैबाट आएन । त्यसैबीच भाइको सन्देश आयो: हामी सबै ठिक छौं, तपाईंहरूको के छ ?” जीउ धेरै हदसम्म हलुका भयो। अन्य आफन्तहरु पनि सुरक्षित भएको थाहा हुँदै गयो ।

आफन्तहरु सुरक्षित भएको थाहा भएपछि मभित्र मेरो पेशागत दायित्व हावि भयो । विपदको परिस्थितिमा पत्रकारको भूमिका अस्पतालको आपतकालिन कक्षमा काम गर्ने डाक्टरको भन्दा कम हुँदैन । त्यसैले, घर जानु साटो मैले बीबीसीको नक्शालस्थित कार्यालयतिर मोडिनु बढी आवश्यक सम्झिएँ । त्यतिञ्जेलमा कार्यालयका सबै साथीहरूको स्थिति पत्ता लगाउने प्रयास पनि शुरु भैसकेको थियो । कमलपोखरी पुगेपछि ‘साँझको प्रशारणका लागि समय धेरै बाँकी छ, म आत्तिन्छु भनेर सबै ठिक छ भनिदिएको हुनसक्छ, एकचोटी घरै पुग्छु’ भन्ने लाग्यो र मोटर घुमाएर भैंसेपाटी तिर लागेँ । बाटोमा कयौं भत्किएका पर्खाल, सिँहदरवारअगाडि चर्किएको बाटो र केही भत्किएका घरहरु देख्दा मन फेरी अशान्त भयो । भैंसेपाटी कोलोनीमा पुग्दा परिवारका सदस्य र छिमेकी सबै घरबाहिरको सानो खालि ठाउँमा बसिरहेका थिए । धरहरा ढलेको सन्देश आइसकेको रहेछ । त्यो त क्षतिको विवरणको शुरूवात मात्र हो भन्ने प्रष्टै थियो ।

परिवारका सबै सदस्य सकुशल र कोलोनीका सबै घरहरु सग्लै देखेपछि म १५ मिनेटजति बिताएर सिधै कार्यालयतिर हानिएँ । लण्डनस्थित बीबीसीको मुख्यालयबाट गरिएका फोनहरू बेलाबेलामा लागिरहेको थियो र हामीलाई उच्च तहबाट हाम्रो सुरक्षार्थ कार्यालय भवनमा नपस्न कडा निर्देशन दिइएको थियो । तर कार्यालयमा नपसि साँझको प्रशारण र गर्नुपर्ने अन्य कामहरू हुनसक्ने संभावनै थिएन । त्यसैले कार्यालयमा जम्मा भएका हामी सबै साथीहरुले यस्तो समयमा “त्रासको भावनाभन्दा पेशागत दायित्व प्रधान भएको” निश्कर्ष निकाल्दै कार्यालय प्रवेश गर्यौं र पेशागत दायित्व निर्वाह गर्नकै लागि आदेश अवज्ञा गरेको जानकारी लण्डनका सम्बन्धित अधिकारीहरुलाई गरायौं । त्यसपछि पेशागतरूपमा के, के भए त्यो छुट्टै निवन्धको विषय हुनसक्छ  ।

हामीले पौने नौबजे बीबीसीको कार्यक्रम प्रशारण गर्दा व्यापक विध्वंशका खबरहरू आइसकेका थिए । राति ११ बजेतिर मोटरमा घर फर्किँदा मलाई ईश्वरबारेको सम्पूर्ण अवधारणादेखि नै दिक्क लागिरहेको थियो । सन्सारका सबै धर्ममा ईश्वरलाई दया, करूणा र सकारात्मकताको सर्वशक्तिमान प्रतिकका रूपमा हेरिन्छ र पुजिन्छ । तर ईश्वर नै ईश्वरले भरिएको देशको आज यो हाल भएको थियो । भित्रैदेखि भावना मडारिए आएपछि मैले मोटरमैं नोटबुक झिकेर त्यसलाई लिपिबद्ध गरेँ । त्यो दिन लेखिएको कविताबिना यो निबन्ध अपूरो रहने छ:

भूकम्पपछि

ईश्वर नै ईश्वरले घेरिएको आँगनमा

ईश्वर नै लडेपछि

म कसलाई पुकारूँ !

