सकेँ भने छोरालाई राजनीतिज्ञ बनाउँछु

१६ माघ २०५७, नेपाल

देश बनाउने हो भने सक्षम, असल, प्रतिभाशाली केटाकेटी तथा युवक-युवतीहरुलाई राजनीतिमा प्रोत्साहित गर्नु नितान्त जरुरी छ। यही धारणाले गर्दा नै मेरो छोरा असल र बुद्धिमान भयो भने उसलाई सूचना प्रविधि विशेषज्ञ नबनाएर मैले राजनीतिज्ञ बनाउने सपना बुनेको छु।

“बुझ्नु भो दाइ, हाम्रो फुच्चेलाई पनि आईटी पढाउनुपर्छ।” चार वर्षको मेरो छोरालाई सङ्केत गर्दै बीबीसी नेपाली सेवामा हालै काम गर्न आएका मेरा नयाँ मित्र जितेन्द्र राउतले गफको सिलसिलामा बढो उत्साहका साथ मलाई भने। आईटी अर्थात इन्फरमेशन टेक्नलजी (सूचना प्रविधि) आजभोलि विद्यार्थीहरुका लागि ठूलो आकर्षणको विषय बनेको छ। नबनोस पनि कसरी सन् १९९० (वि.सं. २०४७ – ५७) को पछिल्लो आधा दशकमा अकल्पनीय रुपमा विकास भएको सूचना प्रविधिको क्षेत्रमा काम गर्ने पश्चिमी विश्वसँग पर्याप्त जनशक्ति नै छैन। युरोपमा मात्र अहिले १५ लाख सूचना प्रविधि विशेषज्ञहरुको अभाव छ र त्यो बढ्दै जाने अनुमान गरिएको छ। आम्दानीकै कुरा गर्ने हो भने दक्ष डाक्टरहरुको भन्दा दक्ष सूचना प्राविधिज्ञहरुको तलब दोब्बर नै हुन्छ। धेरै वर्षपछिकै कुरा भएपनि आर्थिक रुपमा सुनिश्चित भविष्य प्रदान गर्ने पेसामा मेरो छोरालाई लगाउनुपर्छ भन्ने जितेन्द्रको मनसाय निश्चय पनि उचित हो तर मैले उनलाई भने छोराछोरीलाई यो बनाउने, त्यो बनाउने भनेर आमाबाबुले चाहना राख्दैमा त्यसै अनुसार हुन्छ भन्ने छैन तर मेरो छोरा असल भयो, राम्रो पढ्यो भने म त उसलाई राजनीतिम प्रोत्साहित गर्नेछु। मेरो जबाफ सुनेर जितेन्द्रजी आश्चर्यचिकत भए। त्यो साँझ हामीले धेरै समय सोही विषयमा तर्क-वितर्क गरेर बितायौं।

राजनीतिमा अल्पज्ञानी या त्योभन्दा पनि तल्ला स्तरका व्यक्तिहरुको बाहुल्यता रहनु नै प्रजातन्त्र पुनर्स्थापनापछिका वर्षहरुमा देशले भोग्नुपरेको पीडाको मूल कारण हो। पञ्चायतकालमा पनि स्थिति अहिलेको भन्दा फरक त थिएन तर त्यतिबेला विकास र विकृति दुबैको स्रोत राजनीतिलाई नमानेर राजदरबारलाई मान्नु तर्कसङ्गत हुन्छ। प्रजातन्त्र पुनर्स्थापनापश्चात देशका विभिन्न गैर-राजनीतिक क्षेत्रहरुमा प्रशस्त आशाका सङ्केतहरु देखिएका छन्, उत्साही युवाहरुले विभिन्न क्षेत्रहरुमा नयाँनयाँ कामहरु गरेका छन्, पत्रकारिता राम्ररी फस्टाएको छ, विभिन्न सामाजिक कामहरु भएका छन् तर राजनीति भने विकृतिकै स्रोत बनेर बसेको छ। तर राजनीति मूलनीति भएकाले त्यसमा सुधार नआईकन देशको सर्वाङ्गीण विकासचाहिं सम्भव हुँदैन। विडम्वनाको कुरा के भने राजनीतिलाई परिष्कृत तुल्याउन सक्ने किसिमको जनशक्ति सक्रिय राजनीतिमा संलग्न हुनै चाहँदैन या तिनको राजनीतिक पृष्ठभूमि नहुनाले ती सक्रिय राजनीतिमा स्वीकार्य नै हुँदैनन्। नेतृत्व प्रदान गर्नसक्ने खालका मेरा केही प्रतिभाशाली साथीहरुलाई मैले बारम्बार राजनीतिम चाख लिन र राजनीतिका लागि पृष्ठभूमि तयार पार्न प्रोत्साहित गर्ने गरेको छु तर उनीहरु कोही पनि त्यसो गर्न इच्छुक देखिँदैनन। सल्लाहकारका रुपमा संलग्न हुन भने उनीहरु राजी देखिन्छन्। अनि म उनीहरुलाई प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सल्लाहकार नियुक्त भएर प्रधानमन्त्रीलाई सल्लाहकारको जरुरत नै पर्दैन रहेछ भन्दै पुन: विश्वविद्यालयमा पढाउन फर्कने राजनीतिशास्त्री कृष्ण खनालको सम्झना दिलाउँछु। नेपालको वर्तमान स्थितिमा राजनीतिक सल्लाहकारको न त त्यति ठूलो महत्व नै छ न त तिनले खासै प्रभाकारी काम नै गर्न सक्छन्। त्यसैले नेतृत्व क्षमता भएका प्रतिभाशाली युवाहरुले राजनीतिक मूलधारमैँ होमिएर, वर्षौ लगाएर आफूलाई नेतृत्व तहमा पुर्याएर, परिवर्तनकारी कामहरु गर्नुबाहेक अर्को विकल्प छैन। तर त्यो चुनौती लिन कोही पनि तयार भएको म देख्दिन। राम्रो पढे-लेखेका असल मानिहरुमा राजनीतिप्रति वितृष्णा नै बढी भेटिन्छ। आफ्ना असल र प्रतिभाशाली छोराछोरी, भाईबहिनीलाई कसैले पनि राजनीतिमा प्रोत्साहित गरेको मैले पाएको छैन। अधिकांश अभिभावकहरु आफ्ना केटाकेटीहरुलाई अझै पनि डाक्टर-इन्जिनियर नै बनाउने सपना देख्छन्। र, अभिभावहरुको ती विषयहरुप्रतिको आसक्ततापूर्ण सोचाइको परिवेशमा हुर्किएका ती केटाकेटीहरु पनि डाक्ट- इन्जिनयर नै बन्ने सपना देख्छन्।

