Skip links

नेपालमा ‘कन्जर्भेटिभ’ पार्टीको अभाव छः रवीन्द्र मिश्र

Originally published on himalkhabar |

विवेकशील साझा पार्टी अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले नेपालमा ‘मडरेट कन्जर्भेटिभ’ पार्टीको अभाव रहेको बताएका छन्।

मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, “देशलाई शिरमा राख्ने र नेपाली समाजको भावनालाई नेतृत्व गर्ने ‘मडरेट कन्जर्भेटिभ’ पार्टीको यो देशमा सख्त अभाव छ।”

नेपालमा उनले भने जस्तो पार्टी नभएको विज्ञप्तिमा उल्लेख छ। “जतिसुकै विकसित भए पनि हरेक देशमा अर्थ–राजनीतिक रूपमा ‘कल्याणकारी अजेन्डा’ बोकेका तर राजनीतिक–सामाजिक रूपमा ‘‘मडरेट कन्जर्भेटिभ स्पेस’ लाई सशक्त रूपमा प्रतिनिधित्व गर्ने पार्टी हुन्छ,” उनले भनेका छन्।

सञ्चार माध्यममा भनिए जस्तो आफू कुनै पनि पार्टीमा प्रवेश गर्न नलागेको उनको धारणा छ।

विज्ञप्तिको पूर्ण पाठः

प्रेस नोट:
मबारे प्रकाशित समाचारका सम्बन्धमा।
आज केही सञ्चार माध्यममा मबारे प्रकाशित समाचार झूट हुन्।
देशलाई शिरमा राख्ने र नेपाली समाजको भावनालाई नेतृत्व गर्ने ‘मडरेट कन्जर्भेटिभ’ पार्टीको यो देशमा सख्त अभाव छ। देशको एउटा प्रमुख पार्टीको ‘विकृत वामपन्थीकरण’ भएपछि नेपाली राजनीतिमा त्यो ‘स्पेस’ पूरै खाली छ।
जतिसुकै विकसित भए पनि हरेक देशमा अर्थ-राजनीतिक रूपमा ‘कल्याणकारी अजेन्डा’ बोकेका तर राजनीतिक-सामाजिक रूपमा ‘मडरेट कन्जर्भेटिभ स्पेस’ लाई सशक्त रूपमा प्रतिनिधित्व गर्ने पार्टी हुन्छ। नेपालमा अहिले त्यस्तो पार्टी छैन।
त्यसैले, समाज र राजनीतिलाई सन्तुलनमा राख्न र यो देशलाई बढ्दो भूराजनीतिक भुमरीबाट जोगाउन ‘राष्ट्रियता’ को जगमा एउटा रूपान्तरणकारी शक्ति निर्माणका लागि म पहिलेदेखि नै एकीकरण/ध्रुवीकरणको पक्षमा भएको मैले लुकाएको छैन।
म एक्लै कतै जोडिएर त्यो सम्‍भव छैन, तर सशक्त शक्ति निर्माण हुने किसिमको कुनै पनि सम्मिलन/एकीकरण/ध्रुवीकरणमा भने मेरो चासो कायमै रहनेछ।
अनुमान र एकपक्षीय रूपमा दिइएको सूचनाको भरमा समाचार प्रकाशित नगरिदिन विनम्र अनुरोध गर्दछु।

रवीन्द्र मिश्र
मिति: ०१ असार २०७९

Leave a comment

This website uses cookies to improve your web experience.