Skip links

रवीन्द्र मिश्र भन्छन्– ‘वर्तमान व्यवस्था उल्टाउन आन्दोलनमा जाँदैछौँ’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले विधिमा नबाँधिई पार्टीलाई सुदृढ बनाउन नसकिने बताएका छन् । राप्रपा काठमाडौं क्षेत्र नम्बर ४ को शनिबार भएको क्षेत्रीय भेलामा उनले पार्टीका एजेन्डा जनतालाई बुझाउन सक्नुपर्ने बताए ।

‘चुनाव जित्न र देशभर यो संगठन फैलाउनको लागि युवा शक्तिको आवश्यकता छ,’ उनले भने, ‘हामी सशक्तरूपमा आन्दोलन गर्न र हाम्रो एजेन्डा कुनै पनि हालतमा स्थापित गर्ने दृढताका साथ अगाडि बढेका छौँ । हामी यो देशको व्यवस्था उल्टाउन आन्दोलनमा जाँदैछौँ । हामी यो व्यवस्था उल्टाउन योग्य छौँ भनेर जनतालाई विश्वास दिलाउन आवश्यक छ । यस्तो विषयलाई पार्टीले गम्भीरतापूर्वक हेर्न जरुरी छ ।’

राप्रपालाई विधिमा नबाँधे मुलुकको नम्बर एक पार्टी बन्न नसक्ने उनले बताए । ‘विधिमा बसेपछि मात्रै यसले हरेक समस्यालाई वैधानिक हिसाबमा समाधान गर्न सक्छ,’ मिश्रले भने, ‘हामीले चाहेको एजेन्डा स्थापित गरेर पहिलो पार्टी बन्न सकेनाैँ भने आन्दोलनमा ढाल्न सकेनौँ भने सबै डुब्ने हो ।’

राप्रपाले विभिन्न माग राखेर आन्दोलनमा उत्रिने घोषणा गरिसकेको छ । उक्त सन्दर्भमा मिश्रले आन्दोलन सशक्त बनाउन आफूहरू विधिमा चल्नु अनिवार्य भएको बताए । ‘यो चारवटा पार्टीले गाँजेर राखेको संविधान उल्टाउन लागेका छौँ भने हाम्रो आत्मविश्वास पनि त्यहीअनुसारको बलियो हुनुपर्छ,’ उनले भने,‘यो व्यवस्था ढाल्ने हो भने मात्रै हाम्रो सन्तानको भविष्य यो देशमा हुन्छ ।’

Source: फकरधार

Leave a comment

This website uses cookies to improve your web experience.