Skip links

मेरो देश

गोलीहरू हावामा उड्छन्
बाटा-बाटामा गोलाहरू गुड्छन्
मानिसहरू एकअर्कासँग मुस्कुराउँदैनन्
एउटा अनौठो मौनता छाएको छ हाम्रा पहाडहरूमा

तपाईं घुमाउरो बाटोमा
पीडा पखाल्दै हिँड्ने एक्ला भरिया देख्नुहुन्न
भीरपाखामा निस्फिक्री बतासिने बैंस देख्नु‍हुन्न
विश्वास, घातमा परिणत हुनसक्छ

रंगहरू बदलिएका छन्:
ती नीलाबाट राता भए
राताबाट सब सेता भए
पीर, पीडा र रंग गुमाएका विधवाहरु बाहेक केही देखिँदैन
अनौठौ मौनता छाएको छ हाम्रा पहाडहरूमा

अनि मेरा मित्रहरू भन्छन्:
तिमी नफर्क, कुनै हालतमा नफर्क
देश युद्धमा छ

सायद ती बुझ्दैनन्
यदि म विदेशमा हरेक दिन चुनावी मुद्दा बन्छु भने
सीमाहरू मलाई नै बाँध्न कसिन्छन् भने
म सदाका लागि अ-आमन्त्रित पाहुना बन्छु भने

मेरा मित्र,
तिमीले बुझ्नुपर्छ
तिमी तिम्रो देशमा फगत् एकपल्ट मर्छौ
म पराया माटोमा हरेक दिन मरिरहेको हुन्छु।

रवीन्द्र मिश्र | ६ चैत २०६१
मिश्रका थप कविताहरू उनको कविता संग्रह “रवीन्द्र मिश्रका कविता”मा पढ्न सकिन्छ। सो पुस्तकहरूबारे थप जानकारी लिन र कसरी हासिल गर्न सकिन्छ भन्ने बुझ्न कृपया BOOKS खण्डमा जानुहोला।

This website uses cookies to improve your web experience.