Skip links

२० वर्षमा बिसौँ सरकार बदलिनु, तर नेपालीको अवस्था नबदलिनु दुःखद : रवीन्द्र मिश्र

Originally Published on farakdhar.com | विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो समय विकसित राजनीतिले देश नै लज्जित हुनुपर्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।

सोमबार पार्टीको सञ्चार तथा सूचना प्रविधि विभागको आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले अहिलेको राजनीति अत्यन्त निन्दनीय र लज्जास्पद भएको टिप्पणी गरे ।

अहिले भइरहेको गतिविधि देशको स्वाभिमानको हितविपरीत भएको पनि बताए । उनले भने, ‘अहिलेको स्थितिमा पनि राजनीति जुन किसिमबाट अघि बढिराखेको छ त्यो अत्यन्त निन्दनीय छ । त्यो अत्यन्त लज्जास्पद छ । यो देशको स्वाभिमानको हितविपरीत छ । यो राष्ट्रहित विपरीत छ ।’

संविधानले तय गरेअनुरुप सुसंस्कृत रुपमा देशको सरकार परिवर्तन हुनुपर्छ भन्नेमा आफ्नो पार्टी दृढ रहेको पनि बताए । तर, अहिले जे भइराखेको छ त्यो संविधानको विपरीत भइराखेको बताउँदै अध्यक्ष मिश्रले दलहरुले संविधानको सम्मान गर्न सक्नुपर्ने बताए । त्यसबाट मात्रै सुसंस्कृत राजनीति स्थापित गर्न सकिने पनि बताए ।

अध्यक्ष मिश्रले नेपालको राजनीति विगत ७० वर्षदेखि नै धरमराइरहेको टिप्पणीसमेत गरेका छन् । नेपालको लोकतन्त्रलाई संस्थागत गर्न ७० वर्षदेखि प्रयास भइरहे पनि अहिले पनि धरमराइरहेको स्थितिमा लोकतन्त्र रहेको बताए । उनले भने, ‘७० वर्षदेखि नेपालको राजनीतिमा निरन्तर देखिएको समस्या भनेको भ्रष्ट्राचार हो, असक्षमता हो, सुशासनको अभाव हो, दूरदर्शिताको अभाव हो ।’

उनले नेपालमा लोकतन्त्रलाई संस्थागत गर्नको लागि ७० वर्षदेखि प्रयास भइराखेको भन्दै अहिले पनि लोकतन्त्र धरमराएकै स्थिति भएको बताए । उनले भने, ‘यो नेपाली राजनीतिको बिडम्बना हो । नेपाल जस्तो देशमा यति लामो अवधिसम्म राजनीति बदलिनु, बारम्बार बदलिनु, २० वर्षमा बिसौँ सरकार बदलिनु, तर आम नेपालीको अवस्था नबदलिनु सबैभन्दा दुःखद पक्ष हो ।’

उनले आफ्नो दलले देशभरका नागरिकको सामाजिक जीवनको अधिकार, मर्यादाको अधिकार, शिक्षा स्वास्थ्यको अधिकार सुनिश्चित गर्न चाहेको पनि प्रस्ट पारे ।  यी विषय सुनिश्चित नहुँदासम्म नेपालको राजनीति अस्थिर रहने भन्दै उनले देशभित्रै रोजगारी सिर्जना गर्नु चुनौतीपूर्ण विषय बनेको बताए ।

वैदेशिक रोजगारीका लागि सम्झौता हुँदा हात मिलाएर खुसी मनाउने मन्त्री र राजनीतिक दलबाट देशभित्रै रोजगारी सिर्जना गर्ने कुराको कल्पना समेत गर्न नसकिने उनले बताए । उनले भने,  ‘रोजगारीको विषय यति महत्वपूर्ण छ । देशका नागरिकहरु बेच्नमा हामी गर्व गर्छौं । श्रम सम्झौता हुँदा हाँसीहाँसीकन मन्त्रीले हात मिलाएको फोटोहरु हामी सबैले देख्न पाउँछौँ । त्यो त लज्जाको विषय हो नि ! देशको श्रमशक्ति बेचेर अनि त्यसमा खुसी मनाउने होइन ।’

अर्थतन्त्रलाई उद्वेलित गर्न सक्षम र इमानदार व्यक्तिले मात्रै सक्ने र त्यसबाट मात्रै रोजगारी सिर्जना हुन सक्ने पनि अध्यक्ष मिश्रले बताए ।

This website uses cookies to improve your web experience.