Skip links

पार्टी फुटउन्मुख भएपछि मिलन पाण्डेलाई रविन्द्र मिश्रको १४ बुँदे जवाफ (पत्र सहित)

विवेकशील पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पार्टी संयोजक मिलन पाण्डेलाई १४ बुँदे इमेल लेख्दै जवाफ फर्काएका छन।

पाण्डेले बुधबार बिहान मिश्रसहित केन्द्रीय सदस्यलाई एक इमेल लेख्दै विधान पनि तयार नहुँदै यहाँले विधान र घोषणापत्र विपरीत ‘मार्ग परिवर्तन’ गरेको आरोप लगाएका थिए। पाण्डेले मिश्रमाथि एकलौटी केन्द्रीय कमिटी बैठक बोलाएको तर दुवै मिलेर नमानेपछि बाध्य भएर एकलौटी बैठक बोलाउनुपरेको लेखेका थिए। (तल पत्र छ)

जसको जवाफमा अध्यक्ष मिश्रले लेखेका छन-

प्रिय मिलनजी,

तपाईंको पत्रमा देखिएको सदासयताका लागि धन्यवाद तर वास्तविकता अलि फरक छ। म ईमेलमा या बाहिर सञ्चार माध्यममा व्यक्तिगत आरोप-प्रत्यारोप या सवाल-जवाफमा उत्रिन चाहान्न। त्यो गर्ने वित्तिकै, नचाहाँदै-नचाहँदै, संवादको स्तर गिरेर जान्छ।

तर पनि तपाईंले अहिलेको र यसअघिका केही ईमेलमा जुन आरोपहरू लगाइराख्नुभएको छ त्यसको परिप्रेक्षमा मैले केही कुरा राख्नै पर्ने हुन्छ।

१) सबैभन्दा पहिले तपाईंले पार्टीको अध्यक्षलाई केन्द्रीय समितिमा आफ्ना धारणा राख्नबाट रोकिदिनुभयो। त्यो निषेधको राजनीति थियो। मैले मेरो धारणा अस्विकृत भएमा सहर्ष स्विकार्छु भनेकै थिएँ। जब मैले मेरो धारणा केन्द्रीय समितिमा ईमेले गरेर सार्वजनिक गरेँ, त्यसपछि सार्वजनिकरुपमा तपाईं र अन्य केही साथीहरूले के, के भन्नुभयो र कस्ता आरोपहरू लगाउनु भयो, सबै जानकार नै हुनुहुन्छ। त्यसपछि पनि हाम्रा छलफलहरू चलिनै रहे।

२) छलफलको क्रममा मलाई बारम्बार भनिएका वाक्यहरू यसप्रकार छन्: अब हामी कुनै पनि हालतमा मिलेर जान सक्दैनौँ; छुट्टिने त छुट्टिने नै हो तर पहिलो पटक फुट्दा दोष विवेकशीललाई लाग्यो, यो पटक तपाईं त्यो दोष लिइदिनोस्; ‘कु’ गरिदिनोस् न हामीलाई आफ्नो बाटो लिन सजिलो हुन्छ; अब चाहिँ हामी नछुट्टिने भयौँ तर हामी तपाईंहरूलाई सुख दिँदैनौँ, दुखै दिने हो, आदि-इत्यादी।

३) त्यसबीच तपाईं र तपाईंहरूका साथीहरूका अनेकौँ बैठकमा गैरराजनीतिक देखिने गरि कुनै माध्यमबाट पार्टीको केन्द्रीय समितिदेखि तलसम्मका साथीहरूलाई जोड्दै जाने र अन्तत: जति सकिन्छ त्यति साथी लिएर छुट्‍टिने सल्लाहरू भएका चर्चा चले।

४) ती सबै हुँदै गर्दा तपाईं र मबीच भएका संवादमा तपाईंले मलाई मेरो दस्तावेज फिर्ता लिन, मैले नै पार्टी फुटाएर अर्को पार्टी बनाउन, विवेकशील साझा र तराजु चिन्ह तपाईंहरूलाई छोडिदिन र तपाईंले बुझे अनुसारको एकीकरणको मर्ममा उभिन सुझाउनुभयो।

