Skip links

‘विचारभन्दा माथि देश’ मतदातालाई निःशुल्क बाँड्न रवीन्द्र मिश्रलाई १५ लाखको ‘स्पोन्सर’

Originally published on Nepalpress | काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आफ्नो प्रकाशोन्मुख पुस्तक ‘विचारभन्दा माथि देश’ आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई बाँड्ने भएका छन् । उनलाई सो पुस्तक निःशुल्क वितरण गर्न उल्लेख्य ‘स्पोन्सर’ समेत प्राप्त भएको छ ।

हिन्दू–बौद्ध राष्ट्र र राजतन्त्रको पक्षमा खुल्दै मिश्रले लेखेको ‘विचारभन्दा माथि देश’ पुस्तक दुई सातापछि प्रकाशन हुँदैछ । उक्त किताब काठमाडौं–१ का घर-घरमा बाँड्ने लक्ष्य लिएको भन्दै उनले हिजो मात्रै फेसबुकमा केही किताब स्पोन्सर गरिदिन शुभेच्छुकलाई आह्वान गरेका थिए । त्यसको २४ घन्टाभित्रै एकै व्यक्तिले १ हजार प्रतिसम्म स्पोन्सरको प्रतिबद्धता जनाएको मिश्रले जानकारी दिए ।

हालसम्म उनलाई १५ लाख रुपैयाँ बराबरको स्पोन्सर भइसकेको छ । जसबाट उनले ५ हजार प्रति पुस्तक निःशुल्क वितरण गर्न सक्नेछन् । किताब प्रकाशनपूर्व नै यति ठूलो रकम स्पोन्सर भएको नेपाली साहित्य इतिहासमा नै नयाँ घटना हो ।

मिश्रले विवेकशील साझा पार्टीमा विचारभन्दा माथि देशको अवधारणा अघि बढाएपछि विवाद उत्पन्न भएको थियो । मार्ग परिवर्तन भन्दै त्यसवेला उनले संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह हुनुपर्ने अडान लिएका थिए । गत स्थानीय चुनावमा पार्टीले राम्रो नतिजा ल्याउन नसकेपछि उनले अध्यक्षबाट राजीनामा दिएका थिए । उनी हाल विवेकशील साझाको साधारण सदस्यको हैसियतमा छन् ।

मिश्रले काठमाडौं १ बाट दोस्रोपटक प्रतिनिधिसभाको चुनाव लड्ने मनस्थितिमा छन् । त्यसपूर्व उनले आफूलाई राजतन्त्रको पक्षमा उभ्याएका हुन् । सोही कारणले उनको प्रकाशोन्मुख पुस्तकप्रति निकै जनचासो छ । यस पुस्तकको मूल्य ४५० रुपैयाँ तोकिएको छ । त्यसमा लेखकले पाउने १५० रुपैयाँ छुट कटाउँदा मिश्रका लागि ३०० रुपैयाँ मूल्य पर्छ । यही मूल्यअनुसार ५ हजार प्रति आफैंले किनेर निःशुल्क बाँड्ने सुविधा उनलाई मिलेको हो ।

मिश्रको नयाँ पुस्तक फाइन प्रिन्टले प्रकाशन गर्दैछ । पहिलो लटमा नै १५ हजार प्रति प्रकाशित गर्न लागिएको छ । मिश्रको अघिल्लो पुस्तक ७ हजार प्रति बिक्री भएको थियो । त्यसबाट प्राप्त ६ लाख रुपैयाँ रोयल्टी मिश्रले विवेकशील साझा पार्टीलाई डोनेट गरेका थिए । नयाँ पुस्तकको रोयल्टी पनि आफूले परोपकारी काममै खर्च गर्ने बताएका छन् ।

Leave a comment

This website uses cookies to improve your web experience.