ईश्वर नै ईश्वरले भरिएको देशमा

ईश्वर नै ढलेपछि

म कसलाई गुहारूँ !

 

आज लाग्दैछ

ईश्वर पनि दुई थरीका छन् यहाँ

एउटामान्छेले बनाएको

आर्कोरहष्यमा लुकेको

 

मान्छेले बनाएका ईश्वर

मान्छेकै विम्व रहेछन्

ती टुट्छन्फुट्छन्

ठडिन्छन्, ढल्छन्

मान्छेजस्तै कमजोर छन्

 

हेर न,

मछिन्द्रनाथकाष्ठमण्डपकालमोचन

ती कसरी असाहाय पछारिएका छन् !

 

रहष्यमा लुकेका ईश्वर चाहिँ

कहाँ छन्कहाँ छन्

ती कहिले अनिकाल भएर उदाउँछन्

कहिले अनावृष्टि भएर अस्ताउँछन्

कहिले आँधी भएर छोप्दछन्

कहिले पहिरो भएर बग्दछन्

 

ती न मान्छेको प्रार्थना सुन्दछन्

ती न मान्छेको व्यथा बुझ्दछन्

हे राम, हे रामको क्रन्दनमा पनि

ती रहष्यकै गर्भमा लुक्दछन्

 

आज मैले जसलाई पुकारेँती आफैँ ढलेका छन्

आज मैले जसलाई गुहारेँती मौन बसेका छन्

हे भक्तहरू हो,

भन्देउ न मलाई, साँच्चिकै ईश्वर कहाँ छन् !

भिन्नभिन्न धर्मका धर्मगुरुले यस्ता प्राकृतिक विपद र अन्य वियोगान्त घटनाबाट मानव जगतमा पर्ने असरलाई ‘पाप, पुण्य र पुनर्जन्म’का जे-जस्ता अवधारणा उधृत गर्दै ब्याख्या गरे पनि, निर्दोषहरुको पीडादायि संहार भएका यस्ता क्षणले मजस्ता ‘एग्नोस्टिक’लाई ईश्वरको अस्तित्वमाथि थप प्रश्न गर्ने ठाउँ दिन्छ । तर ‘एग्नोस्टिक’ भएकै कारण भक्तहरुले तर्क गर्ने ईश्वरको अदृष्यता र सम्मानलाई पूर्णरुपमा नकार्न पनि सक्दिन र मस्तिष्कमा उब्जिने अनेक प्रश्नका जवाफलाई केवल बिज्ञानको दृष्टिकोणबाट विश्लेषण गर्न मनैले मान्दैन । त्यस्तै एउटा प्रश्न हो: यति कठोर भूकम्प यति दयालु कसरी भयो ?

यदि यो भूकम्प राति आइदिएको भए वा यदि यो भूकम्प दिउँसो स्कूल लागेको बेलामा आइदिएको भए के हुन्थ्यो ? दुईवटा भयावहपूर्ण कल्पना मेरो मनमा अझै पनि आइरहन्छ । भूकम्पमा पाँच लाखभन्दा बढी घर पूर्णरुपमा ध्वस्त भएका छन् । यो भूकम्प मध्यदिनमा नआएर मध्यरातमा आएको भए के हुन्थ्यो ? राति आउँदा, माने लिउँ, पूर्णरुपमा नष्ट पाँच लाख घरमध्ये अढाई लाख घरमा एकजनाको पनि ज्यान गएन रे । माने लिउँ, बाँकि अढाई लाख घरमा औसत हिसाब गर्दा एक-एकजनाको मात्रै मृत्यु भयो रे । यसरी असाध्यै ‘कन्सरभेटिभ’ हिसाब गर्दा पनि रातीको समयमा यो भूकम्प आएको भए अढाई लाख नेपालीको ज्यान जाने देखिन्छ ।

अब यो भूकम्प स्कूल लागेको दिनमा आएको कल्पना गरौं । भूकम्पबाट लगभग ५ हजार स्कूल पूर्णरूपमा ध्वस्त भएको बताइएको छ । माने लिउँ, त्यसमा दुई हजार स्कूलमा एकजना बिद्यार्थीको पनि ज्यान गएन रे । बाँकि अढाई हजार स्कूलमा औसत २५-२५ जना विद्यार्थीमात्र हताहति भएको हिसाब गर्ने हो भने पनि संभवत: ७५ हजार बालबालिकाको त हामी लाश मात्र निकालिरहेका हुन्थ्यौं !

