Skip links

फेरि काठमाडौं १ मा चुनाव लड्ने रवीन्द्र मिश्रको तयारी, संवैधानिक राजसंस्था सहितका एजेन्डा

विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका रवीन्द्र मिश्र काठमाडौं क्षेत्र नम्बर १ मा चुनाव लड्ने तयारीमा छन्।

उनीनिकट स्रोतले दिएको जानकारीअनुसार मिश्र काठमाडौं १ मा संघीय निर्वाचन लड्ने तयारी गर्दैछन्।

‘उहाँले काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवारी दिनुहुन्छ,’ स्रोतले सेतोपाटीसँग भन्यो, ‘पार्टीबाट वा स्वतन्त्र रूपमा उम्मेदवार हुने भन्ने अहिले यकिन भइसकेको छैन।’

मिश्र २०७४ मा पनि काठमाडौं क्षेत्र नम्बर १ मा उठेका थिए। उनी त्यसबेला नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए।

सिंहले १० हजार नौ सय ३६ मत ल्याएका थिए भने मिश्रले १० हजार एक सय १८ मत ल्याएका थिए।

राजसंस्थासहित एजेन्डा:
मिश्रले ‘विचारभन्दा माथि देश’ पुस्तक ल्याउन लागेका छन्। उक्त पुस्तकमा मिश्रले राजसंस्थाका विषयबारे पनि केही कुरा उल्लेख गरेका छन्।

उनले केही समयअघि पार्टीमा ‘विचारभन्दा माथि देश’ विचार ल्याएका थिए। त्यसबेला पार्टीका नेता मिलन पाण्डेलगायतले विरोध गरेका थिए।

मिश्रले राजसंस्था, संघीयता खारेजी र हिन्दु-बौद्ध राष्ट्रको माग समेटेर त्यसलाई पुस्तकका रूपमा ढालेका छन्।

‘विचारभन्दा माथि देश’ पुस्तकमा मिश्रले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता जस्ता विषय सैद्धान्तिक रूपमा गलत नभए पनि दिनप्रतिदिन संवेदनशील हुँदै गएको नेपालको भूराजनीति र आन्तरिक परिस्थितिका कारण ती विषय नेपालको दूरगामी हितका लागि घातक भएको उल्लेख गरेका छन्।

उनले संवैधानिक राजसंस्था पुनःस्थापना र संघीयता खारेज गरी ‘हिन्दु–बौद्ध राष्ट्र’मा रूपान्तरण गर्नुपर्ने पनि बताएका छन्।

‘कुनै विषय सैद्धान्तिक रूपमा राम्रो भएर मात्र हुँदैन, त्यसले धरातलीय यथार्थसँग तादात्म्य राख्नुपर्छ,’ उनले भनेका छन्, ‘पृथ्वीनारायण शाहको ‘दिव्य उपदेश’ र बिपी कोइरालाको ‘राष्ट्रिय एकता र मेलमिलापको नीति’लाई समायोजित रूपमा अंगीकार गर्नुको विकल्प छैन।’

फाइनप्रिन्टले प्रकाशन गर्न लागेको पुस्तकबाट प्राप्त हुने सम्पूर्ण लेखकस्व (रोयल्टी) राजनीतिक शुद्धीकरणको अभियानमा जाने मिश्रले बताएका छन्।

यसैबीच मिश्रनिकट स्रोतका अनुसार मिश्रले राजसंस्थाका एजेन्डा अघि सारेपछि राप्रपासँग एजेन्डा मिलेको छ। ‘राप्रपासँग एजेन्डा मिले पनि राजेन्द्र लिङ्देन लगायतसँग ठोस छलफल भएको छैन,’ उक्त स्रोतले भन्यो।

Leave a comment

This website uses cookies to improve your web experience.