Skip links

प्रकाशमानले गरेको व्यंग्यको जवाफमा रवीन्द्र मिश्रले सोधे १५ प्रश्न

Originally published on himalkhabar | विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसका नेता एवं सांसद प्रकाशमान सिंहलाई १५ वटा प्रश्न गरेका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा सिंहले ‘दुई वर्ष पनि पार्टी टिकाउन नसक्ने’ भन्दै मिश्रलाई व्यंग्य गरेका थिए। त्यसको जवाफमा मिश्रले १५ वटा प्रश्न सोधका छन्।

२०७४ सालको निर्वाचनमा काठमाडौं-१ बाट सिंहले थोरै मतले मिश्रलाई पराजित गरेका थिए। सिंहले १० हजार ९३६ मत पाएका थिए भने मिश्रले १० हजार ११८ मत पाएका थिए।

यस पटक पनि दुवै नेता काठमाडौं-१ मै प्रतिस्पर्धा गर्ने भएका छन्। दुवैले चुनावी तयारी शुरू गरिसकेका छन्।

रवीन्द्र मिश्रले प्रकाशमान सिंहलाई सोधेका १५ प्रश्न:

तीन पटक लगातार (१५ वर्ष) सांसद भइसकेका एकजना ‘वरिष्ठ नेता’ले मलाई नराम्रैसँग व्यंग्ग गर्नुभए छ। उहाँले यसअघिको चुनावमा त मेरो दिवंगत बुवालाई घोचपेच गर्नुभएको थियो। अहिले मलाई गर्नुभए छ, त्यो चाहिँ ठीकै भयो। तर, उहाँलाई केही प्रश्न सोध्नै मन लाग्यो।

१) पन्ध्र वर्ष सांसद हुँदा, संसद् चलेका कूल दिनहरूमा तपाईं कति पटक संसद्मा उपस्थित हुनुभयो? उपस्थित नभएको दिनको भत्ता खानुभयो कि भएन?

२) संसद् भनेको देशको नीति-नियम बनाउने थलो हो। तपाईंले तात्कालिक र दूरगामी राष्ट्रिय महत्त्वका के-के विषयमा कति पटक बोल्नुभयो? बोल्नका लागि मात्र बोल्नुभयो की त्यसको कुनै ठोस परिणाम पनि आयो?

३) तपाईं देशको राजधानी काठमाडौंको १५ वर्षदेखिको सांसद। राजधानी शहरलाई व्यवस्थित रूपमा पूर्वाधार विकास गर्न, सफा, सुघ्घर, धुलोधुवाँ नियन्त्रित, ट्र्याफिकजाम न्यून बनाउन, खुला क्षेत्र जगेर्ना गर्न संसद्मा कति पटक आवाज उठाउनु भयो? फेरि तपाईं त कुनै वेला वातावरण मन्त्री पनि हुनुहुन्थ्यो?

४) काठमाडौं सम्पदाको शहर हो। सम्पदा संरक्षणका लागि संसद्मा कुनै आवाज उठाउनु भयो की?

५) बागमती नदी तपाईंको पनि निर्वाचन क्षेत्र भएर बग्छ। तपाईं युवा हुँदा बागमती नदीको पानी पिउन मिल्थ्यो। अहिले छुन पनि हिचकिचाउनु पर्छ। नदीनाला सफाईका लागि केही काम गर्नुभयो?

६) त्यो सांसद विकास कोष भन्ने छ नि! त्यो खासमा बाहालवाला सांसदलाई ‘ठेकदार’ बनाएर अर्को चुनाव जित्न सजिलो होस् भनि राज्यको ढुकुटीबाट अर्बौँ खर्च हुने गरि छुट्याइएको बजेट हो। तपाईंले त्यो लिनु भयो की भएन? वास्तवमा तपाईंले संसद्मा त्यसको घनघोर विरोध गर्नु पर्थ्यो नि, हगी?

