Skip links

रवीन्द्र मिश्र भन्छन्ः ‘राष्ट्रप्रमुखको रुपमा राजा ज्ञानेन्द्रलाई किन अघि नसार्ने?’

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अहिलेको परिस्थितिमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रप्रमुखको रुपमा अघि सार्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।

मिश्रले बिहीबार सामाजिक सञ्जालमार्फत उक्त धारणा सार्वजनिक गरेका हुन्। देश निरन्तर कमजोर, बदनाम र संकटउन्मुख बन्दै गएको अवस्थामा पूर्वराजा शाहलाई राष्ट्रप्रमुखको रुपमा किन अघि नसार्ने? भनेर उनले प्रश्न गरेका छन्।

‘देश नै निरन्तर कमजोर, वदनाम र संकटउन्मुख बन्दै गएको अवस्थामा राजा ज्ञानेन्द्रलाई ‘राष्ट्रप्रमुख’का रूपमा किन अघि नसार्ने?,’ मिश्रले भनेका छन्, ‘अरूले दशकौँसम्म दिनदिनै राष्ट्रघात गर्दा क्षम्य हुने। अहिले पनि चौतर्फीरूपमा व्यापक स्वीकार्यता भएको र देशको दिर्घकालीन शान्ति, स्थिरता, सम्मान र सार्वभौमिकताका लागि राजा ज्ञानेन्द्रले एक पटक गरेको ‘गल्ती’ सुधार्ने मौका पाउन नहुने?’

यस्तो छ रवीन्द्र मिश्रको धारणाः

यस्तो स्थितिमा राजालाई ‘राष्ट्रप्रमुख’का रूपमा विचार गर्ने कि?

राष्ट्रपतिलाई राजनीतिभन्दा माथिको पद भनियो। तर राष्ट्रपतिको भूमिका सदा पार्टीगत रह्यो। सेनाबाहेक देशका सबै संस्था क्षयीकृत छन्। समाज महाभ्रष्ट छ। IQ सन्सारमै सबैभन्दा कम छ। धर्मसंस्कृतिमाथि धावा बोलिएको छ। देश अन्तर्राष्ट्रिय भूराजनीतिको चपेटामा पर्दैछ/परिसक्यो।

यस्तो अवस्थामा कहिले ‘होली वाइन’, कहिले ‘विदेशीका एजण्ट’, कहिले ‘नातावादमा लिप्त’, कहिले ‘भ्रष्ट’ र ‘राष्ट्रघातमा अभ्यस्त’हरूको नाम राष्ट्रपतिको पदका लागि चर्चामा छ। राष्ट्रपतिको संस्था भनेको संकटको घडीमा आड दिने ‘कुशन’ हुनुपर्ने हो। तर त्यो कुशासनको केन्द्रविन्दू बनेको छ।

देश नै निरन्तर कमजोर, वदनाम र संकटउन्मुख बन्दै गएको अवस्थामा राजा ज्ञानेन्द्रलाई ‘राष्ट्रप्रमुख’का रूपमा किन अघि नसार्ने?
अरूले दशकौँसम्म दिनदिनै राष्ट्रघात गर्दा क्षम्य हुने। अहिले पनि चौतर्फीरूपमा व्यापक स्वीकार्यता भएको र देशको दिर्घकालीन शान्ति, स्थिरता, सम्मान र सार्वभौमिकताका लागि राजा ज्ञानेन्द्रले एक पटक गरेको ‘गल्ती’ सुधार्ने मौका पाउन नहुने?

राजा ज्ञानेन्द्रले भने झैँ, “अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन।”

Source: Deshsanchar

Leave a comment

This website uses cookies to improve your web experience.