गगनलाई रवीन्द्र मिश्रको खुलापत्र– तपाईं प्रधानमन्त्री भए पनि देश रूपान्तरण गर्न सक्नुहुन्न
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता रवीन्द्र मिश्रले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री भए पनि केही गर्न नसक्ने टिप्पणी गरेका छन् । बिहीवार खुलापत्र लेख्दै मिश्रले पार्टीको महामन्त्री हुँदा नै औचित्य पुष्टि गर्नुपर्ने अवस्थामा रहेका थापाले प्रधानमन्त्री भए पनि केही गर्न नसक्ने टिप्पणी गरेका हुन् ।
थापाले दिएको ‘विचारभन्दा माथि देश होइन’ भन्ने भनाइको प्रतिवाद गर्दै मिश्रले यस्तो टिप्पणी गरेका हुन् । ‘कांग्रेस यस्तो अवस्थामा पुगिसक्यो, हेरिराख्नोस्, तपाईं नै प्रधानमन्त्री हुनुभयो भने पनि, तपाईंले फाट्टफुट्ट केही राम्रा कामबाहेक समग्र देश रूपान्तरणको कार्य गर्नै सक्नुहुन्न। त्यतिबेला ‘म देशको प्रधानमन्त्री भएँ’ भन्ने भावनालाई नै तपाईंले जीवनको सबैभन्दा ठूलो उपलब्धिका रूपमा हेर्नु पर्ने अवस्था आउने छ,’ मिश्रले भनेका छन्, ‘प्रधानमन्त्री हुनु राजनीतिक जीवनको उत्कर्ष हो । त्यो आफैँमा उपलब्धि होइन। त्यसपछि तपाईंले यो, यो कारणले मैले केही गर्न सकिनँ भनेर अन्तर्वार्ता दिँदै हिँड्नु पर्नेछ, जसरी अहिले महामन्त्री भए पनि मैले यो, यो कारणले केही गर्न सकिनँ भन्दै औचित्य दर्शाउनु पर्ने स्थिति छ ।’ थापाले आदिवासी दिवसको सन्दर्भमा बोल्ने क्रममा ‘विचारभन्दा माथि देश’ मान्ने पार्टी कांग्रेस भनेकोप्रति मिश्रले आफ्नो विमति रहेको बताएका थिए । ‘विचार व्यक्तिको हुन्छ । व्यक्ति एकल हुन्छ। विचार पार्टीको हुन्छ । पार्टी समूहको हुन्छ। देश सबै जनताको हुन्छ, जसभित्र व्यक्ति र पार्टी दुवैको विचार अटाउनु पर्छ। अनि देशभन्दा माथि विचार कसरी हुन्छ ? देशभन्दा ठूलो सिद्धान्त कसरी हुन्छ ?’ मिश्रले प्रश्न गरेका छन्, ‘के कांग्रेसले विचार प्रधान भएकै कारण सरकारी वेतनधारीको भातृ संगठन चलाएको हो ? जसले विद्यालय, विश्वविद्यालय, कर्मचारीतन्त्रदेखि सबै संस्थालाई ध्वस्त–ध्वस्त बनाइसकेको छ ? समाजका पत्र–पत्रलाई पतित बनाइसकेको छ ।’
जानी जानी गणतन्त्रको नाममा कांग्रेसलाई प्रचण्डीकरण दिशामा लगेको आरोपसमेत मिश्रले लगाएका छन् । ‘जहाँबाट तपाईं लगायतका कतिपय कांग्रेसी नेताले जानी-नजानी देशभन्दा विचारलाई प्रधान बनाएर गणतन्त्रको नाममा कांग्रेसलाई ‘प्रचण्डीकरण’को दिशामा लैजानुभयो, त्यही बिन्दूबाट कांग्रेस र देश दुवको अधोगति तीव्र भयो,’ मिश्रले भनेका छन् ।
मिश्रले के कांग्रेसले विचार प्रधान भएकै कारण सांसदहरूले नीतिगत भ्रष्टाचारको एउटा ज्वलन्त नमूना ‘सांसद विकास कोष’ लिएको हो भन्दै प्रश्न पनि उठाएका छन् । विचारभन्दा माथि देशलाई राख्न पनि उनले थापालाई आग्रह गरेका छन् । ‘तपाईं चार पटक सांसद, एक पटक मन्त्री र पार्टीको महामन्त्री भएको मान्छे, तपाईंले विचारभन्दा माथि देशलाई राखिदिनुभयो र कांग्रेसलाई बीपीको मार्गमा फर्काउने चेष्टा गर्नुभयो भने, यो देश र कांग्रेस पार्टीका लागि त्यो भन्दा ठूलो देन अर्को हुने छैन। तपाईं ‘राजनीतिकर्मी’बाट ‘राजनेता’ बन्नु हुनेछ ! राजनेता बन्ने कि राजनीतिकर्मी बन्ने आफैँ निर्क्यौल गर्नुहोला’ मिश्रले भनेका छन्, ‘मेरा टिप्पणी र सुझावलाई तपाईं चुनाव हार्ने नेताको ठूला कुरा भनेर पनि लिन सक्नुहुन्छ। अथवा, चुनाव हारे पनि यसका कुरामा दम छ भनेर पनि सोच्न सक्नुहुन्छ। बाँकी तपाईंको निर्णय।’
Source: लोकान्तर