५) मैले तपाईंलाई मेरो बुझाइको राष्ट्रिय हित (national interest) को विषय नेपाली राजनीतिमा कसरी गौण भएर गयो, सो विषय मेरोभन्दा पनि तपाईंको पुस्ताको लागि कति संवेदनशील र महत्वपूर्ण छ, पार्टी निर्माणका लागि जनभावनालाई संवोधन गर्न किन जरूरी छ र मेरो दस्तावेजले कसरी धेरैको आम मनोविज्ञानलाई छोएको देखिएको छ भन्ने व्याख्या गर्दै पार्टीको भविष्य र हाम्रो देश बनाउने सपना कसरी अहिले मैले प्रस्तुत गरेको दस्तावेजसँग जोडिएको छ भन्नेबारे विस्तृतरूपमा उल्लेख गरेँ।

६) त्यसैले, मैले तपाईंलाई पहिलो प्रस्ताव, देशको हित हुन्छ र पार्टी बन्छ जस्तो लाग्छ भने “विचारभन्दा माथि देश”लाई राखेर मैले प्रस्तुत गरेको दस्तावेज अनुरुप अघि बढौँ भनेर सुझाएँ। त्यसो हुन सक्दैन भने दोस्रो प्रस्तावका रूपमा महाधवेशन गर्नका लागि “अत्यावश्यकीय कार्य”मा मात्र केन्द्रीत भएर अघि बढौँ र महाधिवेशनको परिणाम सहर्ष स्विकार गरौँ भने। कुनै पनि प्रस्तावमा सहमति नै हुन सक्दैन र तपाईंले बारम्बार उल्लेख गरे झैँ तपाईंहरू साँच्चिकै केही साथीहरू छोडेरै जाने मनस्थितिमा हो भने त्यसलाई नेपालको इतिहासमैँ कहिल्यै नभएको ढङ्गबाट सौहार्दपूर्ण बनाउँ किनभने मेरो राजनीति बढीमा १० वर्ष छ भने तपाईंहरूको राजनीति २५ वर्षसम्म जान सक्छ र म त्यसमा फोहोर फ्यालेर तपाईंहरूलाई दुषित बनाउन चाहन्न भनेँ।

७) हाम्रो कुरा कहिँ पनि मिल्न सकेन र त्यसपछि हामी केन्द्रीय समितिको बैठक सक्दो छिटो बोलाउने र त्यहिँबाट निकास खोज्ने भन्नेमा सहमत भयौँ। तर केन्द्रीय समितिको बैठकमा एकीकरण भएदेखि हामीले गर्छु भनेर गर्न नसकेका लगायतका कतिपय एजेण्डा सबै अबको बैठकमा एकैपटक लैजानु पर्नेमा तपाईंले जोड गर्नुभयो। मैले अहिलेको जटील अवस्थामा सबै पुरान विषय उक्याउँदा त्यसले थप जटिलता थप्ने निश्चित हुनाले त्यसो नगरौँ र उत्पन्न पछिल्लो परिस्थितिबारेमा मात्र केन्द्रीत हौँ भन्नेमा जोड दिएँ। सबै पुराना विषय कोट्याएर अहिले हामी कहिँ पनि पुग्न सक्दैनौँ भन्ने मेरो धारणा थियो।

८) मैले उदाहरण दिँदै तपाईंलाई भनेँ, “मन्त्रिपरिषदले आजसम्मका मन्त्रिपरिषदका सबै निर्णयहरूको पालना नभइ हामी अन्य निर्णय गरेर अघि बढ्न सक्दैनौँ भन्न सक्दैन र मिल्दैन। सन्सारको कुनै पनि मन्त्रिपरिषदले त्यस्तो गर्दैन। त्यस्तै नेपालको २०१३ सालदेखिको पञ्च वर्षीय योजनाका सबै प्रतिवद्धता पुरा नगरी अब अरू योजना बन्दैन भन्न पनि सकिँदैन। हाम्रो स्थिति र सामान्यतया सन्सारभरीका सबै संस्थाहरूको स्थिति त्यस्तै हो। कयौँ काम हुन्छन्। कयौँ काम विविध कारणले समयमा पुरा हुँदैनन्।

