हाम्राे प्रेम टिक्न सकेन, तर, एक–अर्काबाट धेरै सिक्ने माैका पायाैँ
Originally Published on farakdhar.com
छुट्टिएका मित्रहरूलाई प्रेमपत्र
‘देश बनाउन देशभन्दा ठूलो मुटु चाहिन्छ’
हामीबीच राजनीतिक प्रेम विवाह भएको थियो । तर, हामीले अरूले गरिदिएको बखानको भरमा प्रभावित भएर एक–अर्कालाई राम्ररी नचिनिकनै विवाह गरेछौँ । विवाह लामो समय टिक्न सकेन । तर, यो बीचमा हामीले एक–अर्काबाट धेरै सिक्यौँ ।
खासगरी गत आमनिर्वाचनपछिको एक वर्षमा पार्टीको केन्द्रीय समितिमा विद्यमान ‘अत्यन्तै प्रतिकूलता’का बीच पनि हामीले ठूलै उपलब्धि हासिल गर्यौं । आफूलाई राष्ट्रिय राजनीतिको केन्द्रमा लेरायौं । सञ्चार माध्यमका कयौँ बहसहरू हाम्रो प्रतिनिधित्वविना अपुरो देखिन थाले । राजनीतिक बहसहरूमा अबको विकल्प हामी नै हौँ भन्ने निष्कर्षहरू निकालिन थाले । देशभरि संगठनहरू विस्तार हुन थाले ।
हामीले ‘कल्याणकारी लोकतन्त्र’को दर्शनलाई आमसर्वसाधारणसम्म पुर्यायौँ, शिक्षा र स्वास्थ मूलरूपमा राज्यको दायित्व हो भन्ने धारणालाई स्थापित गर्यौं। सुसंस्कृत र मूल्यमान्यतायुक्त पार्टी नबनी देश बन्दैन भन्ने विश्वास जगायौँ । आमसर्वसाधारणले हामीलाई पत्याए र साथ पनि दिए ।
तर, लक्ष्यमा समानता भएर मात्र नपुग्ने रहेछ। लक्ष्यमा पुग्ने विचार र व्यवहारमा पनि समानता चाहिने रहेछ । दूर्भाग्यवश, लक्ष्य प्राप्त गर्ने हाम्रा वैचारिक चक्र र व्यवहारमा यति धेरै अन्तर रहेछन् कि हामीले जतिसुकै प्रयास गर्दा पनि ती एकबद्ध हुने सम्भावनै रहेनछ । त्यसैले तपाईंहरू अनायासै घर छाडेर जानुभयो ।
सामाजिक रूपमा असल र भद्र देखिने हामीहरू समेत गलत निर्देशकहरुका कारण राजनीतिक मञ्चमा फरक पात्र बन्न सक्दा रहेछौँ भन्ने अनुभूति भएको छ । हामी छुट्टिएको देखेर यहाँ रमाउनेहरु धेरै छन् । मन दुखाउनेहरु अझ धेरै छन् । हामी सबैलाई थाहा छ, हामीबीच अभियानकेन्द्रित समूह मात्र बन्ने कि राष्ट्रिय राजनीतिमा सुसंस्कृत नेतृत्वदायी भूमिका निर्वाह गरेर देश रूपान्तरण गर्ने पार्टी बनाउने भन्नेमा मतभेद थियो । त्यो मतभेद छलफलबाट टुंगिन नसकिने तहको थिएन । तर, तपाईंहरू जानुभयो र गएदेखि नै आरोपैआरोप लगाउनुभयो ।
मलाई ती पीडादायी आरोपहरूको भन्दा पनि हाम्रो सामूहिक लक्ष्य र त्यसमा पुग्न सक्ने आघातका बारे चिन्ता छ । हाम्रै जीवनकालमा यो देशको रूपान्तरण नहेरी मर्नुपर्ला भन्ने चिन्ता छ । पुस ३० गतेका लागि तय गरिएको हाम्रो भेटमा आत्मै पखालेर मनका पीडा पोखुँला भन्ने र दिनदहाडै व्यक्तिगत रूपमा मेरो र संगठनात्मकरूपमा पार्टीको ढाडमा हानिएको छुरीले पारेको घाउमा मल्हम लगाउँला भन्ने सोच थियो । तर, अलि ढिलोसम्म पर्खिएछु, तपाईंहरू थाहै नदिइ हिँडिहाल्नुभयो ।
अब एकपल्ट भेटेर प्रेम र भ्रमका कुरा गर्ने मन छ । लक्ष्य बोकेर मात्र नहुने रहेछ, लक्ष्यमा पुग्ने शैली र चरित्रका बारे गफ गर्ने मन छ । जीवन धेरै बाँकी छ, यात्रा लामो छ । तर, देश रूपान्तरणको गन्तव्य भने मैले बदलिँदो परिवेशका कारण झन्, झन् छोटो देख्न थालेको छु । त्यो नजिकै देखिन थालेको गन्तव्यलाई म बिगार्ने पक्षमा छैन । सिंगो देश बनाउन सानो मुटु लिएर हुन्न । देश बनाउन देशभन्दा ठूलो मुट चाहिन्छ । सँगसँगै इमानदारी, क्षमता, समूहमा काम गर्ने ढंग पनि चाहिन्छ। धेरै कुरा चाहिन्छ।
दुःख छ, तर कुनै आग्रह, पूर्वाग्रह, ईर्ष्या, द्वेष छैन। कहिल्यै नआओस् पनि । दुःखहरूचाहिँ कहिलेकाहीँ अभिव्यक्त हुनेछन् । त्यसमा अन्यथा नसम्झिदिनुहोला। तपाईंहरूले हालैका दिनहरुमा व्यक्त गरेका दुःखलाई पनि मैले अन्यथा लिएको छैन।
छिटै बसेर चिया खाउँला । मिलेमा लामो समयदेखि जाने भनेर नगएको ओम आध्या रिसोर्ट जाउँला । के थाहा पुनर्मिलन भई पो हाल्छ कि ! घाम भर्खर उदाएको अवस्था हो, बादल लाग्दैमा त्यसलाई अस्ताएको भन्न मिल्दैन । अन्यथा, हामीमा समयले लेराउने सुझबुझसँगै बाटो फेरि एकै ठाउँमा मिसिएछ भने सँगै यात्रा गरूँला । तपाईंहरूलाई नयाँ यात्राका लागि धेरैधेरै शुभकामना ! सबैको जय होस्, नेपालको जय होस् !
रवीन्द्र मिश्र
संयोजक, विवेकशील साझा पार्टी
(रवीन्द्र मिश्रकाे फेसबुकबाट)