Skip links

तिहार

सुन्दा अचम्म लाग्ला
हरेक तिहारमा दिदी-बहिनी भन्दा पनि
म मेरी हजुरआमालाई सम्झिन्छु
उनीसँग घरमा दियो बाल्ने पैसा थिएन
तर उनको मनको दियोले रात रङ्गीन हुने गर्दथ्यो

उनी हरेक साँझ-बिहान
पकाउनै लागेको कसौंडीबाट
एक मुठ्ठी चामल झिकेर भन्दथिन्,
“आफैंले मात्र खाएर मन फक्रिंदैन !”
मलाई उनको मन नै मन्दिर झैं लाग्दथ्यो

तर ममा आफू ‘बुझ्ने’ भएको भ्रम परेपछि
मैले अरूको घरका बत्ती हेर्न थालें
हजुरआमाको मनको दियो देख्न छाडें
र, बाटो आर्कै रोजें

मनको बत्ती निभाएर
घरमा बत्ती बाल्न थालें
के, के गरें, के, के गरें
यति बत्ती बालें कि
आफ्नै घर देख्न छाडें

कपाल फुल्न थालेपछि आभास हुँदैछ
अन्धकारको अन्धकारभन्दा
उज्यालोको अन्धकार त्रासदीपूर्ण हुने रहेछ
बादलमाथि कतैबाट हजुरआमा भन्दै होलिन्,
“नाति, ढिलै किन नहोस्, बुद्धि फिरेछ
घर उज्यालो पार्न, पहिले मनको दियो बाल्नुपर्छ!”

रवीन्द्र मिश्र | ८ कार्तिक २०७१ (भाइटिका)
मिश्रका थप कविताहरू उनको कविता संग्रह “रवीन्द्र मिश्रका कविता”मा पढ्न सकिन्छ। सो पुस्तकहरूबारे थप जानकारी लिन र कसरी हासिल गर्न सकिन्छ भन्ने बुझ्न कृपया BOOKS खण्डमा जानुहोला।

This website uses cookies to improve your web experience.