मिश्र लेख्छन्- विदेशी हस्तक्षेपको खतरा आकलन गर्न ढिला भयो
Originally Published on nepallive.com | काठमाडाैं- विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले विदेशी हस्तक्षेपको खतरा आकलन गर्न ढिला भइसकेको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो भनाइ राखेका हुन्।
‘विश्व राजनीतिको केन्द्र दक्षिण/पूर्व एसिया बन्दै जाँदा नेपालको भूराजनीतिक अवस्थिति विदेशी शक्तिका लागि बढ्दो चासो बन्दै जानु स्वाभाविक हो। हाम्रो स्वाभिमानहीन नेतृत्व, भ्रष्टता, अविकास, अशिक्षा, विपन्नताले त्यो हस्तक्षेपलाई मलजल प्रदान गर्छ नै,’ उनले लेखेका छन्, ‘तर त्यसलाई सम्मानजनक र कूटनीतिक ढंगबाट सामना गर्न र सन्तुलनमा राख्नसक्ने संस्था र नेतृत्व हामीलाई चाहिन्छ कि चाहिँदैन? राजनीतिक संकट पर्नेबित्तिकै विदेशी दूतहरू नेताका घरघर र बालुवाटारका कोठाचोटामा प्रवेश गर्ने या निम्त्याइने प्रवृत्तिलाई रोक्ने कि नरोक्ने? कि त्यसबारे टिप्पणीमात्रै गरेर बस्ने?’
उनले थप लेखेका छन्,’अब पनि हामीले यो विषयमा संवेदनशील नहुने हो भने, हामी न राजनीतिक स्थिरता न आर्थिक विकास हासिल गर्न सक्छौँ। हामीलाई अन्तत्वगत्वा, लोकतन्त्रले नै मार्छ। सचेत बन्न ढिलो भइसक्यो। समय घड्किएपछि आएको चेतना केवल पश्चतापमा सीमित हुन्छ, त्यसको केही अर्थ हुँदैन।’