Skip links

रवीन्द्र मिश्रको चुनावी घरदैलो– मध्यबानेश्वरमा एक घण्टा पछ्याउँदा जे देखियो

Originally published on lokaantar | काठमाडौं मध्यबानेश्वरस्थित रत्नराज्य स्कूलनजिकैको भित्री सडकमा चुनावी घरदैलोको ब्यानरसहित राप्रपाका केही कार्यकर्ता भेला भएका थिए ।

केहीबेरमा रवीन्द्र मिश्र पनि आइपुगे । मिश्र राप्रपाबाट काठमाडौं– १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन् । त्यहाँ रहेका एकजनाले उनलाई शुभकामना दिँदै खादा पहिर्‍याइदिए ।

रवीन्द्रले तत्कालै त्यो खादा झिकेर उनैलाई लगाइदिए । ‘मेरो फेरि के बानी छ भने जसले मलाई माया गरेर खादा लगाइदिनुभयो, मैले पनि मायाले त्यो खादा उहाँलाई नै लगाइदिने गरेको छु,’ खदा पहिर्‍याउँदै रवीन्द्रले भने ।

पछिल्लो केही दिनयता यसैगरी रवीन्द्रको चुनावी घरदैलो चलिरहेको छ ।

त्यहाँबाट रवीन्द्रको टोली भेनस अस्पतालतर्फ अगाडि बढ्ने तयारी गर्दैथियो । ‘ट्राफिक (सवारी साधन)चाहिँ नरोक्नुस् है,’ रवीन्द्रले टोलीका सदस्यहरूलाई आग्रह गरे ।

टोली त्यहाँबाट भेनस अस्पताल पार गर्दै बाँयातर्फ रहेको ‘पशुपति कोलोनी’भित्र छिर्‍यो । ‘नमस्कार’ गर्दै रवीन्द्र कोलोनीभित्रका एक–एक घरमा पुगे ।

‘देश बिग्रियो । छोराछोरी कोही नबस्ने भए यो देशमा । अब तपाईंहामी मिलेर छोराछोरी बस्ने देश बनाऔं भन्न आएको हुँ,’ अलि पाका मानिस भेटिँदा उनी भन्थे ।

युवाहरूका अगाडि अलि फरक भाषाशैली थियो, ‘वृद्धवृद्धा मात्र बस्ने देश हुन लाग्यो । तपाईंहरूको पुस्ताका लागि यो देश बस्न योग्य बनाउनु छ । त्यसैले यसपटक हलोमा मतदान गर्नुस् है । अरूलाई पनि भन्नुहोस् है ।’

दोहोरो कुराकानी गरेका मतदातालाई उनी आफ्नो पुस्तक ‘विचारभन्दा माथि देश’ र पर्चा दिन्थे । अन्यलाई कार्यकर्ताहरूले पर्चा बाँडिरहेका थिए । घरघरमा पर्चा छाड्दै टोली अगाडि बढेको थियो ।

त्यहाँबाट फर्किएर प्रचार टोली भेनस अस्पतालको साइडबाट भित्रतर्फ छिर्‍यो । भीडमा रहेका रवीन्द्र टाढैबाट मतदाताहरूको नजरमा पर्थे ।

घरको छततिर रहेका मतदातालाई पनि उनी टाढैबाट नमस्कार गर्थे । उनको अनुहारसँग अधिकांश मतदाताहरू परिचित रहेको पाइयो ।

घरदैलोका क्रममा थुप्रैले उनीसँग तस्वीर समेत खिचाए, विशेषगरी युवाहरू । उनलाई देखेपछि कतिले मोटरसाइकल/कार रोकेर समेत कुराकानी गरेको देखियो ।

यत्तिकैमा रविन्द्रको भेट दुई महिलासँग भयो ।

उनीहरू नेपाली कांग्रेसनिकट रहेछन् । यद्यपि यसपटक भने रवीन्द्रलाई भोट दिने वाचा गरे । उनीहरूले तस्वीर र भिडियो भने नखिचिदिन पहिल्यै आग्रह गरेका थिए ।

