Skip links

इतिहासको घाउ कोट्याउंदा

Originally published on Nagariknews.com । इतिहास शिक्षा हो, बर्तमान उभिने धरातल हो। तर धेरैले कि त इतिहासको गौरव मात्र गाएर बर्तमानलाई पुड्क्याउंछन् कि सधैं इतिहासको पीडा संझेर मौका पायो कि तितो ओकल्छन्। इतिहासको गौरव र पीडा दुबै बर्तमानका लागि शिक्षा हुनुपर्ने हो तर समाजमा चीराहरु पर्दैजांदा इतिहास शिक्षाभन्दा बढी या त अहंकार या बदलाभावमा परिणत हुंदो रहेछ। इतिहासमा उभिएर भविष्यको रेखा कोर्नु राम्रो हुन्छ तर इतिहासको भारी बोकेरै भविष्य निर्माण गर्न खोज्दा त्यसको परिणाम सुखद नहुनसक्छ।

आजभोली कतिपय मानिसहरूबाट जानीजानी या स्वस्फूर्तरूपमा निस्किएका टिप्पणीहरू इतिहासको तिक्तताका कारण पूर्णत: बदलाभावले भरिएका हुन्छन्। त्यो तिक्तता इतिहासमा भएको प्रतिश्पर्धा, द्वन्द्व र सांच्चिकै शोषणसंग सम्वन्धित हुनसक्छन्। त्यही तिक्तताको लेश अझै पनि बांकि छ र त्यो बेलाबेलामा विभिन्न रूपमा ब्यक्त भएको हामी देख्दछौं: “हामीलाई अस्तिसम्म यिनीहरूले ‘न्यार’ भन्थे”। “हामीलाई पनि त यिनले ‘खेएं’ भन्थे नि”। “हामीलाई यिनीहरूले ‘मदिसे’ भन्थे”। “हामीलाई पनि त के, के भन्थे नि — ‘पहाडे, चुच्चे’ आदी।”

तर लहैलहैमा बतासिने जमात मात्र होइन, एउटा जाति, समुदाय या क्षेत्रले मात्र होइन, सिंगो देशले चिन्ने, श्रद्धा र सम्मान गर्ने कतिपय प्रबुद्ध नेपालीहरूले समेत तितो इतिहासको झोला बोकेर हिंडेको र बारम्बार त्यही झोलाका सामाग्री कहिले स्पष्ट र कहिले घुमाउरो पारामा पस्किरहेको देख्दा भने अत्यन्त दुख लाग्नु स्वभाविक हो। ती त्यस्ता सम्मानीय ब्यक्तिहरु हुन् जसलाई सिंगो देशले एउटा जाति र क्षेत्रको दायराभन्दा धेरैमाथि राखेर हेरेको छ। तर ती ब्यक्तिहरू अधिकांश देशवासीले उठाइदिएको धरातल र सिंगो नेपालको दायरबाट झरेर बारम्बार जातियता र क्षेत्रीयताको सांगुरो धरातल र दायरामा खुम्चिंदा स्वाभिमानी र उत्सहित महशुस गर्दछन्। ‘हामीले आन्दोलन गरेर, खोसेर लिएको अधिकार र सम्मान हो, काठमाडौंका कूलीन र सामन्ति वर्गले हामीलाई त्यो दया गरेर दिएको होइन’ भन्ने भावनाबाट ती नराम्रोसंग ग्रस्त र गौरवान्वित छन्। ‘आन्दोलन गरेर, खोसेर लिएको अधिकार र सम्मान हो’ भन्ने टिप्पणीमा सत्यता नभएको होइन। तर इतिहासको सत्यता बर्तमानकालागि शिक्षा हुनुपर्छ, अहंकार र तिक्तता होइन। त्यहीमात्र महान इतिहास हुन्छ जुन नेल्सन मण्डेलामा रूपान्तरीत हुन्छ, जुन क्षमा र मेलमिलापमा परिवर्तित हुन्छ।

त्यसो नगर्ने र इतिहासका कटूतालाई मात्र कोट्याई रहने हो भने त्यसले केवल तिक्ततालाई निरन्तरता मात्र दिनेछ। इतिहासमा झुण्डिरहनेहरूलाई अवगत नै होला सम्पूर्ण मानव इतिहास शोषण नै शोषण र तिक्ततै तिक्तताले भरिएको छ। आज मानव जातिले गर्व गर्ने प्राचिन कालका सात आश्चर्य हुन् या चिनको ‘ग्रेट वल’ जहां काम गर्दागर्दै मरेकाहरूलाई पर्खालमैं पुरीएको थियो, फ्रान्सको भर्साइ दरबार होस् या भारतको ताजमहल या काठमाडौंका एतिहासिक दरबार स्क्वार र भब्य मन्दिरहरु नै किन नहुन्, ती सबै एउटा जाति या वर्गले अर्कोमाथि गरेको अन्याय र शोषणकै परिणाम थियो। जसका बारे हामी गर्ब गर्छौं ती सबै शोषीत र पीडितहरुको पसिनाले भिजेको छ।

