ईयूको प्रतिवेदनप्रति रवीन्द्र मिश्रको कडा टिप्पणी, ‘पश्चिमा राष्ट्र विष चुहाउँदै हिँडेका छन्’
Originally Published on annapurnapost.com | काठमाडौं : विवेकशील साझा पार्टीका संयोज रवीन्द्र मिश्रले युरोपियन (ईयू) को प्रतिवेदनप्रति कडा टिप्पणी गरेका छन्। उनले पश्चिमा राष्ट्र र अन्तराष्ट्रिय संगठनलाई विषका थोपा चुहाउँदै हिँड्नको संज्ञा दिँदै ईयूको प्रतिवेदनको विरोध गरेका हुन्।
मिश्रले ट्विटरमा पश्चिम राष्ट्र र अन्तराष्ट्रिय संगठनकै कारण कयौँ अफ्रिकी र एसियाली देशका समस्या अझ जटिल बन्दै गएको उल्लेख गरेका छन्।। उनले पश्चिमा देशले असल रुप देखाए पनि विषका थोपा चुहाउन खप्पिस भएको टिप्पणी गरेका हुन्।
‘विषका थोपा चुहाउँदै हिँड्नेहरू, पश्चिमा राष्ट्र र अन्तराष्ट्रिय संगठनहरू आफूलाई चेतनशील भन्नेले भरिएको छ। तर, तीमध्ये कति कयौं अफ्रिकी र एशियाली देशका समस्यालाई जटिल बनाउन जिम्मेवार छन्’, मिश्रले ट्विटरमा लेखेका छन्, ‘किनभने, ती असल देखिँदै विषका थोपा चुहाउन खप्पिस छन्। ईयूको प्रतिवेदन पनि त्यही नै हो।’
‘निर्वाचनको पर्यवेक्षण गर्न आएको युरोपियन युनियनको टोलीले जननिर्वाचित संविधानसभाबाट बनेको संविधानमाथि फुत्त यस्तो विषको थोपा चुहाइदियो जसले बेकारमा फेरि खाटा बस्न लागेको घाउलाई कोट्याइदिएको छ’, मिश्रले ट्विटमा थप लेखेका छन्, ‘हामी नेपाली पनि कम छैनौं। आफ्नो सोचाई अनुकूलको विदेशी टिप्पणी भए चुप बस्छौं, सोचाई विपरितको भए ‘विदेशी हष्तक्षेप’ भयो भन्दै आवाज उठाउँछौं।’