हो, जो-जो प्रभावित भए तिनका लागि उनीहरुको जीवनमा यो भूकम्पभन्दा निर्मम संभवत: अर्को केही हुन सक्दैनथ्यो । तर समष्टिगतरूपमा फर्किएर हेर्दा नेपालको परिप्रेक्षमा त्यति शक्तिशालि भूकम्प त्यति धेरै दयावान हुनै सक्दैनथ्यो – तर भैदियो ।

विज्ञानवादले भाग्यवाद मान्दैन, अध्यात्मवाद पनि मान्दैन । तर जीवन-जगतलाई विज्ञानको आधारमा मात्र विश्लेषण गर्न खोजियो भने त्यो अपुरो हुनेछ । विज्ञान यो श्रृष्टीको एउटा सानो अंशमात्र हो । त्यसको अर्थ सृष्टीको विश्लेषण अध्यात्मवादबाट हुनसक्छ भन्ने होइन । अध्यात्मवादको दायरा पनि विज्ञानको भन्दा फराकिलो छैन । पूर्णता सृष्टीमा मात्र छ, त्यसका अंशमा होइन । तर सृष्टी रहष्यमयी छ, तसर्थ रहष्यमा निहित अध्यात्मवाद र विज्ञानवाद मेरा लागि रहष्यकै विषय हुन् । मैले ‘कम्प्युटर’मा ‘किबोर्ड’ चलाउँदा ‘स्क्रिन’मा अक्षरहरू लेखिन्छ । हर साँझ म काठमाण्डूको ‘रेडियो स्टुडियो’मा बसेर बोल्दा देशभरी त्यो आवाज सुनिन्छ । छेउमा भएको ‘मोबाइल’ उठाएर नम्बर थिच्दा सात समुद्र पारिको व्यक्तिसँग कुरा गर्न सकिन्छ । अध्यात्म र  विज्ञानले यसको जतिसुकै व्याख्या गर्न खोजे पनि यसको सृजनामात्र होइन, त्यो सृजना गर्न सक्ने मान्छेको अस्तित्व पनि मेरालागि रहष्यकै विषय हो ।

तसर्थ बैशाख १२ गतेको भूकम्पकाबारे न त अध्यात्मवादले न विज्ञानवादले मेरा सार जिज्ञासा मेटाउन सक्यो । जो दिवंगत भए या घाइते भए, त्यसलाई पूर्वजन्मको फल मान्ने हो भने अध्यात्मवादको हरेक बहसलाई त्यसैमा टुंगाइदिए हुन्छ, होइन भने धरहराको टुप्पोमा पुगेको जोडी धरहरासँगै भुईंमा बजारिँदा बाँचेको अनि मोटरमा गइरहेकी महिला सडक छेउका सबै घरहरू सग्लै रहँदा एउटाचाहिँ भत्केर त्यसैमा पुरिएर मरेको तथ्यलाई न अध्यात्मवादले न विज्ञानवादले व्याख्या गर्न सक्छ ।

२०३७ सालमा सुदूरपश्चिम नेपालमा ६.५ रेख्टरस्केलको ठूलो भूकम्प गयो। त्यतिबेला म दार्चुला खलंगाको महेन्द्र माध्यमिक विद्यालयमा पढथेँ । मेरो अंकल सरकारी जागिरे हुनुहुन्थ्यो । अंकलको छोरा करिव ३ वर्षको थियो। अंकल, म र मेरा केही साथीहरू दिनदिनै बेलुका ब्याडमिन्टन खेल्दथ्यौं । एकदिन ब्याडमिन्टन खेलिसकेपछि म र मेरो अंकल चौरको हरियो घाँसमा लमतन्न परेर पल्टिएका थियौं । अंकलको छोरा, राजेश, अंकलको पेटमा घोडा चढेर खेलिरहेको थियो । उसले अंग्रेजी सिकोस् भनेर हामी उसको अगाडि र उसँग प्राय अंग्रजी बोल्ने गर्दथ्यौं । पेटमा घोडा चढिरहेको राजेशले कुनै सन्दर्भविना फ्याट्ट “टुडे वि विल गो अपस्टेर्स, इट विल रेन हेभिलि एयाण्ड वि विल डाई ! (आज हामी माथि जान्छौं, भारी वर्षा हुन्छ, र हामी मर्छौं !)” भन्दियो । यो वाक्य म कहिल्यै विर्सन सक्दिन ।

