गरेरै छोड्ने होः रवीन्द्र मिश्र
Originally Published on www.himalkhabar.com | विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
निर्वाचनमा ८१९ मतले पराजित मिश्रले अन्तिम परिणाम प्राप्त भए लगत्तै सिंहलाई बधाई दिंदै जारी गरेको विज्ञप्तिमा आफूलाई मत दिने सम्पूर्ण मतदाता, समर्थक र शुभेच्छुकप्रति हार्दिक आभार प्रकट गरेका छन् ।
“विवेकशील साझा पार्टी निर्माणको प्रक्रिया सुरु भएको ४ महिनामैं विना सङ्गठन उमेदवारी दिँदा पनि म लगायत हाम्रो पार्टीलाई भरपर्दो विकल्पका रूपमा हेरिएको तथ्यलाई मैले अत्यन्तै उत्साहजनकरूपमा लिएको छु,” विज्ञप्तिमा उल्लेख छ ।
समानुपातिकतर्फ विवेकशील साझाले सोचेभन्दा बढी मत हासिल गर्ने अपेक्षा राखेका मिश्रले नेपालको राजनीतिक इतिहासमा छोटो समयमा कुनै पनि पार्टी यसरी राजनीतिमा नउदाएको भन्दै देशभरी अभिव्यक्त सदभावलाई संगठनमा बदलेर अर्को चुनावपश्चात् यो देशको नेतृत्व गर्नका लागि आफुहरूलाई तयार पार्नु आफ्नो चुनौति रहेको उल्लेख गरेका छन् ।
उनले भनेका छन् “यो देश बनाएरै छोड्ने हाम्रो अठोटमा भविष्यमा पनि सबैको साथ र समर्थन रहने छ भन्नेमा हामी विश्वस्त छौँ। गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो ।”