रवीन्द्र मिश्रको ‘राजनीतिसँगै राजकाज’ सार्वजनिक
Originally Published on ekantipur.com | काठमाडौँ — रवीन्द्र मिश्रको ‘राजनीतिसँगै राजकाज’ पुस्तक सार्वजनिक भएको छ । विवेकशील साझा पार्टीका अध्यक्ष रहेका मिश्रको पुस्तक शनिबार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णीम वाग्लेले विमोचन गरेका हुन् ।
मिश्रले पुस्तकमा नेपालको राजनीतिको उठान, अभ्यास र वर्तमान अवस्थालाई केलाएको बताएका थिए । उनले नेपाली राजनीतिको दूरगामी लक्ष्य र वर्तमान अभ्यासमा विरोधाभाष रहेको टिप्पणी गरेका थिए । पुस्तकले विवेकशील साझा पार्टीले भन्दै आएको कल्याणकारी लोकतन्त्रको रूपमा पनि अर्थ्याएका छन् ।
भट्टराईले मिश्रको पुस्तकमा कल्याणकारी लोकतन्त्रको अवधारणा नेपालजस्ता मुलुकका लागि उपयोगी रहेको बताएका थिए । उनले लोकतन्त्र प्राप्तिका लागि संघर्ष एवम् योगदान गरेकाहरूले दिगो नेतृत्व गरेर नेपाललाई समृद्धिको बाटोमा अघि लैजान सक्ने धारणा राखेका थिए । ‘नेपालको विकास गर्न एक/दुई विद्वान्ले यसो गरौं र उसो गरौं भनेर दिएको सुझावभन्दा पनि यहाँको वास्तविक धरातल बुझेर, यहीँका मानिसलाई सहभागी गराएर, लोकतन्त्रदेखि गणतन्त्रसम्मको आन्दोलनमा सहभागी सबै वर्ग, क्षेत्र अनि जातजातिका व्यक्तिको सहभागिता आवश्यक छ,’ उनले भने, ‘यसो हुन सक्यो भने मात्र देशको सर्वाङ्गीण विकास हुन सक्छ ।’
मिश्रको पुस्तक नेपालका लागि उदार कल्याणकारी राज्य, गतिशील निजी क्षेत्र र समतामूलक समृद्धिबीचको अकाट्य सम्बन्धको गहकिलो अर्थ–राजनीतिक दस्तावेज रहेको वाग्लेको टिप्पणी थियो ।
लेखक मिश्रले भने नेपालमा राजनीति गर्नेको संख्या ठूलो भए पनि राजकाजका सन्दर्भमा सबै चुकेको धारणा राखे । नेपालका नेताहरूमा दूरदृष्टि र विकासचेत नभएसम्म मुलुक विकसित हुन नसक्ने उनको भनाइ थियो । ‘हामीले राजनीति धेरै गर्यौं । तर राजकाजमा सधैं चुक्यौं,’ उनले भने, ‘अहिलेको नेतृत्व इमानदार, क्षमतावान् र दूरदृष्टिपूर्ण विचार राख्ने नभएसम्म देशको विकास हुन सक्दैन ।’
मिश्रको पुस्तकमा नेपालको शिक्षा, स्वास्थ्य, परराष्ट्र, अर्थतन्त्र, सुशासन, नेतृत्व, राजनीति, राजकाज र समाजका विविध आयाममाथि विश्लेषण गरिएको छ । उक्त पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो ।