Skip links

के नेपालमा वैकल्पिक राजनीतिक शक्तिको भविष्य छ?

 

गएको संसदीय चुनावअघि एक भएर चुनावमा होमिएको विवेकशील साझा पार्टीलाई धेरैले भारतमा आम आद्‍मी पार्टी जस्तै नेपालको वैकल्पिक राजनीतिक शक्तिको रूपमा अगाडि आउने अपेक्षा गरेका थिए। तर त्यसो हुन सकेन।

स्थानीय चुनावमा एक हुन नसकेका उज्जव थापा नेतृत्वको विवेकशील नेपाली दल र बीबीसी पूर्व पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी प्रदेश र संसदको चुनावमा भने एक भएर होमिए।

राष्ट्रिय दलको मान्यता पाउनै हम्मे

प्रदेशको चुनावमा तुलनात्मक रूपमा राम्रो गरे पनि संसदीय चुनावमा त्यो दलले एक स्थान पनि जितेन।

काठमाण्डूको चुनावी मैदानमा दुवै जना संयोजक रवीन्द्र मिश्र र उज्वल थापा पराजित हुन पुगे।

अन्तत: त्यो दल राष्ट्रिय दल हुनको लागि आवश्यक न्यूनतम मत (तीन प्रतिशत मत र कम्तीमा एक संसदीय सिट) ल्याउन विफल भयो र त्यसले राष्ट्रिय दलको मान्यता पाउन सकेन।

राजनीतिक दल टुट्नु, फुट्नु वा फेरि जोडिनु नेपाली राजनीतिमा नौलो घटना होइन।

विगतमा पनि नेपालका कम्युनिष्ट र कांग्रेस पार्टीहरूले फुट्ने टुक्रने र पुन: जोडिने क्रम र उपक्रम भोगिसकेका छन्।

त्यसैले विवेकशील साझा पार्टीको फुटले धेरै नेपालीहरूलाई झस्क्याएन।

तर त्यसले केही महत्त्वपूर्ण प्रश्नहरू तेर्स्याइदिएको छ।

जस्तो: पुरानादेखि नयाँसम्म नेपालका प्राय राजनीतिक दलहरू किन एक ढिक्का रहन सक्दैनन्?

धेरै युवाहरूले आशा गरेको विवेकशील साझा पार्टी आखिर किन फुटि छाड्यो?

के भविष्यमा उनीहरू एक हुन सक्लान्? के एक्लाएक्लै अघि बढेर विवेकशील साझा पार्टी र विवेकशील नेपाली दल आफ्नो उद्देश्य हासिल गर्न सफल होलान्?

अर्को महत्त्वपूर्ण प्रश्न यो हो: पुराना दलले धेरै आशा जगाउन नसकेको बेला नेपालको वैकल्पिक राजनीतिक शक्तिको रूपमा कुन दल अगाडि आउला?

नेपाली राजनीतिमा विवेकशील साझा र विवेकशील नेपालीका अतिरिक्त अन्य दलहरू पनि छन् जसले भविष्यमा अगाडि आउने सामर्थ्य राख्दछन्।

अधिकांश वाम घटकहरू सत्तारुढ गठबन्धनमा सामेल भइसकेको सन्दर्भमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीले अगाडि आउन सक्ने सामर्थ्य राख्ने आकलन कतिपय विश्लेषकहरूको छ।

कसरी सम्भव होला वैकल्पिक शक्तिको उदय?

विवेकशील साझा पार्टी फुटेलगत्तै विभिन्न टिकाटिप्पणीहरूले सामाजिक सञ्जालहरू रङ्गिसकेका छन्।

त्यो पार्टीको फुट र अगाडिको बाटोबारे कैयौँले आफ्ना तत्कालका धारणा राखिसकेका छन्।

सामाजिक सञ्जालमा लोकप्रिय भएको तर वास्तवकि धरातलमा लोकप्रिय नभएको आरोप खेप्ने गरेका विवेकशील नेपाली र साझा पार्टीका अहिलेका अलग अलग बैठकहरूबारे तिनै सञ्जालमा टिकाटिप्पणी हुने क्रम टुटेको छैन।

