१८ चैत, पोखरा । ‘साझा पार्टी’ खोलेपछि सार्वजनिक मञ्चमा खासै नदेखिएका निवर्तमान पत्रकार एवं वर्तमान नेता रविन्द्र मिश्र शुक्रबार पोखरामा बिग एफएमले आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रवचनकर्ताका रुपमा उपस्थित भए ।

मन्तव्यका क्रममा मिश्रले यो देशका नेतामात्रै होइन, मतदातालाई समेत खराब भन्नुपर्ने दिन नआओस् भन्दै सचेत गराए ।

होटलको मेनु हेरेजसरी मतपत्र हेरेर अन्तिममा आफ्नै बाबुबाजेकै पार्टीलाई भोट हाल्ने हो भने यो देश बन्न नसक्ने मिश्रले मतदाताहरुलाई चेतावनी दिए । त्यसो गरियो भने नेतामात्रै होइन, जनता र मतदातासमेत खराब रहेको पुष्टि हुने मिश्रले बताए ।

करिब २० मिनेट लामो भाषणमा नेता मिश्रले देशभित्र बढेको बेथितिको आलोचनामा अधिकांश समय खर्चिए । काम गर्ने कामदारको तलब थोरै भएको चिन्तादेखि बाटोमा धुलोका कारण मास्क लाउनुपरेको र अस्पतालमा सास्ती भोग्नुपरेको सम्म मिश्रले समस्याहरुलाई समेटे ।

कमजोर शिक्षा, बेरोजगारी अनि भ्रष्टाचारको समस्या व्याप्त रहेको भन्दै मिश्रले युवाहरुलाई यसबारे राति घरमा गएर सोच्न आग्रह गरे ।

सांगीतिक माहौलका वीचमा राजनीतिक प्रवचन दिएका मिश्रले अब सबैले आफ्नो पेशा व्यवसायमा मात्रै सीमित नभई देश बनाउने अभियानमा लाग्नुपर्ने बताए । नेपालजस्तो देश १०/२० वर्षमै बनाउन सकिने उनले दृढता प्रकट गरे । तर, देश कसरी बनाउने र युवाहरुले कसरी अघि बढ्ने भन्ने ठोस खाकाचाहिँ मिश्रले अघि सारेनन् ।

मिश्रको भाषणमा वर्तमान स्थितिप्रति चरम वितृष्णा अनि केही केही गरेर देखाउने तीव्र इच्छाशक्ति झल्किन्थ्यो ।

साझा पार्टीका संस्थापक नेता मिश्रको भाषणको केही सारांश उनकै शब्दमाः

म असाध्यै परोपकारमा विश्वास गर्ने मान्छे । परोपकार भनेको पैसा दिनुमात्रै होइन भन्ने मान्छे । परोपकार मानवीयताको प्रवर्द्धन गर्ने एउटा माध्यम हो ।

तपाईले जब तराईको मुसहर बस्ती अथवा कर्णालीका समुदायले खान नपाएको स्थिति अथवा भोगिरहेको जीवनस्तर जति जटिल छ, त्यसका लागि म र मजस्ता परिवारका सदस्यहरुले गरेको भ्रष्टाचार जिम्मेवार छ भन्ने महसुुस गर्नुहुन्छ, अनिमात्रै तपाईजस्ता मान्छेहरु जहाँसुकै गएर काम गर्दाखेरि पनि तपाईहरुले जिम्मेवारीवोध गरेर काम गर्नुहुन्छ । त्यसकारणले परोपकार भनेको मानवीयताको भावना प्रवर्द्धन गर्ने माध्यम हो । यसले सदाचार बढाउँछ ।