के अब ती सबैलाई ध्वस्त पारिदिने ? के अब ती सबैलाई सम्झिएर संभव भएसम्म बदला लिने? त्यतिमात्र होइन मानव अधिकारका बारे पर्याप्त बहस चल्न शुरु भएको दशकौं भैसक्दा पनि अन्याय र शोषण अन्त्य भएको छैन र संभवत: मानव चरित्रमा निहीत आधारभूत दुर्गुणहरुका कारण त्यति सहजै त्यो अन्त्य हुनेवाला पनि छैन, न्यूनिकरण भने हुंदै जानसक्छ, भएको पनि छ। तर जुन-जुन समुदायले त्यो अन्याय र शोषणलाई मानव विकासक्रमको एतिहासिक पृष्ठभूमीमा राखेर बुझ्ने प्रयास गर्छन्, त्यहां अहंकार र तिक्तता घट्दै जान्छ र त्यो समाज बढी सहनशील र सुसंकृत बन्दै जान्छ। जसले गर्दैनन्, ती अफ्रिकाका कयौं मुलुकहरूजस्तै जातीय द्वन्द्वबाट ग्रस्त हुन्छन्, तिनको हाल पूर्व सोभियत संघ, बर्तमानको रूस र चेच्चनिया, पूर्व युगोस्लाभिया या नजिकै आउने हो भने तामिल र सिंहाला वा भारत र पाकिस्तानमा हिन्दु र मुसलमानबीच ब्याप्त तिक्ततामा रूपान्तरित हुनसक्छ।

विश्वका अन्य देश र समाजहरूमा जस्तै नेपालमा पनि अन्याय र शोषणको इतिहास लामै छ। तर अरूको भन्दा हाम्रो अज्ञानताको इतिहास पनि लामो छ। अज्ञानता परमानन्द हो भने झैं अज्ञानताकै कारण हामी सहनशील पनि भयौं किनभने हामीमा अधिकारबोधको ज्ञानले लेराउने दुर्गुणहरु सवार हुन पाएन। तर जब माओवादीहरूले विकासक्रमको प्राकृतिक शिद्धान्तलाई मान्छे मार्ने अप्राकतिक शिद्धान्तले प्रतिश्थापित गरी एकैपटक विकासको छलांग मार्ने सपना देखे, हामीमा अधिकारबोधको चेतना त बढ्यो तर सो चेतना सहनशीलताको लामो परम्परालाई तोड्दै उत्तेजनामा परिणत भयो। त्यही उत्तेजनालाई हामीले आजभोली चेतना भन्ने गरेका छौं। हरेक देशको इतिहासमा यस्ता घढीहरु विविधरूपमा नआउने होइनन् र त्यसले लेराउने संक्रमणबाट सबै देशहरु गुज्रनु पर्छ। तर लोकतान्त्रीक संक्रमण झनै जटील हुन्छ किनभने लोकतन्त्र हाम्रो जस्तो अविकशीत समाजका लागि छाडातन्त्र पनि हो र हामीले २०४६ सालपछि जस्तो किसिमको लोकतन्त्रको अभ्यास गर्दै आएका छौं, त्यो ठूलो हदसम्म छाडातन्त्र पनि हो।

यस्तो अवस्थामा आम सर्वसाधारणबाट हामीले धेरै अपेक्षा गर्न मिल्दैन। ती कहिले राजासंग बहकिए, कहिले नेपाली कांग्रेस, एमाले र माओवादीसंग बहकिए। अनि ती तराई केन्द्रीत, जातीगत-क्षेत्रगत समूहहरूसंग बहकिए। नेताहरूले नै नबुझि गरेको ब्याख्यालाई अधिकांश स्थितिमा ‘जनता’ ले बुझे झैं गरे। त्यसैको परिणामस्वरुप दशकौंदेखि नेपाली जनता राजनीतिकरुपमा भौंतारिएका भौंतिरएकै छन्। स्वर्गीय गणेशमान सिंहले ‘जनता भनेका भेडा हुन्’ भनेर संभवत: स्वविवेक प्रयोग गर्ने क्षमता नभएको जनताको त्यही जमातलाई संकेत गरेको हुनुपर्छ, जुन जमात राजनीतिक दलहरूको आह्वानमा बहकिनुलाई आत्म अधिकारको सदुपयोग र देश र समाजका लागि गरिएको संघर्षका रूपमा हेर्दछ। हुन पनि जुन ढंगबाट हामी क्षणभरको आह्वानमा सडकमा उत्रिने, टायर बाल्ने र हिंसात्मक हुने गर्दछौं, त्यसलाई हेर्दा गणेशमान सिंहको टिप्पणीलाई गल्ती भन्न नमिल्ला।