९) तर मलाई डर कहाँनिर लाग्यो भने, तपाईंले बारम्बार “तपाईंहरूलाई दुखै दिने हो, सुख दिन्नौँ” भन्नु र कतिपय साथीहरूको भनाईमा समानान्तर गतिविधि गर्दै ६/८ महिना विताएर अन्तत: सकेका साथी लिएर छुट्टिने कुरामा मैले समानता देख्न थालेँ। किनभने, तपाईंले भनेका सबै एजेण्डा केन्द्रीय समितिमा प्रवेश गराउने वित्तिकै एउटा ठूलो पक्ष त्यसबाट अत्यन्तै रुष्ट हुनेवाला थियो। त्यसपछि उत्पन्न हुने वादविवाद र तिक्तता धानि नसक्नु हुन्थ्यो, बैठक रोकिन्थ्यो, फेरी बोलाइन्थ्यो या बोलाइनु अघि नै कुरा विग्रिन्थ्यो।

१०) तसर्थ, मैले तपाईंलाई एजेण्डाको भाषा “पार्टीमा सृजना भएको वर्तमान वैचारिक बहस, उत्पन्न गतिरोध र त्यसको निकासबारे” भन्ने खालको बनाऊँ र त्यसअन्तर्गत तपाईंले भन्न चाहेका सबै कुरा भन्नुहोस् तर अहिलेको स्थितिमा थप विवाद सृजना गर्ने अन्य एजेण्डा नराखौँ भन्ने आग्रह गरेँ। तर तपाईंले मान्नुभएन।

११) एजेण्डालाई अहिलेको विषयमा मात्र केन्द्रीत नगरेर विवाद झन बढाउन तपाईंको ध्येय र तपाईंले माथि बुँदा नं २ मा उल्लेख गरेजस्तो तपाईंको मनसायबीच जब मैले तादात्म्य देखेँ, मलाई लाग्यो पार्टी अब यसरी अनिर्णयको बन्दी बनेर घस्रिरहन सक्दैन। तत्पश्चात, मैले कानूनी सल्लाह लिएर एकल बैठक बोलाएको हुँ।

१२) यो जटील समयमा तपाईंले भनेजस्ता नानाभाँतीका ११ वटा एजेण्डा एकैपटक उठाएर, बैठकमा किचकिच गराएर, बैठक लम्बाउँदै लगेर तपाईंले दिन खोजेको दुख र अन्तमा लिन खोजेको देखिएको कदम म स्विकार गर्न सक्दिन। तर मैले तपाईंलाई हिजोको भेटमा गरेको अनुरोध दोहोर्याउन चाहेँ: तपाईं भोली १२.३० बजेको बैठकमा उपस्थित भएर तपाईंले भन्न खोजेका सबै कुरा र उठाउन खोजेका सबै विषय दिल खोलेर राख्नुहोस्। मलाई जति गाली गर्न पर्छ गर्नुहोस्। तर तपाईंले अहिले भनेका एजेण्डा छुट्टाछुट्टै रुपमा अघि बढाउन म स्विकृति जनाउन सक्दिन। भोलीको बैठकदेखि नै हामी निकासको बाटो खोज्नेछौँ।

१३) यो पार्टी बचाउँ तर पार्टीका गतिविधिलाई निरन्तर अवरूद्ध गरेर र बन्दी बनाएर होइन। यो पार्टी बनाउनै पर्छ र यो देशको रुपान्तरणकारी पार्टी बन्नै पर्छ भन्नेमा म यो पार्टीका नेता, सदस्य र शुभच्छुकहरू जत्ति नै प्रतिवद्ध छु। सकेको गरेको छु। हामीले गत केही वर्षमा धेरै उतार-चढाव बेहोर्यौँ, धेरै सिक्यौँ, अब हामीले एउटा स्पष्ट, अनुशासित, प्रतिवद्ध बाटो समात्नै पर्छ। हाम्रालागि प्रशस्त संभावना देखिएको छ।