हामी सबै पेशा व्यवसाय गर्ने मान्छेहरुले आ-आफ्नो ठाउँमा राम्रो गरिरहेका छौं । तर, हाम्रो जिन्दगी स्टेजजस्तो भयो । हाम्रो देशचाँहि वीरेन्द्रसभागृहजस्तो भयो । बस्न नहुने मेच । हेर्न नहुने साइनबोर्ड । पानी चुहिने छानो । गनाउने शौचालय ।
अब हाम्रो जिम्मेवारी साँच्चिकै बहन गर्ने हो भने अब हामीले स्टेजमात्रै बनाएर भएन । अब हामीले सिंगो हल नै बनाउनुपर्‍यो । सिंगो शहर नै बनाउनुपर्‍यो । सिंगो देश नै बनाउनुपर्‍यो ।

अन्य कतिपय देशमा, तपाईहरुमध्ये कतिपय जानुभएको होला, नागरिकसँग कुरा गर्नुभयो भने उसले देशको गर्व गर्छ । म बृटिश हुँ भन्नमा गर्व गर्छ । म साउथ कोरियन हुँ भन्नमा गर्व गर्छ । म अमेरिकन हुँ भन्नमा गर्व गर्छ । हामीचाहिँ म रवीन्द्र मिश्र हुँ भन्नमा गर्व गर्नुपर्ने । म सूर्यराज आचार्य हुँ भन्नेमा गर्व गर्नुपर्ने । यो कुनै खुशीको विषय होइन ।

राजनीतिलाई दोष देखाएर मात्रै यसको समाधान छैन । र, त्यही छैन भन्ने महसुस गरेर हामीले गरिराखेका पेशाहरु त्यागेर अब गर्नैपर्‍यो र गर्न सकिन्छ भन्ने सोच बोकेर राजनीतिक यात्रा सुरु गरेका हौं ।

हो, तपाईहरुले राजनीतिलाई घृणा गर्नुभयो होला, किन घृणा गर्नुभयो भने हामीले गएको ५०/६० वर्षको दौरानमा नेपाललाई आर्थिक समृद्धिको दिशामा लान सकेनौं । प्रगतिको दिशामा लान सकेनौं । तपाईहरुजस्ता युवाले हरेक साँझ बसेर इन्टरनेटमा खोज्नुपर्‍यो, म विदेश कसरी जान सक्छु भनेर ।

तपाईहरुजस्ता युवाहरु यहाँ टन्न हलभरि हुनुहुन्छ, एकचोटि घर गएर सोच्नुपर्‍यो कि मैले बीए पास गरेपछि, एमए पास गरेपछि मैले खाने जागिर र मैले पाउने तलब पाँच वर्षपछि त्यसको दोब्बर हुने कि नहुने ? पाँच वर्षपछि मलाई मन लागेको बेलामा रेष्टुरामा गएर अलिकति रमाइलो गर्न पाउने कि नपाउने ? म पाँच वर्षपछि हलभित्रमात्रै बसेर छाती खोलेर हाँस्न सक्ने कि बाटोमा हिँड्दा पनि मास्क नलगाई हिँड्न सक्ने ? अब सोच्ने कि नसोच्ने भन्ने प्रश्न हो ।

मलाई के लाग्छ भने तपाईहरु जस्ता युवाहरुले अब सोच्नुपर्‍यो र तपाईहरु साच्चिँकै सफा राजनीतिका लागि तयार हुनुपर्‍यो । किनभने राजनीति मूल नीति हो, राजनीति सुधि्रएन भने तपाईका हरेक परिवारका सदस्यले, हामी सबैले दुःखैमात्रै पाउँछौं ।

मसान वैराग्य

तपाईले कहिल्यै सोच्नुभएको छ, तपाईका बूढा बाबुआमालाई अस्पतालमा लाँदाखेरि राम्रो उपचार नपाउँदाखेरि तपाईलाई कस्तो महसुस हुन्छ ? भोलि तपाईको श्रीमतीले बच्चा पाउने बेलामा हस्पिटलमा जाँदा तपाई किन चिन्तित हुनुपर्छ ? तपाईको छोराछोरी बिरामी हुँदा तपाई किन चिन्तित हुनुपर्छ ? जब हामी आफ्नै परिवारलाई मात्रै पर्छ, त्यतिबेला हामी सोच्छौं, यो खत्तम भयो । राजनीतिज्ञहरुले बर्बाद गरे भनेर सोच्छौं । यसलाई हामी मसान वैराग्य भनेर भन्छौं ।

