Skip links

राजा आउनैपर्छ, अब मलाई हलो बोक्दा लाज छैन : रवीन्द्र मिश्र

Originally published on thahakhabar | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मुलुकमा राजसंस्था हुनैपर्ने अवस्था आएको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित राप्रपा र मिश्र नेतृत्वको वृहत्तर ध्रुवीकरण समूहबीचको एकता कार्यक्रममा बोल्दै उनले राष्ट्रपतिजस्तो संस्थाले समेत इमान्दारीपूर्वक काम गर्न नसकेकाले मुलुकमा राजसंस्था हुनैपर्ने बताएका हुन्।

उनले भने, ‘हामी कमजोर र भ्रष्ट सरकार र समाज लिएर बसेका छौं। जहाँ राष्ट्रपति संस्था, जुन राजनीतिक भन्दा माथि उठ्नुपर्ने हो। त्यो संस्थाले इमान्दारितापूर्वक काम गर्दैन। जहाँ प्रधानमन्त्रीको संस्थाले इमान्दारितापूर्वक काम गर्दैन। जहाँ प्रशासन र प्रहरीले इमान्दारितापूर्वक काम गर्दैन। जहाँ सबै स्वार्थ केन्द्रित छन्। जुन देश भूराजनीतिक रुपले संवेदनशील छ।’

राजनीतिभन्दा माथि उठ्नुपर्ने राष्ट्रपति संस्था इमान्दार नभएको, सरकार भ्रष्ट भएको भन्दै आपत्ति समेत जनाए। मुलुकले संघीयता धान्नै नसक्ने जिकिर गरे। राजनीतिक, आर्थिक, भौगोलिक कुनै पनि रुपमा मुलुकले संघीयता धान्नै नसक्ने मिश्रको तर्क छ।

धर्मको नाममा, जातको नाममा राजनीति हुन थालेपछि मुलुक झनै कमजोर हुँदै गएको उनले दाबी गरे।

‘कुनै पनि संस्थाले राम्रो काम गर्न नसक्ने ठाउँमा यदि कुनै पनि किसिमको द्वन्द्व भयो भने त्यसलाई कसले सम्हाल्ने? यदि राजनीति गर्ने हो भने एउटा स्पष्ट कुरा के हो भने यो देशकै निम्ति राजनीति गर्ने हो’ उनले भने, ‘देशको निम्ति राजनीति नहुँदा स्रोत, साधन सम्पन्न देशले दुःख पायो। समाज विकृत भयो देशकै निम्ति राजनीति गर्ने हो भने राजसंस्था हुनुपर्ने रहेछ भन्ने मलाई लाग्यो। संघीयता आर्थिक रुपमा मात्रै होइन, राजनीतिक रुपमा पनि धान्न सकिदैन। भौगोलिक रुपमा त झन् संघीयता धान्नै नसकिने गम्भीर विषय हो।’

आफूमा भन्दा बढी कांग्रेसमा विचलन आएको आरोप समेत उनले लगाए। उनले नाम र चुनाव चिह्नमा अल्झिएर केही नहुने भएकाले आफूले हलो बोक्ने निर्णय गरेको सुनाए।

Leave a comment

This website uses cookies to improve your web experience.