१४) अन्त्यमा, म कुनै पनि हालतमा तपाईं र अन्य कतिपय साथीहरूसँग दुईवटा विषयमा बैचारिक बेमेल भयो भन्दैमा सार्वजनिकरूपमा तपाईंलाई व्यक्तिगत ढङ्गबाट हिलो छ्याप्ने काम गर्दिन र घरको झगडा चौतारीमा लगेर छताछुल्ल पनि पार्दिन। तपाईंहरूले पनि त्यसो नगरिदिए आभारी हुनेछु। यसपश्चात्, म फेरी ईमेल जुहारीमा संलग्न हुन चाहन्न। जे भन्नु पर्छ, केन्द्रीय समितिमैँ भनौँ भन्ने मेरो आग्रह छ। म पुन: एकपटक तपाईंलाई स-स्नेह, स-श्रद्धा र कुनै नमिठो भाव बिना भोली १२.३० को बैठकमा उपस्थित हुन अनुरोध गर्दछु।

एकाध कुरामा विचार नमिले पनि तपाईंको सधैँ भलो चाहने,

रवीन्द्र मिश्र

अध्यक्ष, विवेकशील साझा पार्टी

त्यसअघि पार्टीका केन्द्रीय संयोजक पाण्डेले अध्यक्षलाई मिश्रलाई अन्तिम आग्रह भन्दै केन्द्रीय कमिटिमा यस्तो इमेल पठाएका थिए-

प्रिय रवीन्द्रजी नमस्कार,

हामी दुबैमा इख होला। हामी दुबैमा इच्छाशक्ति पनि होला। हालका लागी आक्रोश पनि होला। तर, यही नेर एउटा प्रश्न आउँछ, हामी ठुलो की पार्टी ? पक्कै पनि मेरो लागी पार्टी ठुलो हो।

रवीन्द्रजी, हामी वैचारिक छलफलकै क्रममा रहँदा र विधान पनि तयार नहुँदै यहाँले विधान र घोषणापत्र विपरीत ‘मार्ग परिवर्तन’ गर्नु भयो। हामी एजेन्डाकै छलफलमा हुँदा यहाँले एकलौटी बैठक बोलाउनुभयो। पुनः दोहोराउँछु, मैले एजेन्डामा यी यी हुनुपर्छ भनेको थिएँ। तर, बैठक नबोलाऔँ भनेको थिइनँ। यहाँले बैठक बोलाएपछि पनि मैले पुनः दुवैले बैठक मिलेर बोलाऔँ भनेर आग्रह गरेँ।

बाध्य भएर मैले तपाईँले प्रयोग गर्नुभएको दफा २०.१० र ६१.३ प्रयोग गरेर बैठक बोलाएँ। त्यसपछि पनि, हिजो यहाँलाई भेटेर पुनः हामी दुवैले बैठक फिर्ता गरौँ र नयाँ समयमा हामी दुबैका सबै एजेन्डा सहित विधान सम्मत बैठक बसौँ भनेर अनुरोध गरेँ। यहाँले मान्नुभएन।

धेरै सदस्यहरू र शुभेच्छुकहरूको आग्रह अनुसार, म फेरी पनि यहाँलाई सम्पूर्ण केन्द्रीय सदस्यज्यूहरूलाई साक्षी राखेर पुनः त्यही प्रस्ताव गर्न चाहन्छु। रवीन्द्रजी, हामी दुवैले आफ्नो बैठक क्यान्सिल गरौँ। एक हप्ता भित्रमा केन्द्रीय समितिको हामी दुबैका एजेन्डा सहित भौतिक बैठक बसौँ। पारदर्शी छलफल गरौँ।

मैले आफ्नो इगो, आक्रोश, दम्भ, सबै भावना साइडमा राखेर यो प्रस्ताव राखेको हुँ। एकारकालाई देखाइदिने बाटोले हामी सबैलाई पिडा दिने छ। पार्टीलाई पिडा दिनेछ। वैकल्पिक राजनीतिलाई पिडा दिने छ।

आशा छ, हामी सबैको आग्रह मान्नुहुनेछ र पार्टीलाई विधान अनुरूप अघि बढाउन सहमतिमा आउनुहुनेछ।

सबै चिन्तित साथीहरूसँग म मागी माग्दै पार्टी बचाउन अपिल गर्दछु।

Leave a comment

This website uses cookies to improve your web experience.
mersin eskort bayan - izmir eskort - eskort ankara - amasya bayan eskort - eskort istanbul