कर तिर्ने लाइनमा भेटिएका रवीन्द्र मिश्र
Originally published on Nepalpress | काठमाडौं । ललितपुर महानगरपालिकाको पुल्चोकस्थित कार्यालय भवनमा मंगलबार दिउँसो एक परिचित अनुहार देखापरे । उनी थिए, विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र ।
प्राय राजनीतिक गतिविधिमै व्यस्त रहने चर्चित नेता ललितपुरका मेयरलाई ज्ञापनपत्र बुझाउन वा अन्य सार्वजनिक सरोकारका विषय लिएर महानगरमा धाएका थिएनन् । उनी विसुद्ध सेवाग्राहीका रुपमा त्यहाँ उपस्थित थिए । केही व्यक्तिको नमस्कार फर्काउँदै उनी सरासर कर तिर्ने लाइनमा खडा भए ।
ललितपुर महानगरपालिकामा अवस्थित भैंसेपाटीका स्थायी बासिन्दा हुन् मिश्र । भैंसेपाटीमा उनका दुईवटा घर छन् । एउटा घरलाई बहालमा लगाएका छन् भने अर्को घरमा आफू बस्छन् । राजनीतिमा लागेदेखि घरबाट आउने मासिक भाडा नै उनको आम्दानीको एकमात्र स्रोत हो । त्यही आम्दानीको वार्षिक कर तिर्न मिश्र महानगरपालिका धाएका थिए ।
काम सकिवरी निस्कने बेलामा उनले हामीसँग केहीबेर वार्तालाप गर्न भ्याए । अन्य राजनीतिज्ञहरुभन्दा फरकरुपमा पेश भएर उनले आफ्नो आम्दानी र खर्चबारे हामीसँग खुलस्त कुरा गरे । अनि, नेपालको कर प्रणाली र करदाताको मनोविज्ञानबारेमा पनि आफ्ना विचार राखे ।
हाम्रो पहिलो चासो थियो, आज कति कर तिरे उनले ?
मिश्रका अनुसार उनले आर्थिक वर्ष २०७७ को चैतदेखि २०७९ को असारसम्मको घरबहाल कर ४ लाख १६ हजार रुपैयाँ महानगरपालिकालाई आज भुक्तानी गरेका छन् । तीन दिनअगाडि उनले महानगर आएर सबै कागजी तयारी गरिसकेका थिए । त्यसैले आज कर तिर्न उनलाई धेरै झमेला भएन । आधा घन्टाभित्रै काम फत्ते गरेर निस्किए । महानगरपालिकामा कर तिर्नेको धेरै भिडभाड पनि थिएन ।
यद्यपि, उनलाई एउटा झमेला भने भयो ।
मिश्रले सुनाए– ‘मेरो पहिले घरभाडा अलि बढी थियो । अहिले कम आएपछि यसमा प्रश्न उठ्यो । अनि, कोरोनाको बेला बीचमा घर खाली पनि भयो दुई वर्ष । बीचको चाहिँ लुकाएको हो कि क्या हो भन्ने अर्को प्रश्न सामना गर्नुपर्यो । त्यसैले वडा कार्यालयमा गएर त्यो अवधिमा घर खाली थियो भन्ने पत्र लिएर अनि महानगर जानुपर्यो ।’
मिश्रले भाडामा लगाएको घर अढाइ तल्लाको मात्र हो । तर, ठूलो क्षेत्रफल (करिब २ रोपनी) मा फैलिएको छ । नेवारी वास्तुकलामा आधारित भएर निर्माणगरिएको सो आफूले मासिक ३ लाख १० हजार रुपैयाँ भाडा लिइरहेको उनले जानकारी दिए ।
मासिक ७ लाख रुपैया आउने बीबीसीको जागीर छोडेर मिश्र राजनीतिमा होमिएका हुन् । राजनीतिलाई नै कमाई खाने भाँडो बनाउनु हुँदैन भन्ने मान्यता राख्ने उनले सुरुमै आफ्नो नियमित आम्दानी सुनिश्चित गर्नकै लागि जीवनभरको कमाई घरमा लगाएका थिए ।
