रवीन्द्र मिश्रले भने– विवेकशील साझा लोक कल्याणवादी
Originally Published on farakdhar.com | विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो पार्टी लोक कल्याणवादी भएको बताएका छन् ।
आफूहरुलाई तपाईंहरूको ‘वाद’ के हो ? भनेर बारम्बार सोधिने गरेको भन्दै उनले आफूहरु ‘कल्याणकारी लोकतन्त्र’को पक्ष्मा रहेको बताएका हुन् ।
सामाजिक सञ्जालमा मिश्रले लेखेका छन्– तपाईंका छोराछोरी राम्रो स्कल जाँदैनन् ? त्यसैले, हाम्रो वाद ‘शिक्षा–वाद’ हो । तपाईंका बुवाआमाले राम्रो उपचार पाउँदैनन् ? त्यसैले, हाम्रो वाद ‘स्वास्थ्य–वाद’ हो । तपाईंको धारामा स्वच्छ पानी आउँदैन ? त्यसैले, हाम्रो वाद ‘पानी–वाद’ हो । तपाईंको घरमा बिजुली आउँदैन ? त्यसैले, हाम्रो वाद ‘बिजुली–वाद’ हो ।
यी सबैलाई छोटकरीमा ‘लोक कल्याणवाद’ भनिने उल्लेख गर्दै मिश्रले लोककल्याणवादलाई लोकतन्त्रको जगमा उभ्याएपछि त्यसलाई ‘कल्याणकारी लोकतन्त्र’ भनिने स्पष्ट पारेका छन् ।
त्यही हासिल गर्न सबै प्रतिकूलताका बाबजुद आफूहरु हामी मुस्कुराएरै अघि बढिरहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘केवल तपाईंको साथको जरुरत छ ।’