बृटेनमा गत ५० बर्ष यताका ११ जना ब्रिटिस प्रधानमन्त्रीहरुमध्ये तीन जनाबाहेक सबै विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयका उत्पादनहरु थिए। ती तीनजनामध्ये प्रसिद्ध राजनीतिज्ञ विन्स्टन चर्चिल प्रतिष्ठित विश्वविद्यालयमा नपढेका भएपनि सेनामा भर्ना भएको केही वर्षभित्रैमा उनले आफ्नो प्रतिभा प्रदर्शन गर्न थालिसकेका थिए। ती प्रतिभाशाली युवक-युवतीहरुले डाक्टर-इन्जिनियर नै बन्ने सपना बोकेका भए र उनीहरुका अभिभावकहरुले पनि उनीहरुलाई त्यस्तै क्षेत्रमा प्रोत्साहित गरेका भए बृटेनको राजनीति पनि हामकहाँ जस्तै मिडिओकर अर्थात अल्पज्ञानी या त्योभन्दा पनि तल्लास्तरका मानिसहरुद्वारा सञ्चालित हुन्थ्यो होला। राजनीति त्यस्ता मानिसहरुको पेसा हुनुहुँदैन भन्ने मान्यता ममा प्रवल रुपमा रहेको छ। किनभने पहिलो कुरा त त्यस्ता अल्पज्ञानीहरुमा कुनै पूर्वदृष्टि र सोच नै हुँदैन जुन देश चलाउनका लागि अत्यन्त जरुरी छ। दोश्रो कुरा राजनीतिमा राज गर्ने तिनीहरुमा तीव्र महत्वाकाङ्क्षा हुन्छ तर त्यसअनुरुपको क्षमता नहुनाले आफ्नो महत्वाकाङ्क्षा पूरा गर्न तिनले इमान्दारी बेच्नैपर्ने हुन्छ। तल्ला स्तरका त्यस्ता मानिसहरु फट्याइँ नगरी माथि पुग्नै सक्दैनन्। आजसम्म त हाम्रो राजनीति मूलत फटाहाहरुकै नेतृत्वमा छ, जसमा कुनै शङ्का छैन। तर अब हामीले पनि त्यो प्रवृतिमा परिवर्तन ल्याउन प्रयास नगर्ने हो भने देशको विकास कसले गर्ने र कहिले गर्ने? के राजनीतिलाई सधैँ छिछि, दुरदुर मात्र गर्ने? आखिर देशको भाग्य निर्माण गर्ने न हो।

तसर्थ, देश बनाउने हो भने सक्षम, असल, प्रतिभाशाली केटाकेटी तथा युवक-युवतीहरुलाई राजनीतिमा प्रोत्साहित गर्नु नितान्त जरुरी छ। यही धारणाले गर्दा नै मेरो छोरा असल र बुद्धिमान भयो भने उसलाई सूचना प्रविधि विशेषज्ञ नबनाएर मैले राजनीतिज्ञ बनाउने सपना बुनेको छु।

SHARE