उसको भनाईबाट हामी चकित त पर्यौं नै तर हामी झस्कियौं पनि किनभने दार्चुलामा बेलाबेलामा भूकम्प गइरहन्थ्यो । भाइले त्यसो भनेको एकछिन पछि नै एउटा भूकम्प गयो जसले नजिकैको टुँडिखेल वरिपरी लगाएको पर्खालको केही भाग भत्काइदियो । दार्चुला बसुञ्जेल त्यति ठूलो भूकम्प हामीले महशुस गरेका थिएनौं । सो भूकम्पपछि हाम्रो डर झन बढ्यो । त्यसका अन्य कारण पनि थिए । सन् १९७० को दशकमा चिनमा ७ रेख्टरस्केलभन्दा माथिका ५ वटा भुकम्प गएका थिए । त्यसैताका बैज्ञानिकहरूले भूकम्प जानुअगाडि जनावर र चराचुरूंगीले देखाउने असामान्य व्यवहारका बारे लेखेको एउटा अनुसन्धानमूलक लेख मेरो अंकलले पढ्नु भएको रहेछ । केही समयदेखि हामी बसेको वरपर दिउँसै स्यालहरू कराउँदै दौडिने, जमिनबाट एकदमै धेरै सर्पहरु निस्कने र गिद्धहरू पहाडबाट नजिकैको मालिकार्जुन मन्दिरका रूखहरुमा आएर बास बस्ने गरिरहेका थिए, जुन एकदमै असामान्य थियो । त्यो उल्लेख गर्दै अंकलले “भैंचालो जाने हो किक्या हो!” भन्ने गर्नुहुन्थ्यो ।

त्यतिबेला दार्चुला खलंगामा बनेका घरहरू अधिकांश ढुंगामाथि ढुंगा राखेर बनाइएका हुन्थे, जसलाई जोड्न माटो या सिमेण्ट केही पनि प्रयोग गरिएको हुन्नथे । हाम्रो घर दुई तले थियो –   तल अंकलको कार्यालय र माथि क्वाटर भएको । हामीले त्यो दिन फेरी भूकम्प आयो भने तल सुत्दा भाग्न सजिलो होला या माथि भनेर छलफल गर्यौं र माथि सुत्दा दौडेर सिधै बाहिरको भर्यांगबाट भाग्न सजिलो हुने निश्कर्ष निकाल्यौं । खान खाएपछि करिब साढे आठबजे तिर मेरी आन्टीले मलाई कम्मर दुख्ने समस्या भएकोले तेल तताएर लाइदिंदै हुनुहुन्थ्यो, भूकम्प आयो । हामी अर्को कोठामा सुतेकी बहिनीलाई पनि लिएर चिच्याउँदै भर्यांगतिर हुत्तिएर दौडियौं । मदिरा पिएर लडखडिएको जंड्याहाजस्तै हल्लिँदै घरबाट अलि टाडा पुग्यौं । घर गर्ल्यामगुर्लुम भत्कियो । बाल-बालले बाँचियो ! कसैलाई केही भएन छ – आन्टीको औंलामा सानो चोट लागेछ र धोति च्यातिएछ । त्यसपछि “हामी बाँच्यौं, हामी बाँच्यौं” भनेर म चिच्याएको कुरा अहिले पनि कहिलेकाहिँ अंकल-आन्टी उल्लेख गर्नुहुन्छ ।