मसान वैराग्य भनेको के हो भने कोही व्यक्ति देहान्त हुँदा तपाई अन्तिम संस्कारका लागि नदी छेउमा जानुहुन्छ, त्यतिबेला लाग्छ, जिन्दगी त के रहेछ र ? अलिकति सदाचारी हौं, अलिकति राम्रो हौं भन्ने लाग्छ । तर, त्यहाँबाट निस्किएपछि फेरि हामी ती सबै कुराहरु बिर्सन्छौं ।

तपाईहरुजस्ता युवाहरुलाई आज मेरो आग्रह के हो भने त्यो मसान वैराग्यजस्तो क्षणिक वैराग्य भावनामात्रै तपाईहरुमा नआओस् । तपाईहरु हरेक जनाले घरमा राति गएर सोच्नुपर्‍यो, अब यो देश बनाएनौं भने मेरा बूढाबाबुआमाले दुःख पाउँछन् । मेरा छोराछोरीले स्कुलमा दुःख पाउँछन् । हामीले पनि दुःख पाउँछौं र कहिल्यै पनि हामी समृद्ध हुन सक्दैनौं । काम गर्न सक्दैनौं भनेर सोच्नुपर्‍यो ।

तपाईहरु कतिजना कलेज पढिरहनुभएको होला, कतिजना कलेज सञ्चालक पनि हुनुहोला । तर, यो देशका स्कुल र कलेजहरु संसारका नराम्रा कलेज र स्कुलहरुमा पर्छन् ।

हाम्रो देशमा जवाहरलाल नेहरु विश्वविद्यालयको निकै नाम लिइन्छ । तर, त्यो जेएनयुसमेत संसारका एक हजार राम्रा विश्वविद्यालयमा पर्दैन । भनेपछि, नेपालका हाम्रा विश्वविद्यालयहरु कहाँ पर्छन् होला ? ७० प्रतिशत विद्यार्थी फेल हुने विद्यालय हामीलाई चाहिएको होइन ।

मेरो अन्तिम आग्रह के हो भने तपाईहरुले सोचिदिनुपर्‍यो । तपाईहरु चेतनशील नभइकन, तपाईहरुले विचार नपुर्‍याइकन हामीजस्ता केही गर्छौं भनेर, साच्चिँकै इमान बोकेर आएका मान्छेहरु सफल हुन सक्दैनौं ।

मेरा एकजना साथीले फेसबुकमा लेख्नुभयो, नेपाली मतदाताहरुको बानी के छ भने रेष्टुरामा गएर मेनु हेर्‍यो हेर्‍यो हेर्‍यो, लाष्टमा मम मगायो भनेजस्तै सबै पार्टीहरु हेर्‍यो हेर्‍यो, हेर्‍यो, अनि मेरा बाजेबराजुले, मेरा बुबाले कसलाई भोट खसालेको थियो भन्दै त्यसैलाई भोट खसाल्यो । अब त्यसै गर्नुभयो भने यो देशमा राजनीतिज्ञहरु खराब होइनन्, मतदान गर्ने जनता खराब हुन् भन्नुपर्ने हुन्छ ।

हामी यो देशलाई १० देखि २० वर्षको अवधिमा, अथवा हाम्रै जीवनकालमा बनाएरै छोड्छौं । किनभने हाम्रो देश संसारमा विरलै प्राप्त हुने स्रोत र साधन भएको देश हो । हामीभन्दा गएगुज्रेका स्थितिमा भएका देशहरु १० देखि २० वर्षको अवधिमा प्रगतिको पथमा राम्रैसँग उन्मूख भएका छन् भने हामी पनि उन्मूख हुन नसक्ने कुरै छैन ।

२०७३ चैत १८ गते १८:०९ मा प्रकाशित (२०७३ चैत १९ गते २०:३०मा अद्यावधिक गरिएको)

Originally Published on OnlineKhabar.com

SHARE