तर विश्लेषकहरू भन्छन् धरातलीय राजनीति फरक हुने गर्दछ।

अन्नपूर्ण पोस्ट दैनिकका प्रधानसम्पादक हरिबहादुर थापाको विचारमा “नेपालमा मानिसहरूलाई संस्था निर्माण गर्ने भन्दा पनि आफैँलाई बनाउने रुची बढि देखिने भएकोले दलहरू टुट्फुट्को नियति भोग्न बाध्य छन्। त्यो प्रवृत्ति पुराना दलहरूमा पनि देखियो र नयाँमा पनि देखिँदैछ।”

नेपालमा सुरुवाती दिनमा निकै लोकप्रिय रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले समेत आश्वासनहरू मात्रै बाँडिरहेको आरोप खेपिरहेको छ।

एकीकृत माओवादी दल र नेकपा एमालेको एकीकरणको घोषणा भएलगत्तै चुनावमा त्यो दलले निकै फाइदा लिन सफल भयो।

अहिले केपी ओली सरकारको आलोचना हुने क्रम बढिरहेको बेला नेपाली राजनीतिमा कुनै वैकल्पिक शक्तिको अभाव खट्किएको हो।

यस्तो अवस्थामा नेपालमा भारतमा उदाइरहेको आम आद्‍मी पार्टी जस्तो वैकल्पिक राजनीतिक दलको उदय कहिले सम्भव होला?

वा, नेपालीहरू भावी चुनावमा पनि फेरि पुरानै मध्येका दलबाट फेरि कुनै पुरानै अनुहार मध्ये कसैलाई मत दिन बाध्य हुनेछन्?

त्यो प्रष्ट छैन। थापाका विचारमा “कुनै पनि राजनीतिक दल अगाडि आउन निरन्तर १५ वर्षजतिको त्याग र लगानी जरुरी हुन्छ।”

उनले भने, “नेपालमा राजनीतिक शक्तिको रूपमा अगाडि आउन एउटा चुनावमा हा-हु र सामाजिक सञ्जालहरूमा गरिने हल्लाहरू पर्याप्त हुँदैनन्।”

उनको विचारमा “राजनीतिक दलहरूमा समूहवाद र गुटवाद हाबी हुनु हुँदैन।”

विवेकशील साझा पार्टीको अगाडिको बाटो कस्तो होला?

तर थापा जस्ता विश्लेषकहरूका लागि यो एउटा विडम्बना हुन सक्छ। विवेकशील साझा पार्टीमा त्यही भयो। त्यो दलका नेताहरूले अझै पनि फुटको दोष एक अर्कोमाथि थोपरिरहेका छन्।

फुटपछि विवेकशील साझा पार्टीका एक संयोजक रवीन्द्र मिश्रले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै निर्वाचन आयोगमा विवेकशील नेपाली पार्टी दर्ता गर्ने कदम “एकपक्षीय” र कुनै छलफल विना गरिएको बताए।

अहिलेसम्म पनि दुवै संयोजकहरूले सार्वजनिक अभिव्यक्ति तथा अन्तर्वार्ताहरूमा एक अर्कोलाई एकपक्षीय भएको दोषारोपण गरिरहेका छन्।

दुवै पक्षले अलग अलग बाटो जाने संकेत दिइसकेका छन्।

विवेकशील साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले त “तेल र पानी घुलनशील नभएजस्तै दुवै दल घुलमिल हुन नसकेको” बताइसकेका छन्।

उनले समान सिद्धान्त र विचारधारा भएको राजनीतिक दलसँग एकता हुन सक्ने बताइसकेका छन्। तथापि त्यस्तो एकता को सँग होला त्यो रहस्यकै गर्भमा छ।

अंग्रेजी दैनिक पत्रिका रिपब्लिकासँगको अन्तर्वार्तामा विवेकशील नेपाली दलका संयोजक उज्जल थापाले दुई पक्षले “मतदाताको अपेक्षा अनुसार काम गर्न नसकेको र अती भएपछि” दुवै पक्ष अलग भएको बताएका छन्।

उनले आफ्नो दल भित्र “विषाक्त वातावरण” भएको उल्लेख गरेका छन्।

अहिले फरक बाटो हिँडे पनि यी दुवै पक्षका क्रियाकपाल र ‘चालबाजी’हरूको निगरानी भने आउने दिनहरूमा पनि जारी रहने देखिन्छ।

Originally Published on www.bbc.com

This website uses cookies to improve your web experience.