Skip links

भाग्यवादीको कम्पन–कथा

लेखक रवीन्द्र मिश्र ।

Originally Published on nepalmag.com.np | सामान्यतया भाग्यवादीहरू ईश्वरवादी हुन्छन् । तर म चरम भाग्यवादी भए पनि ईश्वरवादीचाहिँ होइन । यद्यपि म इमानदारीपूर्वक ईश्वरमा आस्था राख्नेहरूलाई ठूलो सम्मान गर्छु । छोटकरीमा म आफूलाई ‘कर्मशील भाग्यवादी’ भन्न रूचाउँछु । अर्थात्, गर्नुपर्ने कर्म इमान र दृढताका साथ गर्दै जाने तर परिणामहरू सधैँ मान्छेको वशमा नहुन सक्छ भन्ने यथार्थलाई सदा मनन गर्ने र स्वीकार्ने । ईश्वरवादी नहुनाको कारणचाहिँ के हो भने ईश्वरको अस्तित्व छ/छैन भनेर प्रमाणित गर्न गाह्रो छ । त्यो प्रमाणित गर्न सकिँदैन भन्ने दृष्टिकोण राख्नेलाई अंग्रेजीमा ‘एयाग्नोस्टिक’ भनिन्छ । लाग्छ, म ‘थेइस्ट (आस्तिक)’ अथवा ‘एथेइस्ट (नास्तिक)’ नभएर ‘एयाग्नोस्टिक’ हुँ । तर २०७२ साल वैशाख १२ गते मध्य दिनमा धरती हल्लिँदा मैले चलाइरहेको मोटरभित्र म एक्लै ‘हे भगवान्…हे भगवान्…हे भगवान्…’ भनेर अर्धबेहोसीमा जसलाई मैले जीवनभर शंकाको घेरामा राखेको थिएँ, उनैलाई पुकारिरहेको थिएँ । पछि थाहा भयो, मैले पुकारेको भगवान्का धेरै स्वरूपहरू त्यति बेला लडिसकेका रहेछन् । आफू ‘एयाग्नोस्टिक’ भएको विश्वास गर्ने मैले चरम पीडा र आशंकाको घडीमा भगवान्कै नाम लिएछु । अहिले फर्केर हेर्दा लाग्छ, सो पुकारमा भक्तिभावभन्दा समाजमा निहित आश्चर्यवोधको स्वस्फूर्त अभिव्यक्ति थियो ।

This website uses cookies to improve your web experience.