यहाँ मैले कम्पनको पुरानो कथा सुनाउनाको कारण के हो भने त्यो दिन यदि त्यो ३ वर्षको भाईले अनायासै “आज हामी माथि जान्छौं, भारी वर्षा हुन्छ, र हामी मर्छौं !” नभनेको भए संभवत: हामीले माथिल्लो तल्लाको ढोकाको चुकुल चाँडै नै लगाइसकेका हुने थियौं, जुन खोल्न जहिले पनि सकस हुने गर्दथ्यो । त्यस दिन त्यो चुकुल लगाएको भए हामी बाँच्ने संभावनै रहने थिएन । तर भाग्यको कुरा, हामी बाँच्यौं !

जीवन मेरालागि भाग्य हो । न त कुन भूगोलमा जन्मिने हाम्रो बसमा छ, न त कुन जात, धर्म या वर्गमा जन्मिने हाम्रो बसमा छ । न जन्म, न मृत्यु नै हाम्रो बसमा छ । समय सँगैसँगै हामी भाग्यमा भूगोल, जात, धर्म र बर्गका रेखा कोर्दै र रंग लगाउँदै जान्छौं । तिनै रंगरेखा कोर्ने क्रममा अध्यात्मवादी पनि बन्छौं, विज्ञानवादी पनि बन्छौं । अन्यथा, जीवन भाग्य नै हो । भूकम्पले मात्र होइन, अन्य कारणले पनि कतिपयको सुन्दर सन्सार एक निमेषमैं चकनाचुर भएको, सुन्दर परिवार एक क्षणमैं वियोगमा विक्षिप्त भएको हामीले देखेका छौं । कुनै अध्यात्म या विज्ञानले त्यसलाई व्याख्या गर्न सक्दैन । कतिपयले भन्छन्, “भाग्यमा छ भन्दैमा डोकोमा दुध दोएर अड्छ त ?” अड्दैन, हामी सबैलाई थाहा छ । तर भाग्यमा छैन भने मैले यो वाक्य पुरा पनि गर्न नपाउँदै भुक्लुक्कै ढलेर यो जीवन अन्त्य हुनसक्छ भन्ने पनि हामीलाई थाहा छ ।

भाग्यवादी हुनु नराम्रो होइन । भाग्यवादीमा जीवनको क्षणभंगुरताको अनुभूति हुन्छ । हाम्रा हरेक पाइला अनिश्चित धरातलमा चालिइएको हुन्छ, जुन कुनैपनि बेला भासिन सक्छ भन्ने ज्ञान हुन्छ । मृत्युबोधको प्रवल चेतना हुन्छ । मेरी श्रीमतिले मलाई बारम्बार भन्ने गर्छिन्, “आखिर मरेर जाने त हो !” पहिले, पहिले एक-दुई पटक सुन्दा मैले त्यसलाई सामान्य अभिव्यक्तिका रूपमा लिएँ । पछिपछि मेरो भाग्यवादी मनोविज्ञानले “आखिर मरेर जाने त हो” लाई मेरो जीवन दर्शनको एक अभिन्न पाटो बनाइसकेको मैले थाहै पाइन । आजभोली म धेरै सामाजिक अन्तरकृयाहरुमा सो वाक्यलाई उदृत गर्ने गर्छु । तर निराशा जगाउन होइन, आशा र प्रेरणा जगाउन । यस्तो लाग्न थालेको छ, मृत्युबोध सकारात्मक प्रेरणाको सबभन्दा ठूलो स्रोत हो । जसमा मृत्यु-चेतना हरेक क्षण मस्तिष्कको पछाडि शान्त र सौम्यरूपमा बसेको हुन्छ, उसमा सकारात्मक शक्तिको बास हुन्छ । उसले समाजलाई हानी गर्ने काम गर्ने संभावना अत्यन्त न्यून रहन्छ किनभने सधैं उसलाई लाग्छ, “आखिर मरेर जाने त हो !” जसरी मृत्युको नजिक पुगेको व्यक्तिमा सामान्यतया ठगी, लोभ, ईर्श्या, प्रतिशोध र आक्रोशको भावना हुँदैन त्यसैगरी मृत्यु चेतनालाई सधैं मस्तिष्कमा वास दिने व्यक्तिमा त्यस्ता कुभावहरूले जन्म लिने संभावना कम हुन्छ । निरन्तरको मृत्युबोधले जन्माउने सकारात्मक सोच, सुकर्म र शान्ति नै ‘निर्वाण’ हो । तसर्थ यो सन्सारमा मृत्युभन्दा ठूलो अर्को प्रेरणाको स्रोत हुनै सक्दैन । ‌तर दुखको कुरा, घाटमा आफन्तको लाश जलिरहेको बेलामा मात्र हामीमा मृत्यु-चेतना प्रवल हुन्छ । अन्य अवस्थामा, दलाई लामाको शब्दमा भन्ने हो भने, “हामी यसरी जीवन जिउँछौं कि मानौं मृत्यु कहिल्यै आउँदैन र हामी यसरी मर्छौं कि मानौं हामीले जीवन कहल्यै जिउँदै जिएनौं ।”

