भ्यू टावर
नयाँ बनेको भ्यूटावरबाट
दृश्यहरू नियालेर हेर्न
टुप्पैमा पुगेर सबैभन्दा पहिले
पूर्वतिरको दूरवीनबाट चिहाएँ
पऽऽऽर चिया बगानमा अल्झिएको
थोत्रो धोति, चोलो र डोको देखेँ
छेउछाउका डाँडामा
ब्लेडले काटेको नाडी झैं
चिराचिरा धर्सा देखेँ
तिनै चिराबाट ठाउँठाउँमा
बगेर जमेको रगत देखेँ
गालामा परेको चाउरीका डोबमा
चरक्कै फाटेको मन देखेँ
विशाल कोशी नदीमा
सु्नसान बगेको इतिहास देखेँ
विस्तारै पश्चीमतिरको दूरवीनमा गएँ
सैपाल हिमालको शानलाई छेकिरहेको
‘सुन्दर सुदूरपश्चिम’को सूचनापाटी देखेँ
भूकम्पपछिको भग्नावशेष जस्तो गाउँमा
छौपडीको गोठ देखेँ
त्यहीँबाट निकाल्दै गरेको
किशोरीको लाश देखेँ
झिँगैझिँगाले छोपेको
कुपोषित बालकको त्रास देखेँ
कालापानीमा दुखेको देशभक्ति
र टनकपुरमा सुकेको महाकाली देखेँ
लामो सास फेर्दै उत्तरतिरको दुरवीनमा पुगेँ
सेतो हिमालमा लेखिएको नेपालमा
पग्लिँदै गरेको हिउँ देखेँ
सगरमाथा चढ्ने विदेशीको लहरसँगै
तारे होटेलमा झुकेका नेताको शीर देखेँ
चोक्टा, चोक्टा पारेर काटिएका पहाड अनि
हरिया फाँटमा बेहिसाब ठडिएका घर देखेँ
पितापुर्खाले सजाइदिएको गजुर छोप्ने
कंक्रिटको कुरूप जंगल देखेँ
घरघरको कौशीमा पुजा कोठा देखेँ
शौचालयको ढल बागमतिमा मिसाएर
पशुपति दर्शन गर्नेको भिड देखेँ
दक्षिणतिरको दुरवीनमा गएँ
टाडा, टाडा फैलिएको समतल भूमीमा
छियाछिया प्वाल परेका छाति देखेँ
शहिद परिवारका उजाड छाप्रोमा
आँशुमा टल्पलाएका आँखा देखेँ
बोराको टु्क्रा ओछ्याएर
चिसो छिँडीमा सुतेकी नानी देखेँ
शीत लहरले सास लानै लाग्दा
कक्रिएर अररो भएकी आमा देखेँ
उत्तर र दक्षिणबाट पेलिएर
निसास्सिँदै जागेका बुवा देखेँ
देश चिन्न भ्यू टावर चाहिने नै रहेछ
जहाँबाट मैले सिँगो देश देखेँ
दशकौंदेखि देश हाँक्नेको अनुहार देखेँ।
रवीन्द्र मिश्र । २१ कार्तिक, २०७५
मिश्रका थप कविताहरू उनको कविता संग्रह “रवीन्द्र मिश्रका कविता”मा पढ्न सकिन्छ। सो पुस्तकहरूबारे थप जानकारी लिन र कसरी हासिल गर्न सकिन्छ भन्ने बुझ्न कृपया BOOKS खण्डमा जानुहोला।