Skip links

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’

Originally Published on www.onlinekhabar.com | साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ? भनेर प्रश्न गरेका छन् ।

हालै ‘रअ’ प्रमुख सामन्त गोयल नेपाल आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फर्किएको सन्दर्भमा मिश्रले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग सो प्रश्न गरेका हुन् ।

प्रधानमन्त्री ओलीले गत बिहीबार राति ‘रअ’का प्रमुख कुमार गोयलसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई घण्टा भेटवार्ता गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले समेत प्रधानमन्त्री ओली र गोयलबीचको भेट कूटनीतिक मूल्य र आचारसंहिता विपरीत भएको बताएका छन् ।

मन्त्री ज्ञवालीले भारतीय गुप्तर प्रमुख गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिनिधिका रूपमा नेपाल आएको बताएका छन् । सोही सन्दर्भमा मिश्रले मन्त्री ज्ञवालीलाई ८ प्रश्न सामाजिक सन्जालमार्फत् सोधेका छन् ।

मिश्रको प्रश्न छ, ‘युद्धको अवस्थामा भए भिन्दै कुरा, तर अहिलको सामान्य अवस्थामा भारतीय प्रधानमन्त्रीले आफ्ना गुप्तचर प्रमुखलाई विशेष विमानद्वारा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाउनु नेपालका प्रधानमन्त्रीलाई, अलिअलिमात्र होइन, पूर्णरूपमा हेपेको हो कि होइन ? नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो कि होइन ?’

नेपालको स्वाभिमान यति तल्लो तहमा विरलै झरेको उल्लेख गर्दै मिश्रले भ्रष्टाचारमात्र होइन यो देशमा राष्ट्रघातलाई सहन गर्नेहरूको संख्या पनि बढ्दै गएको जनाएका छन् ।

मिश्रले फेसबुकमा लेखेका छन्, ‘सुसंस्कृत राजनीति भएको देशमा हो भने प्रधानमन्त्रीमाथि राष्ट्रिय सुरक्षामा खतरा पुर्याएको गम्भिर आरोपमा छानविन हुन सक्थ्यो । तर विडम्वनाको कुरा, भ्रष्टाचारमात्र होइन यो देशमा राष्ट्रघातलाई सहन गर्नेहरूको संख्या पनि बढ्दैछ ।’

 

मिश्रले मन्त्री ज्ञवालीसमक्ष राखेका ८ प्रश्न यस्ता छन्–

१. त्यसो हो भने त्यति हाइप्रोफाइल भ्रमणबारे पहिल्यै जानकारी किन नदिएको ?

२. युद्धको अवस्थामा भए भिन्दै कुरा, तर अहिलको सामान्य अवस्थामा भारतीय प्रधानमन्त्रीले आफ्ना गुप्तचर प्रमुखलाई विशेष विमानद्वारा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाउनु नेपालका प्रधानमन्त्रीलाई, अलिअलिमात्र होइन, पूर्णरूपमा हेपेको हो कि होइन ?

३. नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो कि होइन ?

४. नेपालका प्रधानमन्त्रीले नेपाली गुप्तचर निकायका प्रमुखलाई प्रतिनिधि बनाएर भारतीय प्रधानमन्त्रीलाई भेट्न पठाउँछु भनेर प्रस्ताव राखे भने, के भारतीय प्रधानमन्त्रीले भेट दिन्छन् ?

५. भारतीय प्रधानमन्त्रीको ‘प्रतिनिधि’ का रूपमा आएको हो भने दिल्लीस्थित नेपाली राजदूतावाससँग समन्वय भयो कि भएन ? परराष्ट्र मन्त्रालयसँग सम्मन्वय भयो कि भएन ?

६. भएको भए, नेपालको परराष्ट्र मन्त्रालयका प्रवक्ताले ‘हामीलाई गोयलको भ्रमणबारे जानकारी छैन’ किन भनेको ? अनि तपाईं अहिले प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा आएको भन्दै हुनुहुन्छ, त्यसो हो भने परराष्ट्र मन्त्रालयलाई किन जानकारी भएन ?

७. भेटघाटमा के परराष्ट्र मन्त्रालयका प्रतिनिधि थिए ?

८. यो देशमा प्रधानमन्त्री र परराष्ट्रमन्त्री छन् कि छैनन् ?

This website uses cookies to improve your web experience.