यस्तो समाजमा यो लेखको शुरूतिर उल्लेख गरिएका जस्ता सिंगो राष्ट्रले नै सम्मान गर्ने प्रबुद्ध ब्यक्तिहरूले नै इतिहासलाई कोट्याइ-कोट्याइ घाउमा खाटा नै बस्न नदिनु कत्तिको उचित होला? भलादमि देखिनका लागि लुकाउन खोज्दाखोज्दै पनि बेलाबेलामा औपचारीक र अनौपचारीकरूपमा ब्यक्त भैहाल्ने तिक्तता बोकेर इतिहासको घाउ कोट्याउंदै एउटा निश्चीत समुदायमा ‘हिरो’ हुन खोज्ने कि इतिहासको घाउमा मलम लगाउन कोशीस गर्दै सिंगै देशकै ‘हिरो’ हुने ? त्यो उनीहरूले नै सोच्ने विषय हो।

त्यस्ता प्रबुद्ध भनिएका ब्यक्तिहरूको कुरा गरिसकेपछि हाम्रा कयौं सांसदहरूको पनि कुरा गर्नै पर्ने हुन्छ। उनीहरूमध्ये कतिपय प्रबुद्ध, कतिपय अर्ध-बुद्ध र कतिपय पूर्णत अ-बुद्ध छन् तर जेसुकै भए पनि ती देशको ब्यबस्थापकीय निकायका सदस्य हुन्, ती सिंगो देशका नेता हुन्। ती आफ्नो निर्वाचन क्षेत्रका लागि मात्र होइन देशकै लागि जिम्मेवार छन्। आफ्नो क्षेत्रलाई विशेष ध्यान दिनु तिनको जिम्मेवारी हो तर घरको ख्याल गर्दा समाज र राष्ट्रलाई हानी नपुर्याउने नागरीक मात्रै असल ठहरिन्छ। हाम्रा प्रबुद्ध बर्गका कतिपय सदस्यहरूले झैं ती सांसदहरुमध्ये कतिले घरको मात्र ख्याल गरेका छन् र कतिले समाज र राष्ट्रकै ख्याल गरेका छन्, त्यो पनि तिनले नै बुझ्ने कुरा हो।

र अन्त्यमा, यो लेखमा प्रबुद्ध भनिएको कुनै लेखक, प्राज्ञ या कुनै नेताको नाम लिइएको छैन। कसैको सार्वजनिक टिप्पणी या लेखलाई उद्दरण पनि गरिएको छैन। तर क-कस्ले खुल्लमखुल्ला र क-कस्ले भलादमिपनले ढाक्न खोज्दै इतिहासको अहंकार र तिक्तता बोकेर हिंडेका र बर्तमानलाई तितो बनाइरहेका छन्, त्यो, त्यसै गर्नेहरूलाई नै थाहा होला र तिनलाई सञ्चार माध्यममार्फत चिन्नेहरूलाई नै थाहा होला। यति सबै लेख्नुको अर्थ अधिकार र सम्मान खोज्नु हुंदैन भन्ने हुंदै होइन।

‘मेरो बाजेले घिउ खा’थे, हात सुंग-सुंग’ भन्ने मानसिकता बोकेका कपटभद्र सामन्तिहरुको शासन र मानसिकता कस्तो हुन्छ भन्ने यो लेखकले पनि राम्रैसंग अनुभव गरेको छ। तर त्यो तिक्ततालाई हामी आम सर्वसाधारणकहां पुग्न सक्ने विशेष सुविधा पाएका ब्यक्तिहरूले यो या त्यो रूपमा बारम्बार ब्यक्त गरिरहने हो भने, समाज र देशमा सहअस्तित्व र नेपालीत्वको भावना कसरी स्थिपत होला? अहिले नै अकल्पनिय केही नभएको होला तर हामी पढेलेखका र जानेबुझेका मानिएका ब्यक्तिहरुले हाम्रो समाज र देशलाई यस्तो विन्दूमा ल्याइपुर्याएका छौं जुन विष्फोट भयो भने नियन्त्रण गर्न गाह्रो पर्नेछ। त्यसैले फेरी पनि भनौं, इतिहास बोकेर हिंड्ने भारी होइन, पाठ सिक्ने शिक्षालय हो। इतिहासको घाउ कोट्याईरहनेहरूले अलिकति विचार गरिदिने हो कि?

मिश्रका अधिकांश स्तंभ-निबन्धहरू उनका तीनवटा पुस्तकहरू, राजनीतिसँगै राजकाज, खान पुगोस् दिन पुगोस् तथा भूमध्यरेखामा पढ्न सकिन्छ। ती पुस्तकहरूबारे थप जानकारी लिन र कसरी हासिल गर्न सकिन्छ भन्ने बुझ्न कृपया BOOKS खण्डमा जानुहोला।

This website uses cookies to improve your web experience.
mersin eskort bayan - izmir eskort - eskort ankara - amasya bayan eskort - eskort istanbul