Skip links

राजेन्द्र लिङ्देनलाई रवीन्द्र मिश्रको जवाफ : हो त मैले राप्रपा बुझेको छैन (भिडिओ)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको अन्तर्वार्ताको एउटा भिडिओ क्लिप्स यतिबेला सामाजिक सञ्जालमा भाइरल छ।

त्यसमा उनले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले ‘हिजोअस्ति मात्र आएका हुनाले राप्रपा बुझ्न बाँकी नै रहेको’ टिप्पणी गरेका छन्।

एभिन्युज टेलिभिजनको ‘सिधा प्रश्न’मा पत्रकार राजु थापालाई अन्तर्वार्ता दिँदै अध्यक्ष लिङ्देनले भनेका छन्, ‘रवीन्द्र मिश्रजीले राप्रपा नै के बुझेको छ भनेको? उहाँ हिजोअस्ति आउनुभएको। उहाँले राप्रपा के बुझ्नु भएको छ? उहाँले राप्रपा बुझ्नै बाँकी छ। भर्खर आउनुभएको छ। एक, डेढ वर्ष हुँदै छ।’

यसैबीच राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले पनि अध्यक्ष लिङ्देनको उक्त टिप्पणीको जवाफस्वरूप सामाजिक सञ्जालमा एउटा भिडिओ क्लिप्स राखेका छन्।

त्यसमा उनले व्य‌ग्यात्मक रुपमा ‘आफूले राप्रपा बुझ्न बाँकी नै रहेको’ स्वीकार गरेका छन्।

‘राप्रपामा ३० वर्ष, ३२ वर्ष काम गरेका वरिष्ठ नेताहरू हुनुहुन्छ,’ उनले भिडिओमा भनेका छन्, ‘म १५ महिना राप्रपामा जोडिएको मान्छेलाई उहाँ नयाँ हुनुहुन्छ, राप्रपा राम्रोसँग थाहा छैन भन्नु अत्यन्त स्वाभाविक हो।’

‘तर मैले देशभरि व्यापकरूपमा भ्रमण गरेको छु,’ उनले भनेका छन्, ‘राप्रपाका सामान्य सदस्य, स्थानीय नेताहरूदेखि लिएर वरिष्ठ नेताहरूले मलाई राप्रपा चिनाउने राप्रपा बुझाउने कुरामा प्रशस्त सहयोग गरिराख्नुभएको छ। अध्यक्षले सहयोग गर्नुभाछ। अन्य वरिष्ठ नेताहरुले सहयोग गर्नुभाछ। जिल्ला जिल्लाका नेताले कार्यकर्ताले सहयोग गर्नुभको छ, त्यसो हुनाले हो त मैले बुझेको छैन, मैले बुझेको छैन।’

‘मैले पत्रकारिता दुई दशक अध्ययन गर्दा राम्रोसँग पत्रकारिता बुझ्न सकेको थिइनँ,’ मिश्रले व्यंग्यात्मक शैलीमा भनेका छन्, ‘देवकोटालाई उधृत गर्ने हो भने पहिले बुझ्न कठिन, झन् बुझ्यो झन् कठिन झन् झन् बुझ्यो झन् झन् कठिन भनेर बुझाइ कहिले सकिँदैन भनेर कविता लेखेका छन्। मैले त्यत्रो अभ्यास गरेको पत्रकारिता बुझेको छैन भने अहिले भर्खर राजनीति सुरु गरेको ६ वर्ष भयो, राप्रपामा जोडिएको १५ महिना भयो, मैले नबुझ्नु स्वाभाविक हो, मलाई सबैले सहयोग गरिदिऊँ, म बुझ्न चाहन्छु। र, बुझेर म अगाडि बढ्न चाहन्छु।’

भिडिओ

Source: NEWS24 TV

Leave a comment

This website uses cookies to improve your web experience.