७) तपाईं मन्त्रीदेखि उपप्रधानमन्त्रीसम्म हुँदा सुशासन, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहका लागि केही काम गर्नुभयो की? सुशासनका लागि सरकारी कर्मचारीहरूको ‘दलीय’ युनियन हुनु हुँदैन भन्नुभयो? अनि तपाईंको पार्टीको विद्यार्थी संगठनले विश्वविद्यालयमा तीन वर्षमा तीन सय दिन तालाबन्दी गर्दा र बेलाबखत तोडफोडमा उत्रिँदा विरोध गर्नुभयो?

८) इमानदार र स्वच्छ छवि भएको नेपालको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीलाई राजनीतिक स्वार्थका कारण महाअभियोग लगाउँदा त्यसको विरूद्ध बोल्नुभयो की?

९) नेपाली पुरूषसँग विवाह गरे लगत्तै विदेशीलाई नागरिकता दिने, तर देशभित्रकै महिला र पुरूषलाई विभेद गर्ने नागरिकता विधेयक तथा एमसीसी, एसपीपीबारे चाहिँ तपाईंको धारणा के रह्यो?
१०) द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्ने, त्यतिवेला भएका जघन्य अपराधका पीडितलाई न्याय दिलाउने सम्बन्धमा जुन अत्यधिक ढिलासुस्ती भएको छ, त्यसबारे खै तपाईंले कतै केही गर्नु भएन। त्यो त गम्भिर विषय हो। अलि चासो दिनु पर्थेन?

११) हुन त, विचरा आफ्नै शुभेच्छुक, सदस्य, नेताको हातखुट्टा गिँड्ने, घाँटी रेट्नेहरूलाई ‘भोट देऊ’ भन्दै हिँड्नु परेको छ। त्यो त अति भएन र?

१२) तपाईं पार्टीको उपसभापति र महामन्त्री हुँदा पार्टीभित्रको विकृति हटाउन, पार्टीको आर्थिक पारदर्शिता बढाउन केही गर्नुभयो?

१३) अनि गत महाधिवेशनमा तपाईंले आफन्तलाई लाभ हुन्छ भनेर अन्तिम घढीमा बेइमानी गर्दा तपाईंको पार्टीमा नयाँ नेतृत्व आउन नसकेको होइन?

१४) झण्डै एउटा कुरा बिर्सिएको, गएको निर्वाचनमा एकजना नैतिकताहीन पत्रकारलाई मेरा विरूद्ध श्रृङ्खलावद्धरूपमा लेख लेख्न लगाउने चाहिँ को हो? तपाईंले चिन्नुभएको छ भन्ने सुनेको थिएँ। छ भने बताइदिनोस् न, कृपया।

१५) तपाईंले मलाई दुई वर्ष पनि पार्टी टिकाउन नसक्ने भन्नु भए छ। मैले त बीपी, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहहरूको आदर्श नै यो देशको हितमा रहेछ भन्ने बोध भएपछि मार्ग परिवर्तन गरेको हुँ। गत स्थानीय चुनावमा नराम्रो नतिजा आएपछि अध्यक्ष पदबाट राजीनामा दिएको हुँ।

तपाईंले त ती तीनै महान् नेताका आत्मा मारिदिनुभयो। १५ वर्ष सांसद, मन्त्री, उपप्रधानमन्त्री, पार्टीको उपसभापति, महामन्त्री भएर केही गर्न सक्नुभएन। मौका पाए कोही नबस्ने देश बनाउनुभयो।

राष्ट्रपतिदेखि प्रधानमन्त्री, सर्वोच्च, प्रहरी, प्रशासन, अख्तियार, सबैलाई राजनीतिकृत, भ्रष्ट र अक्षम बनाइदिनुभयो। खै के भनुँ! अहिले बेकारमा मलाई व्यंग्य गर्नुहुन्छ। मैले त पार्टी अध्यक्षबाट राजीनामा दिएँ, तपाईं चाहिँ राजनीतिबाटै राजीनामा दिने की?

मनमा खर्रर आएको मात्र लेखेको हुँ। अहिलेलाई यति नै। छुटेका कुरा पछि गर्दै जाउँला। नमरी बाँचे, कालले साँचे भेटौंला कुनै दिन!

Leave a comment

This website uses cookies to improve your web experience.