Skip links

पृथ्वीनारायण खोज्दै पोखरामा रवीन्द्र मिश्र

काठमाडौंबाट २ सय किलोमिटरको यात्रा छिचोलेसँगै झर्ने ठाउँको नाम हो– पृथ्वीचोक। पृथ्वी राजमार्गको निर्माण र राजा पृथ्वीनारायणको सालिक ठडिएसँगै नयाँ नाम पाएको यो यो ठाउँमा अहिले पृथ्वीनारायणको सालिक छैन। २०६४ वैशाख १८ गते मजदुर दिवस मनाउने क्रममा पृथ्वीनारायण शाहको सालिक फुटाइयो। माओवादीले नेतृत्व गरेको जुलुसले राजाको सालिक फालेसँगै त्यहाँ प्रथम सहिद लखन थापालाई उभ्याइयो। नाम बदलेर लखनचोक राखियो।

राजाको सालिक फालिएकोमा मन दुखाउनेहरु छँदै थिए।

उता, पोखरा महानगरले २०७४ असोजमा चोकहरु फराकिलो पार्ने भन्दै लखनको सालिक पनि मिल्काइदियो। मगर संघ आन्दोलनमा उत्रियो। तत्कालीन मेयर मानबहादुर जिसीले महानगरकै पैसामा त्यहाँ लखनकै सालिक स्थापना गर्ने सहमति गरे। यसमा फेरि असन्तुष्टि चुलियो।

अघिल्लो वर्षको पुस २७ गते पृथ्वीजयन्ती मनाउने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीले लखन थापाको सालिकमुनि पृथ्वीको प्रतिमा राख्यो। त्यहीँ जयन्ती मनायो। गएको साउनमा आदिवासी जनजाति दिवस मनाउने क्रममा असन्तुष्ट पक्षले त्यो प्रतिभा फालेपछि पुनः विवाद बढ्यो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नै प्रतिभा फालिएकोमा आपत्ति जनाए।

यो त भयो पृथ्वीचोकको कथा।

पोखरा महानगरपालिकाले पोखरा १८,जामुनबोटमा सहिद पार्क बनाएको छ। हवाई दुर्घटनामा ज्यान गुमाएका पूर्वमन्त्री रवीन्द्र अधिकारीदेखि अन्य व्यक्तिसम्मका सालिक त्यहीँ ठडिएका छन्। सहिदपार्कमा राजा पृथ्वीनारायण पनि अटाएका छन्।

यो वर्षको पृथ्वीजयन्ती पारेर शुक्रबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि ‘पृथ्वीजयन्ती र एकता दिवस’को शुभकामना दिएका छन्।

उता, राप्रपाका नेता/कार्यकर्ताहरुले पोखराको मुख्य भाग अर्थात् महेन्द्रपुलबाट दक्षिणतर्फ करिब ३ किलोमिटरको दूरीमा रहेको जामुनबोट नै पुगेर राजाको सालिकमा फूल चढाएका छन्। र, त्यो समूहको नेतृत्व राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले गरे।

राप्रपाका तर्फबाट गण्डकी प्रदेश सांसद बनेका पञ्चराम गुरुङ, कास्की राप्रपाका पुराना नेता नारायण गुरुङसहितका नेता/कार्यकर्ताहरुले जामुनबोट पुगेर राष्ट्रनिर्माताप्रति श्रद्धा व्यक्त गरेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए।

उनका अनुसार शुक्रबार दिउसो पृथ्वीचोकमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जानकारी दिए। राष्ट्र गौरव अभियानका नाममा आयोजित यो कार्यक्रमलाई अन्य १० वटा जातीय तथा धार्मिक संस्थाले सघाएका छन्।

 

Source: नेपालखबर

Leave a comment

This website uses cookies to improve your web experience.