भेटिएका अघिकांशले उनलाई मत दिने वाचा गरे ।

काठमाडौं महानगरका चारवटा (१०, ११, २९ र ३१) मिलेर बनेको यस क्षेत्रमा रवीन्द्रका अलावा नेपाली कांग्रेसका प्रकाशमान सिंह, प्रमुख प्रतिपक्षी दल एमालेका किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम र सुशासन पार्टीका रमेश खरेललगायत प्रतिस्पर्धामा छन् ।

अघिल्लोपटक कांग्रेसका प्रकाशमान सिंहसँग करीब ८ सय मतले पराजित भएका रवीन्द्रले यसपटक ८ हजार मतान्तरले चुनाव जित्ने दाबी गरे ।

‘यो पटक शानदार जीत हुन्छ भन्ने कुरामा हामीलाई शंकै छैन । देखिहाल्नु भयो, सबैले माहोल तपाईंकै छ भन्नुभएको छ । यो वडामा मात्रै होइन, चारवटै वडामा एकदमै राम्रो माहोल देखिएको छ,’ रवीन्द्रले लोकान्तरसँग भने, ‘कसैले षड्यन्त्र गरेछ भनेपनि त्यो षड्यन्त्र समेत चिरेर विजयी हुने विश्वास छ ।’

थप तस्वीर :

उनले थपे, ‘मैले अलि अगाडिदेखि भन्दै आएको छु, गएको चुनाव ८ सय मतको अन्तरले हारें । त्यो भनेको खास त ४ सय मत हो । तर, यो पटक ८ हजार मतको अन्तरले जित्छु । त्यही आत्मविश्वसका साथ हामी हिँडिरहेका छौं ।’

यस क्षेत्रमा विभिन्न किसिमका समस्या रहेको भन्दै उनले तिनलाई सम्बोधन गर्न पहल गर्ने बताए । ‘कसैले बाटोको कुरा गर्नुभएको छ । कसैले पानीको कुरा गर्नुभएको छ । कसैले बिजुलीको कुरा गर्ने गर्नुहुन्छ,’ मिश्रले भने, ‘त्यसभन्दा पनि बढी यो ठाउँमा सार्वजनिक जग्गाहरू छन् । यो ठाउँ भएर बहने नदी छ । ढलको व्यवस्थापनको कुरा छ । केटाकेटीहरू खेल्ने ठाउँ, वृद्धवृद्धाहरू टहलिने ठाउँका कुरा छन् ।’

मिश्रले थपे, ‘यी सबै विषयमा डिल गर्दा यहाँ आएर सामुदायिक भेटघाट र मिटिङहरू गर्छु । त्यो मिटिङबाट कुन आवाज मुखरित गर्नुपर्ने हो, संसदमा । र, कुन कुरामा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने हो, त्यो अनुसार काम गर्छु ।’

उनले जुन पार्टीमा भएपनि पार्टीभन्दा माथि उठेर आफूलाई मतदान गर्न आग्रह गरे ।

‘कुनचाहिँ उम्मेदवार राम्रो हो भनेर मूल्यांकनका आधारमा भोट गरिदिनुपर्‍यो । जुन देशमा हरेक नागरिकले राजनीति गर्छन्, त्यो देशको हालत हाम्रैजस्तो हुन्छ,’ मिश्रले भने, ‘थोरै नागरिकले राजनीति गर्ने र धेरै नागरिक स्वतन्त्र भैदिए भने गुणदोषका आधारमा राम्रो उम्मेदवारलाई नीति निर्माणको तहमा, कार्यकारी तहमा पुर्‍याउन सक्छन् । अब पार्टीभन्दा माथि उठेर सोचिदिऔं भन्ने मेरो आग्रह हो ।’

Leave a comment

This website uses cookies to improve your web experience.