Skip links

रवीन्द्र मिश्र नेतृत्वको ध्रुवीकरण पक्षधर समूह राप्रपामा

Originally published on karobardaily | पत्रकारिता हुँदै लेखनबाट राजनीतिमा प्रवेश गरेका रवीन्द्र मिश्रले नेतृत्वको बृहत्तर ध्रुवीकरण पक्षधर समूह राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग एकताबद्ध भएको छ ।
राप्रपाले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मिश्र नेतृत्वको समूह वरिष्ठ उपाध्यक्ष लिएर एकताबद्ध भएको जानकारी गराइयो । कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमै उम्मेदवारी दिने गरी तयारी गरिएको जानकारी गराए ।
“देशमा भ्रष्टाचारका घटना बढेको छ, सबै राजनीतिक दलका नेताको सम्पत्ति छानबिन गरौँ, हाम्रा पार्टीका नेताबाट छानबिनको सुरुआत गरौँ, निर्वाचन पद्धति पनि भ्रष्टाचारको कारण बनेकाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, पूर्ण समानुपातिक पद्धतिबाट सांसद निर्वाचित हुने व्यवस्था गरौँ, संवैधानिक राजा राखौँ,” उनले भने ।
राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने उल्लेख गर्दै नेता लिङ्देनले सार्वजनिक शिक्षा र स्वास्थ्यलाई नि:शुल्क एवं गुणस्तरीय बनाउन पार्टी लागिपर्ने बताए । राजनीतिक दलका सदस्यरहित न्याय परिषद्को अवधारणलाई पनि राप्रपाले अघि बढाएको उनले सुनाए ।
वरिष्ठ उपाध्यक्ष मिश्रले देशका लागि काम नगर्नेले राजनीति छोड्नुपर्ने बताउँदै शान्ति, स्थिरता र स्वाधीनताका लागि आफूले राप्रपा रोजेको बताए । उनले भने, “वीपीको राष्ट्रिय एकता तथा मेलमिलापको नीति राप्रपाले बोकेको छ, वीपीको मेलमिलाप नीति आजको नेपालमा पनि उत्तिकै सान्दर्भिक छ, यी विचारलाई लिएर राप्रपालाई अझै सूचना प्रविधियुक्त दलका रुपमा हामी स्थापित गर्नेछौँ ।”
सार्वजनिक शिक्षा र स्वास्थ्यलाई नि:शुल्क एवं गुणस्तरीय बनाउने, सामाजिक सुरक्षा कायम गर्ने तथा ६० प्रतिशत नेपालीले अपनाएको कृषि पेसालाई आधुनिकीकरण गर्ने मुद्दालाई दलले घोषणा पत्रमार्फत लिएर चुनावमा जान लागेको नेता मिश्रले सुनाए । धर्मनिरपेक्षता धर्मान्तरणको माध्यम बनेकाले हिन्दू बौद्ध राष्ट्रको पक्षमा राप्रपा रहेको पनि उनले बताए ।
राप्रपाका पूर्वअध्यक्ष पशुपति शमशेर राणाले आफू मन्त्री भएका बेला गरिएको महाकाली सन्धिको कागजात दराजमा थन्क्याएकाले विकासका काममा अवरोध भएको बताउँदै कार्यान्वयनमा लाग्ने गरी अब मत पाउनुपर्ने बताए । पञ्चेश्वर र पश्चिम सेती आयोजना सम्पन्न गरी आयआर्जनमा उपयोग गरिने प्रतिबद्धता उनले जनाए ।
कार्यक्रममा बागमती प्रदेससभाका पूर्वसदस्य शोभा शाक्य, राप्रपा नेता बुद्धिमान तामाङलगायतले देशमा देखिएका विकृति, विसंगतिबाट मुक्तिका लागि आगामी निर्वाचनमा दल एकमात्र विकल्प बन्ने बताएका थिए ।

Leave a comment

This website uses cookies to improve your web experience.