Skip links

‘पृथ्वीनारायणले भौगोलिक मात्रै होइन, सांस्कृतिक एकता पनि गरेका थिए’

Originally published on Ratopati | पृथ्वीनारायण शाहको जन्मजयन्तीमा राष्ट्रिय एकता दिवस मनाउने र सार्वजनिक बिदा दिने जुन निर्णय सरकारले गर्‍यो, त्यो प्रशंसायोग्य छ, तर त्यो खुसीले गरिएको होइन । राष्ट्रिय प्रजातन्त्र पार्टीले यसलाई सर्तका रूपमा राखेको थियो । हामीले भनेका थियौँ— पृथ्वी जयन्ती मनाउन मान्दैनौ भने हामी सरकारलाई सहयोग गर्दैनौँ ।

यसरी बाध्यतावश गरिए पनि अब यो निर्णय सदाका लागि होस् भन्ने मेरो चाहना छ । कतिपय पक्षको तर्क छ— पृथ्वीनारायणले नेपालको भौगोलिक एकीकरण त गरे तर सांस्कृतिक, भावनात्मक र भाषिक एकीकरण एकीकरण गरेनन् । त्यसैले यसलाई एकीकरण मान्न सकिँदैन ।

अहिले यो किसिमको भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ । संसारमा भौगोलिक एकीकरण भएपछि नै भावनात्मक एकीकरण क्रमिक रूपमा हुने हो । त्यसो हुनाले यो नितान्त वामवादीहरूले सिर्जना गरेको गलत र विकृत भाष्य हो । पृथ्वीनारायण भौगोलिक एकीकरणकर्ता मात्र होइनन्, भावनात्मक एकता र सांस्कृतिक एकीकरणकर्ता पनि हुन् ।

काठमाडौं उपत्यकामा विजय हासिल गरेपछि कुमारीको पाउ ढोगेर उनले राज्य सुरु गरेका थिए । उनले नेपाललाई चार वर्ण छत्तीस जातको साझा फूलबारी भनेका थिए । उनले यसलाई हिन्दुहरूको स्थान माने पनि हरेक धर्मावलम्बीले आफ्नो कुलधर्म कायम राख्नु भनेका थिए । उनी काठमाडौं उपत्यका नेवाः संस्कृति र सभ्यताको एकदमै ठुलो संरक्षक थिए । त्यस कारण पृथ्वीनारायण नेपालको ‘साझा संस्कृति’को नरम तानाशाह थिए । फेरि, तानाशाहको प्रशंसा गर्ने ? भन्लान् । आजभन्दा २५० वर्षअगाडि संसारमा धेरैजसो तानाशाहले नै शासन गरेका थिए । त्यो परिस्थितिमा नेपालमा मात्रै ठूलो लोकतन्त्र हुनुपथ्र्यो भनेर हुँदैन ।

पृथ्वीनारायणमाथि सधैँ लाग्ने आरोप के हो भने, उनले कीर्तिपुरका नेवारको नाक काटे । उनले आफैँ काटेको होइन । पहिले कीर्तिपुरेले उनका उनका भाइ सुरप्रताप शाहका आँखा फुटाइदिएका थिए, त्यसो हुनाले प्रतिरोधस्वरूप त्यो काम भयो । त्यतिबेला अन्य राज्यहरूमा पनि शत्रुको नाक, कान काटिदिने चलन थियो । त्यो एउटा परिस्थिति र समयमा कतिपयको काटिएको हो । काटिएकै होइन भनेर जुन भाष्य पृथ्वीनारायण शाहका भक्तहरूले निर्माण गर्न खोज्छन्, त्यो गलत हो । यो भएको कुरालाई स्वीकार गर्नुपर्छ ।

अर्कोतिर, पृथ्वीनारायणले हिंसा प्रयोग गरे भनिन्छ । एउटा तथ्य के हो भने आजको समयमा पनि जब राज्य–राज्यबीच लडाइँ हुन्छ, जब राज्यका दुई पक्षबीच द्वन्द्व हुन्छ, त्यहाँ हिंसा प्रयोग हुन्छ । संसारमा हिंसा प्रयोग नगरी कुनचाहिँ एकीकरण भएको छ ?  कहीँ नभएको कुरा हामी मात्र खोज्ने ? २५० वर्षअघि तानाशाह त संसारभरि थिए । हिंसा प्रयोग भएकै थियो ।

भारतको एकीकरण हुनेबेला वल्लभभाइ पटेललाई संसारको सबैभन्दा शान्तिपूर्ण एकीकरणकर्ता भनिन्छ । तर एकदमै  रणनीतिक महत्त्वको हैदराबादलाई भारतमा एकीकरण गर्न अप्ठेरो पर्‍यो । ऊ एकीकरणमा आउन नमानेपछि हिंसा प्रयोग भयो । त्यस सम्बन्धका दस्तावेजहरू धेरैपछि मात्र सार्वजनिक भए । त्यहाँ दसौँ हजारको ज्यान गएको देखियो । त्यसकारण हामीले त्यही समयको परिप्रेक्ष्यमा यस्ता विश्लेषण गर्नुपर्ने हुन्छ ।