एउटा घर उनले कोलोनीभित्र सन् २०१४ सालमा खरिद गरेका हुन् । एक करोड ६२ लाखमा उनले यो घर किनेका थिए । अर्को घर २०१६ मा आफैंले निर्माण गरेका हुन् । चार वर्ष लगाएर उनले यो घरको निर्माण पूरा गरेका थिए । दुईवटा घरको जोहो गर्ने क्रममा मिश्रले लण्डनमा भएको घर, भैंसेपाटीमा रहेको जग्गा र बौद्धस्थित पैत्रिक सम्पत्तिको वेचविखन गरेका थिए भने त्यसमा केही ऋण थपेका थिए । अहिले कोलोनीभित्रको घरमा आफू बस्छन् र अर्को घर बहालमा दिएका छन् । सन् २०१७ बाट उनले सो घर भाडामा लगाएका हुन् ।
मिश्रका अनुसार घरबाट उठ्ने भाडाले उनको मासिक खर्च टुपुक्क पुगिरहेको छ । उनी छोराछोरीको पढाइमा मासिक एक लाख रुपैयाँ खर्चिन्छन् । थप एक लाख रुपैयाँ घर बनाउँदा बैंकबाट लिएको ऋण र अन्य स्रोतबाट लिएको ऋणको मासिक किस्ता तिर्न खर्च हुन्छ । बाँकी १ लाख १० हजारबाट उनले घर चलाउनुपर्छ । राजनीतिकर्मी भएकाले सामान्यभन्दा बढी खर्च भइहाल्छ । कर तिर्ने पनि यही पैसाबाट हो ।
नेपालमा कोरोना सुरु भएपछि उनको घर झण्डै दुई वर्ष खाली भयो । एक मात्रै आयस्रोत बन्द भएपछि त्यस अवधिमा आफूलाई चरम आर्थिक संकट परेको मिश्रले सुनाए ।
‘पहिले एउटा विदेशी परिवार बस्थ्यो । उनीहरुको फ्रान्समा सरुवा भयो । त्यसपछि कोरोना पनि सुरु भयो र घर भाडामा लागेन । करिब दुई वर्षसम्म घर खाली हुँदा मैले साथीभाइसँग केही लाख रकम ऋण र सापटी लिएर जेनतेन चलाएँ,’ उनले भने ।
काठमाडौंमा अधिकांस घरधनीहरुले घरबहाल तिर्दैनन् भन्न ओपन सेक्रेटजस्तै छ । जसले तिर्छन् उनीहरुमध्ये पनि अधिकांसले उठाउने भाडा र महानगरमा पेश गर्ने भाडादर फरक हुने गर्छ । कर न्यूनिकरणका लागि घरधनीले भाडामा बस्नेसँग वास्तविकभन्दा कम दरमा कागज गरेका हुन्छन् ।
घर भाडा उठाइसकेपछि त्यसवापतको कर तिर्न घरधनीले हिच्किचाउन नहुने बताउँछन् मिश्र ।
‘हामीले यदि राज्यबाट केही अपेक्षा राख्छौं भने राज्यका नीति–नियमहरुको पालनामा पनि उत्तरदायि हुनुपर्छ,’ उनले भने ।
तर, न्यून रकम आम्दानी हुनेहरुका लागि घरबहाल करमा छुट दिनुपर्ने उनको मत छ ।
‘नेपालमा दुई–चारवटा सटर भाडामा दिएर जीवन गुजारा गर्नेको संख्या ठूलो छ । कर छलि गर्नेमा चाहिँ ठूला–ठूला घर भाडामा दिएका धनाढ्यहरु बढी छन् । उनीहरुलाई कोही सोध्न पनि आउँदैन । मैले पनि आफैंले गएर कर नतिरेको भए कोही सोध्न आउँथेन । कतै समस्या पनि पर्थेन । तर, त्यसो भनेर मैले राज्यप्रतिको दायित्वबाट विमुख हुन मिल्दैन,’ उनले सुनाए ।
घरबहालमा कर नतिर्नेहरु भ्रष्टाचारविरोधि अभियानको अग्रपंतिमा देखिनु चाहिँ बिडम्बनाको विषय भएको मिश्र बताउँछन् ।
‘संसारभरिकै प्रचलन के हो भने आम्दानीमा कर तिर्नैपर्छ । म त पैत्रिक सम्पत्तिमा पनि कर लगाउनुपर्छ भन्ने पक्षमा छु । संसारका सुसंस्कृत देशमा पैत्रिक सम्पत्तिमा कर लाग्छ । राज्यलाई कल्याणकारी बनाउने हो भनेनेपालमा पनि लगाउनुपर्छ,’ उनले भने ।
तर, जनताले राज्यलाई नियमित कर तिरिरहँदा राज्यबाट चाहिँ के पाएका छन् त ? यो प्रश्न पनि उत्तिकै विचारणीय छ ।