आजभोली, म हरेक क्षण काठमाडौंको घरघरमा, कुनाकाप्चामा, बाटोबाटोमा मृत्यु देख्छु । भूकम्पको भूत देख्छु । तर म भाग्यमा विश्वास गर्छु । मर्न नपर्ने मान्छेहरू मरेको र मर्नु पर्ने मान्छेहरू बाँचेको धेरै कथा मैले सुनेको र पढेको छु । “आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, इन्द्रै बिन्ति गरुन झुकेर पाउमा त्यो बिन्ति सुन्दैन त्यो” कवि शिरोमणी लेखनाथ पौड्यालको दुई हरफ मलाई आजमात्र होइन, धेरै पहिलेदेखि कण्ठस्थ छ । त्यसैले मलाई लाग्छ मभित्र भय पाल्नुको कुनै अर्थ छैन । यसको अर्थ भूकम्प आउँदा पनि घरबाट बाहिर ननिस्कौं या भवन निर्माण आचारसंहिता लागू नगरौं र वा आचारसंहिता लागू गर्नुपर्छ भनेर सरकारलाई दबाब नदिउँ भन्न खोजेको होइन । गर्नुपर्ने कर्म त गर्नै पर्ने हुन्छ । तर कर्मले भाग्यका हरेक पक्षलाई बसमा राख्न सक्दैन भन्ने तथ्यलाई जति विश्वासका साथ स्वीकार गर्यो जिन्दगी त्यति नै बढी सहज, शान्त र खुशी हुन्छ भन्नेमा संकै छैन । भाग्यवाद नै माथि चर्चा गरिएको मृत्यु-चेतना पनि हो, जसले हर क्षण मान्छेलाई कुकर्म गर्नु हुन्न “आखिर मरेर जाने त हो !” भन्ने संझना दिलाई रहन्छ ।

भूकम्पपछिको समयलाई फर्केर हेर्दा मलाई यस्तो लाग्छ, म – मान्छे – कमजोर प्राणि हुँ, प्रकृतिका सामान्य नियमलाई म तोड्न सक्छु । जाडोमा न्यानो लुगा लगाउन सक्छु । भूकम्प प्रतिरोधि घर बनाउन सक्छु । तर प्रकृतिका असामान्य नियमहरूलाई तोड्ने प्रकृतिमा कसैको ताकत छैन । त्यो विश्वासलाई बैशाख १२ को भूकम्पले झनै बल पुर्याएको छ र गत एक वर्षमा भय होइन, भाग्य र मृत्यु बोधको भावना ममा झनै प्रबल बनेर आएको छ ।

मिश्रका अधिकांश स्तंभ-निबन्धहरू उनका तीनवटा पुस्तकहरू, राजनीतिसँगै राजकाज, खान पुगोस् दिन पुगोस् तथा भूमध्यरेखामा पढ्न सकिन्छ। ती पुस्तकहरूबारे थप जानकारी लिन र कसरी हासिल गर्न सकिन्छ भन्ने बुझ्न कृपया BOOKS खण्डमा जानुहोला।

This website uses cookies to improve your web experience.
mersin eskort bayan - izmir eskort - eskort ankara - amasya bayan eskort - eskort istanbul