Skip links

कसरी हुन गयो यस्तो त्रुटि?

निर्वाचन आयोगले हिजो सोमबार प्रकाशित गरेको “तोकिएको समयावधिमा निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने” २,४०० भन्दा बढी उमेदवारहरूको सूचीमा मेरो नाम पनि परेको देख्दा आश्चर्यचकित र दुखी भएको छु।

मैले निर्वाचन आयोगले तयार पारेको ‘खर्च विवरण’ को फारम भरेर सो फारम निर्वाचन सकिएको दुई हप्तापछि नै अर्थात् २० मंसिर २०७९ मा काठमाडौँ क्षेत्र नं एकको निर्वाचन आयोगको कार्यालयमा आफैँ उपस्थित भई बुझाएको थिएँ।

खर्च विवरण निर्वाचन आयोगको कार्यालयले सोही मितिमा कार्यालयको छाप सहित दर्ता नं १० तोकेर बुझिलिएको थियो, जसको प्रतिलिपि यसै विज्ञप्तिसाथ संलग्न गरेको छु।

त्यसै दिन मैले आफ्नो खर्च विवरणबारे जारी गरेको प्रेस विज्ञप्ति “रवीन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख” शीर्षकमा प्रमुख सञ्चार माध्यमहरूमा प्रकाशित भएका थिए।

सो विज्ञप्तिमा मलाई चुनावी अभियानमा शुभेच्छुकहरूबाट प्राप्त सहयोग रकम पनि उल्लेख गर्दै, चुनावमा खर्च भएर बाँकी रहेको रू ८ लाख ५० हजार ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ मा राख्ने जानकारी समेत गराएको थिएँ।

२०७४ सालको चुनाव लड्दा पनि चुनावी खर्चपछि बचेको रकम मैले तत्कालिन मेरो पार्टीलाई हस्तान्तरण गरेको थिएँ। राज्य जतिसुकै भ्रष्ट भए पनि नागरिकले आफ्नो दायित्व छोड्न हुँदैन भन्ने मान्यताका साथ सार्वजनिक जीवनलाई इमानदारीको कसीमा सधैँ घोट्न तयार भएर हिँडेको मेरोबारे निर्वाचन आयोगजस्तो विशिष्ट संस्थाले यस्तो त्रुटि गरिदिँदा नराम्रो असर पर्न जान्छ।

भविष्यमा यस्तो त्रुटि नहोस् भन्ने कामना गर्दछु।

रवीन्द्र मिश्र
प्रतिनिधिसभा सदस्य उमेदवार (२०७९),
काठमाडौँ क्षेत्र नं १

Leave a comment

This website uses cookies to improve your web experience.