मिश्र भन्छन्, ‘यो बहुतै गम्भीर प्रश्न हो । वास्तवमा यो सम्झियो भने त देशमा कसैलाई पनि कर तिर्न मन लाग्दैन ।’
उनले थपे, ‘मेरो लागि पनि ४ लाख १६ हजार रुपैयाँ भनेको धेरै ठूलो पैसा हो । तर, मजस्ता कर तिर्नेहरुको पैसाबाट यहाँको जनताको जिवन सुधार्छु भन्ने राजनीतिज्ञहरुको जीवन कसरी रुपान्तरण भयो र जनताको जीवन कसरी ओरालो लाग्यो भन्ने पक्ष खोज्न थाल्यो भने त कोही पनि कर तिर्न उत्साहित हँुदैन । जनतालाई मेरो पछाडि अरु कोही नभए पनि राज्य छ भन्ने महसुस गराउने हो भने उनीहरु स्वतः कर तिर्न उत्प्रेरित हुन्छन् । तर, नेपालमा त्यो अवस्था छैन ।’
सरकारको ध्याउन्न राजश्व जसरी पनि बढाउनेमा छ । राजश्वका दर र दायराहरु बढाउने उपायको खोजीमा हुन्छन् सरकारी अधिकारी । तर, मिश्रको भनाइमा करको दर वा दायरा बढाएर जनतालाई निचोर्ने भन्दा देशमा व्याप्त भ्रष्टाचारलाई निर्मुल गर्ने हो भने स्वतः सरकारको राजश्व वृद्धि हुन्छ ।
धेरै नेपालीहरु यस्ता छन् जो अरु व्यवसायको रिस्क लिनुको साटो आफूले कमाएको पैसा घरमा लगानी गर्छन् र मासिक भाडा उठाएर आफ्नो जीवनयापन गर्ने गर्छन् । यस्तो अनुत्पादक लगानीले देशको अर्थतन्त्रमा टेवा नपुग्ने मिश्रको पनि स्वीकारोक्ति छ ।
‘पक्कै पनि यो ठीक होइन,’ उनले उदाहरण दिँदै भने, ‘नेपालको मारवाडी समुदायमा एउटा भनाइ चर्चित छ– अरु नेपालीहरु अलिकति पैसा भयो भने जोडजाड गरेर घर बनाउँछन् र त्यसमा बसेर ढुक्कसँग निदाउँछन् । मारवाडी समूदायका मानिसहरु चाहिँ धेरै पैसा हुँदा पनि घर बनाउँदैनन्, बरु भाडाको घरमा बस्छन् र पैसा चाहिँ व्यापारमा लगानी गर्छन् । घरमा पैसा लगाउनु देशको अर्थतन्त्रको हिसाबले अनुत्पादक नै हो । तर, मेरो हकमा चाहिँ भएको जागीर छोडिहालेँ । पूर्णकालीन राजनीति गरिरहेको हुँदा अरु व्यवसायमा जाने गुञ्जायस छैन । त्यसैले यो विकल्प रोजज्न वाध्य भएको हुँ ।’
घरबहालकै सन्दर्भका कुरा गर्दा घरबेटी र भाडावालबीचको सम्बन्ध पनि चर्चायोग्य पक्ष हो । घेरबेटीसँग भाडावालका र भाडावालसँग घरबेटीका धेरै गुनासो हुने गर्छन् । घरबेटीले मनलाग्दी भाडा बढाउनेदेखि पानी पर्याप्त नदिने सम्मका गुनासो भाडावालका हुन्छन् । अनि भाडावालले घरको राम्रो हिफाजत नगर्ने समयमा घरभाडा नतिर्ने गुनासो घरधनीका । मिश्र चाहिँ यी दुवै तनावमा छैनन् ।
‘अहिलेसम्म न मैले भाडामा बस्नेहरुबाट कुनै हैरानी पाएको छु, न मैले उनीहरुलाई कुनै गुनासोको मौका दिएको छु,’ उनले भने ।
उनले थपे, ‘म बेलायतमा पनि लामो समय घरभाडा लिएर बसेँ । घरबेटी असल भइदिएन भने कति गाह्रो हुन्छ भन्ने मलाई राम्रोसँग थाहा छ । घरबेटीले यो मेरो घरमा बसेको छ र जतिबेलासम्म मेरो घरमा बस्छ, मेरो राम्रो सम्वन्ध हुनुपर्छ भन्ने भावना राख्नुपर्छ । भाडावालमा पनि यो मेरो भाडाको घर हो र जे गरे पनि हुन्छ भन्ने नसोचि आफ्नो घरजसरी त्यसलाई माया गर्नुपर्छ । त्यसो भयो भने दुवै पक्ष गुनासो हुँदैन ।’