निर्वाचन खर्च विवरण तोकिएकै मितिमा बुझाएको हुँ: रवीन्द्र मिश्र
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रवीन्द्र मिश्रले निर्वाचन खर्चको विवरण निर्धारित मितिमै बुझाएको बताएका छन्।
आयोगले खर्च विवरण नबुझाउनेको सूचीमा आफ्नो नाम सार्वजनिक गरे लगत्तै नेता मिश्रले यस्तो प्रतिक्रिया जनाएका हुन्। मंगलबार साँझ हिमालखबरसँग कुरा गर्दै मिश्रले भने, “४ मंसीरमा निर्वाचन सम्पन्न भयो, २० मंसीरमा मैले खर्च विवरण बुझाएँ।”
गत निर्वाचनमा मिश्र काठमाडौं–१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिए। आफूले काठमाडौं क्षेत्र नम्बर १ निर्वाचन कार्यालयमा विवरण बुझाएको उनले बताए। मिश्रले भने, “मैले तोकिएको निर्वाचन कार्यालयमा खर्च विवरण तोकिएकै मितिभित्र बुझाइसकेको छु।”
काठमाडौं–१ बाट मिश्रभन्दा १२५ मत बढी ल्याएर नेपाली कांग्रेस नेता प्रकाशमान सिंह निर्वाचित भएका थिए। सिंहले सात हजार १४३ र मिश्रले सात हजार १८ मत प्राप्त गरेका थिए।
निर्वाचन आयोगले निर्धारित मितिमा खर्च विवरण सार्वजनिक नगरेको भन्दै बहालावाला तीन मन्त्री सहित प्रतिनिधि सभातर्फ एक हजार ३७ जना र प्रदेश सभातर्फ एक हजार ३९८ जना उम्मेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।
Source: हिमालबखर