यसको अर्थ मैले हत्या, हिसाको औचित्य दर्शाउन खोजेको होइन । लोकतन्त्र आइसकेपछि लोकतान्त्रिक विचारले जित्न नसकेर मान्छे मारेर हिँडेको माओवादी हिंसाको औचित्य दर्शाउने, अनि आजभन्दा २५० वर्षभन्दा अगाडिको हत्या–हिंसा एकदम गलत थियो, राज्यले माफ माग्नुपर्छ भनेर भन्ने ? त्यो कुरा त्यति सही होइन । त्यसकारण हामीले यो विषयलाई मनन गर्नुपर्छ ।

पृथ्वीनारायण जस्तो दू्रदर्शी, आँटिलो नेतृत्व त्यतिबेला नभइदिएको भए आज नेपाल हुँदैनथ्यो । कतिपयले भन्लान् नेपाल नभए के हुन्थ्यो त ? अरू केही त भइहाल्थ्यो नि भन्लान् । तर हरेक देशका नागरिकले त्यो देश बनिसकेपछि त्यो देशको माटोप्रतिको आस्था सबैभन्दा प्रगाढ हुन्छ र सबैभन्दा बलियो हुन्छ ।

आज युक्रेनका जनता त्यसरी पीडाकष्ट भोगेर किन आफ्नो भूमिको संरक्षण गर्न खोजिरहेका छन् ? किनभने त्यो देशप्रतिको भक्ति हो र त्यो माटोप्रतिको आस्था हो । जुन बनिसकेको देशमा आज हामी जन्मियौँ, यस देशको निर्माता पृथ्वीनारायणलाई मान्नु हाम्रो दायित्व हुन जान्छ । आज हामीले नेपाली भएर आफ्नो धर्म, संस्कृति, जातजाति, भाषाभाषीमाथि गर्व गर्दा एउटा आदर्श र राष्ट्रिय एकताको प्रतीकलाई सम्मान गर्नु कुनै सामान्तवादी सोच होइन ।

पृथ्वीनारायणको दूरदर्शिता उनको दिव्योपदेशमा झल्किएको छ । त्यसलाई मनन गर्ने हो भने मात्रै नेपालको अर्थनीति, राजनीति र कूटनीति धेरै नै सन्तुलनमा आउँथ्यो । दुई ढुङ्गाबीचको तरुल कसले भनेको ? भोलि सङ्कट आइलाग्छ, आफैँ जाइ नलाग्नु तर आइलाग्नेलाई नछोड्नु कसले भनेको ?  उनले नेपाल निर्माणको जग हालेपछि पश्चिम किल्ला काँगडा पूर्वमा टिस्टा पुगेथ्यौँ भनेर टिस्टासम्म शाह वंशकै पालामा पुगेको होइन देशको सीमा ? हो पछि आएर सङ्कुचित भयो, त्यो भिन्नै कुरा हो । तर यो भूमिमा उनले जेजस्ता दिव्य उपदेश दिएका छन्, त्यसलाई हामीले मनन गर्न आवश्यक हुन्छ ।

उनले ‘यो देशको संस्कृति जोगाउनका लागि मुजुरा हेर्न नजानू’ भने । यसको अर्थ हो— तिमी आफ्नै नाच हेर, आफ्नै गान सुन, आफ्नै धर्मसंस्कृति मनाऊ । यस्तै, उनले पैसा लगेर विदेशमा नराख, नेपालभित्रै राख भनेका छन् । नेपाली उद्योग, कलकारखानालाई प्रवद्र्धन गर भनेका छन् । त्यो समयमा प्रजा मोटा भए मात्रै राजा बलिया हुन्छन् भनेका छन् ।

नेपालको राजसंस्थाले बझ्नुपर्ने के हो भने प्रजा मोटा हुनैपर्छ राजसंस्था दिगो हुनका लागि । त्यो दूरदर्शिता हेर्नुभयो भने उनले संस्कृतिका बारेमा बोलेको, कूटनीति र नेपालको सुरक्षाका बारेमा बोलेको, नेपालको राजसंस्था कस्तो हुनुपर्छ भनेर बोलेको, नेपालमा समतामूलक समाज कसरी निर्माण हुनुपर्छ भनेर बोलेको कुरालाई विचार गर्दा उनी अत्यन्तै दूरदर्शी नेता थिए । अत्यन्तै आँटिला नेता थिए । सारा नेपालीले उनको गौरवगाथा गाउनैपर्छ ।

मैले त भन्ने गरेको छु, पृथ्वीनारायण शाहको सालिक ढालेर, उनलाई सरापेर मार्क्स र माओलाई माला लगाउन जानेहरूले, पूजा गर्न जानेहरूले यो देश बनाउन सक्दैनन् । यो देश नबन्नुको प्रमुख कारणमध्ये त्यो पनि एक हो । किनभने हामीले हाम्रोमा गर्व गर्न जानेनौँ ।

