Skip links

कांग्रेसप्रति आक्रोशित रवीन्द्र मिश्र : कांग्रेसमा धेरै विचलन आयो कि ममा ?

Originally published on lokaantar | विवेकशील साझा पार्टी छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका रवीन्द्र मिश्रले आफूलाई पश्चगामी र विचलित भएको भनेर आलोचना गरेको भन्दै कांग्रेसका नेता कार्यकर्ताप्रति आक्रोश व्यक्त गरेका छन् । ‘विचारभन्दा माथि देश’ भनेर दस्तावेज सार्वजनिक गर्दै राजतन्त्र र हिन्दू धर्मको वकालत गर्न थालेपछि मिश्रले पश्चगामी बाटो लिएको भनेर आलोचना भएको थियो ।

मिश्रले पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आफूमा भन्दा बढी विचलन कांग्रेसका नेता र कार्यकर्तामा आएको दाबी गरे । उनले भने, ‘नेपाली कांग्रेसका नेताहरूले ममा विचलन आएको भन्नुहुन्छ, २०४६ सालपछि कांग्रेसमा धेरै विचलन आयो कि म मा धेरै विचलन आयो ?’

नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध शुरू गर्दा कांग्रेसकै सरकार रहेको भन्दै मिश्रले लाउडा, धमिजाजस्ता विमान काण्ड पनि कांग्रेसकै पालामा भएको दाबी गरे । उनले भने, ‘माओवादीले २०५२ सालमा सशस्त्र युद्ध बुरू गर्दा कसको सरकार थियो ? लाउडा, धमिजाजस्ता विमान काण्ड हुँदा कसको सरकार थियो ?’ मिश्रले भने ।

कांग्रेसले बिर्सिएको आदर्श अहिले राप्रपाले बोकिरहेको उनले बताए । ‘कांग्रेसको आदर्श हामीले बोकेका छौँ, राष्ट्रिय मेलमिलापको नीति हामीले बोकेका छौँ’, मिश्रले भने ।

कांग्रेसले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई रुवाएर पार्टी छाड्न बाध्य बनाएपछि काग्रेस पश्चगामी हुन थालेको मिश्रले आरोप लगाए ।

विगतमा आफ्नै कार्यकर्तामाथि आक्रमण गर्ने नेकपा माओवादी केन्द्रसँग घाँटी जोडेको भन्दै उनले भने, ‘तपाईंहरूले कार्यकर्ताको घाँटी रेट्नेसँग बढी समय बिताइरहनुभएको छ कि जनतासँग ?’

चाडबाडको मुखमा जनता डेंगुबाट प्रभावित भएको तर, कांग्रेस सरकारको नेतृत्व गरेर पनि जनताको उपचारमा ध्यान दिन नसकेको उनले बताए ।

कतिपयले तराजु छाडेर हलो बोक्न लागेको भनेर व्यंग्य गरेको भन्दै मिश्रले ६० प्रतिशत जनताको प्रतिनिधित्व गर्ने कृषकको हलो बोक्न आफूलाई कुनै लाज नलाग्ने पनि बताए । उनले पार्टी प्रवेश गरेर पार्टीमा कुनै बखेडा नझिक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीमा आएर बखेडा झिकेर काम गर्दैनौँ । नेतालाई बलियो बनाएर हेर्नुपर्‍यो नि । नेतालाई सबैतिरबाट बल दिएर उठाएपछि मात्रै पार्टी बन्छ’, उनले भने ।

आगामी चुनावमा एमलोसँगको सहकार्यमा चुनाव लड्न लागेका मिश्रले एमाले नेता कार्यकर्ताप्रति भने कुनै टिप्पणी गरेनन् । चुनावमा कांग्रेससँग प्रतिष्पर्धा हुने भएपछि उनी कांग्रेसप्रति आक्रोशित देखिएका थिए ।

Leave a comment

This website uses cookies to improve your web experience.