पृथ्वी जयन्तीमा जसरी सार्वजनिक बिदा दिन थालियो, जसरी पृथ्वीजयन्ती पुनर्स्थापित भएको छ, यसलाई हामीभन्दा मुनिको पुस्ताले बचाएर लानुपर्छ र यसमा गर्व गर्नुपर्छ । नेपाली हुनुको त्यो एउटा गर्वभाव पनि हो । नेपालको एकताको प्रतीक सधैँका लागि राख्नुपर्ने व्यक्तित्व पनि हो ।

मैले पृथ्वीनारायण शाहको गाथा गाउँदै गर्दा विगतको भूतले मलाई सताएको, पश्चगमनको भूतले मलाई सताएको भन्ने आरोप लाग्न सक्छ, लागेको पनि छ । यो नेपाल भन्ने देशलाई जोगाउने र सँगसँगै यसलाई स्थिर र शान्त राख्ने हो । शान्त र स्थिर नभईकन संसारमा कुनै पनि देश रूपान्तरणमा जान सक्दैन । त्यसैले नेपालको शान्ति  र स्थिरता सबैभन्दा प्रधान विषय हो । अनि सँगसँगै रूपान्तरण विषय पनि प्रधान हो ।

अहिलेको परिप्रेक्ष्यमा जस्तो किसिमको भूराजनीतिको विकास भएको छ, संसारमा जसरी नेपाल त्यो बदलिँदो भूराजनीतिको केन्द्र बनेको छ, जसरी एकापट्टि एक अर्ब ४० करोड जनसङ्ख्या भएको र अर्कापट्टि एक अर्ब ३० करोड जनसङ्ख्या भएको भिन्न–भिन्न राजनीतिक व्यवस्था अँगालेका दुई देश संसारकै शक्तिशाली भएर आएका छन् । ती शक्तिशाली बनेर आइरहँदा पश्चिमा देशहरूको रणनीति नै बदलिन थालेको छ । तपाईं इन्डो प्यासिफिक रणनीतिको कुरा गर्नुस् या बेल्ट एन्ड रोडको कुरा गर्नुस्, ती रणनीति बदलिन थालेका छन् । यसरी भूराजनीतिको केन्द्र बन्न लागेको देशभित्र सम्पूर्ण संस्था कमजोर छन् । राष्ट्रपतिको संस्था कमजोर छ, सर्वोच्च न्यायालयको संस्था कमजोर छ, प्रधानमन्त्रीको संस्था कमजोर छ, कर्मचारी, प्रहरी लगायत सम्पूर्ण संस्था कमजोर छन् । यहाँभित्रको जातीय संवेदनशीलता बढेको छ । त्यसैगरी धार्मिक जनसंख्याको बनोट बदलिँदै गएको छ । यस्तोबेला जब सङ्कट आइलाग्छ, कुनै पनि संस्थाले यसलाई ह्यान्डल गर्न सक्दैन । त्यस्तो भएका देशहरू संसारमा अरू पनि धेरै छन् । नपरुन्जेल केही भएको छैन जस्तो लाग्छ, परेपछि त्यसलाई सम्हाल्न सकिँदैन ।

देश गणतन्त्रमा गए पनि भोलिका दिनमा आउने जटिलताका सम्भावना प्रबल रूपमा देखिएका छन् । त्यस्तो बेला लामो ऐतिहासिक विरासत बोकेको संस्था मानिसले खोज्दा रहेछन् । संसारमा अन्त पनि खोजिएको छ सङ्कटको घडीमा । यो देश त शाह वंशले निर्माण गरेको र शासन गर्दै आएको हो नि । त्यो पनि होइन भनेर निहुँ खोजिदिने ? त्यो वंशबाट केही कमजोरी भएको भए पनि लामो ऐतिहासिक विरासत बोकेको छ । आज पनि मधेस, पहाड, हिमाल वा काठमाडौंका नेवाहरूको कोर बस्तीमा राजसंस्थाको प्रतीक राजा ज्ञानेन्द्र पुग्दा हजारौँ मानिस निस्किएको तपाईं देख्नुहुन्छ । एउटा ठाउँको मानिस अर्को ठाउँमा लगिएको होइन । त्यसकारण ३०–४० वर्षपछिको देशलाई परिकल्पना गरेर आआफ्ना विचारभन्दामाथि देशलाई राख्नैपर्छ भन्ने मेरो मान्यता हो ।

म राजावादी भएर होइन, म त उत्कृष्टतावादी हुँ । म मेरिटोक्रेसीमा विश्वास गर्छु, तर त्यो मेरो विश्वास हो । मेरो विश्वासभन्दा ठूलो त यो देश हो नि । यो देश सबैको हो, विचार मेरो मात्रै हो । त्यसकारण मेरो विचारभन्दा माथि राखेर हेर्दाखेरि र यो देशको भलोलाई सोच्दाखेरि ३०–४० वर्षपछि यो देशमा कस्ता किसिमका समस्या र जटिलता आउन सक्छन् भनेर सोच्दा यो देशमा राजसंस्थाको पुनःस्थापना अत्यावश्यक छ भन्ने निष्कर्षमा म पुगेको हुँ । पछिल्लो समय त्यही निष्कर्षका साथ म राजनीतिमा अगाडि बढिरहेको छु ।

Leave a comment

This website uses cookies to improve your web experience.