बिबिसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्र २२ वर्ष पत्रकारिता गरेको संस्था छाडेर पूर्णकालीन राजनीतिमा होमिएका छन्। उनले राजनीतिमा लाग्न बिबिसीबाट राजीनामा दिएको मंगलबार सार्वजनिक घोषणा गरे। मासिक सात लाख रुपैयाँ तलब र थप १५ वर्षसम्म सुनिश्चित जागिर छाडेर पूर्णकालीन राजनीतिमा लागेका मिश्रसँग सेतोपाटीका गिरीश गिरीले लिएको अन्तर्वार्ताः

यत्रो वर्ष बिबिसीमा काम गर्नुभयो। आज यो कार्यालयका सहकर्मीहरू तपाईंलाई विदा गर्नुपर्दा मलिनो अनुहार लगाइरहेको देख्दैछु। तपाईंलाई कस्तो लागिरहेको छ?

बिबिसीमा म आफूलाई असाध्यै भाग्यमानी ठान्छु। २२ वर्षको कार्यकालमा दस वर्ष नेपाली सेवाको प्रमुख रहेँ। म बिरामी अवस्थामै अफिस आउँदा पनि यहाँ आएपछि निको भएका घटना छन्। मेरा साथीहरूकै कारण बिबिसी नेपाली सेवाको लोकप्रियता बढ्यो। यस्तो आनन्दको ठाउँ छाडेर म राजनीतिमा प्रवेश गर्दैछु। मलाई भय नभइरहेको होइन।

अर्कोतर्फ मैले पत्रकारिता र परोपकारको काम गर्दा धेरै नेपालीबाट आँखा चिम्लेर सहयोग पाएँ। म सबै हिसाबले सफल छु। तर, जब जब म यो काठमाडौं खाल्डोबाट दस किलोमिटर पर जान्छु, आफ्नो सफलतालाई आफैंले प्रश्न गर्न थाल्छु। कतिपय मेरा साथीहरू राम्रा हुँदाहुँदै पनि आफूले गरिरहेको काम छाडेर राजनीतिमा हामफाल्न सक्दैनन्। किनभने, उनीहरूको त्यो चरित्र नै छैन। मलाई भने कर्णाली जाँदा वा मधेसका कतिपय ठाउँ पुग्दा जे देख्छु त्यतिबेला मेरो सफलताले मलाई नै व्यंग्य गरेको महशुस हुन्छ। वरिपरि पनि सुन्दर देखिए पो मानिसलाई आफ्नो सफलताको पनि स्वाद मिल्छ। त्यसैले वरिपरि पनि सुन्दर बनाऊँ भन्ने प्रयास हो यो मेरो। इमानदारी साथ प्रयास गर्छु। सकेँ भने सकेँ, सकिँन भने पनि मृत्युशैयामा हुँदा जब जीवनलाई फर्केर हेर्छु, त्यतिबेला यत्रो ठूलो सुविधा छाडेर भए पनि मुलुकको निम्ति प्रयास त गरेँ भनेर चित्त बुझाउने छु।

कस्तो सुविधा?

हेर्नुस् म बिए पढ्दासम्म पनि बगैंचामा बोराले बारिएको शौचालय प्रयोग गर्ने परिवारको मान्छे हुँ। यो बिबिसीले गर्दा नै मैले अलिकति कमाएको हुँ। यो सबै सुविधा छाडेर गर्नुपर्छ भन्नुको कारण नै यो देश अहिलेजस्तो भए पनि बुढेसकालमा नातिनातिना लिएर अलिक पर जाँदा सफा र सुन्दर ठाउँ जान पाइए त्यसले दिने सन्तुष्टि नितान्त फरक हुन्छ भनेर हो।

यो जागिर नछाड्नुभएको भए अरू कति वर्ष सेवा अवधि थियो?

बिबिसीमा ६५ वर्षमा अवकाश पाइन्छ। अर्थात् अझै १५ वर्ष चल्थ्यो। मेरो जागिर सुनिश्चित मात्र होइन फेरि बेलायतै आएर काम गर्ने प्रस्तावसमेत थियो।

ठूलो सेवा सुविधा हुँदाहुँदै बिबिसीको जागिर छाडेर राजनीति गर्न थाल्नुभयो भनिँदैछ। के कस्तो सेवा सुविधा थियो, भन्न मिल्छ?

अब यो कुरा बाहिर आइसकेकाले मलाई भन्न समस्या छैन। मेरो तलब सात लाख रुपैयाँ मासिक थियो। त्यसबाहेक मोटर दिएको थियो। परिवारका चार जना सदस्यको स्वास्थ्य बिमा थियो। मेरो जीवन बिमादेखि लिएर प्रयोग गर्ने फोनलगायत धेरै कुरा थियो। नेपालको परिप्रेक्ष्यमा एक जना पत्रकारले योभन्दा राम्रो अपेक्षा गर्न सक्दैन। यो अवस्थामा रहेको मानिस अब भोलिदेखि मेरो एक पैसा पनि आम्दानी हुने छैन।

खर्च कसरी चल्छ त?

धेरै महिनालाई पुग्ने बचत छ। त्यसबाहेक दुईवटा घर छन्। घरको भाडाबाट पनि आम्दानीको हिसाब राखेको छु। ऋण पनि छ। त्यो पनि मिलाउँदै जानेछु।

भन्नुको मतलब अब राजनीतिको पोखरीमा हामफाल्न तयार हुनुहुन्छ?

पूर्ण रूपमा तयार छु। दिनको कम्तीमा पन्ध्र–सोह्र घन्टा अब राजनीतिलाई समय दिनेछु। कामै गर्ने हो। इमानका साथ गर्ने। दृढताका साथ गर्ने। ज्यान फालेर लाग्ने।

राजनीतिमा संलग्न हुन्छु मात्रै भन्नुभएको भए खासै ठूलो कुरा हुन्थेन। तर, राजनीतिलाई नै फेर्छु भन्नुभएको छ। यो ठूलो कुरा हो। मैदानमा जानको निम्ति के के जुटाउनुभएको छ?

नेपालको राजनीतिक अवस्था यति क्षयीकरण भइसकेको छ, त्यो अवस्थालाई ट्रयाकमा ल्याउने भनेको साँच्चै नै ठूलो चूनौति हो। तर, संसारमा हामीभन्दा धेरै नै प्रतिकूल अवस्थामा भएका देशले दसदेखि बीस वर्षको अवधिमा राजनीतिक स्थिरता हासिल गरेका छन्, विकासको पथमा अग्रसर पनि भएका छन्। त्यसैले त्यो प्रतिकूलता चिर्न सकिन्छ भन्ने विश्वास हो।

मजस्तै विश्वास बोकेका इमानदार नेपालीहरूको साथ नै मेरो सबैभन्दा ठूलो हतियार हुनेछ। यस्तो कदम कुनै न कुनै विन्दुबाट कसै न कसैले चाल्नुपथ्र्यो। त्यो विन्दु सिर्जना गर्न मैले केही समयदेखि निकै प्रयास गरिरहेको थिएँ। केही प्रयास सफल भए, केही भएनन्। अहिले हामी प्रारम्भिक समूह बनेका छौं जसमा उमेर, जातीयता र पृष्ठभूमिका हिसाबले विविध किसिमका व्यक्ति सामेल छौं। यो त सुरुआत मात्रै हो। हामीजस्तै भावना भएका र हामीले नचिनेका नभेटेका मानिस यो देशमा धेरै छन्। उनीहरू सबै जोडिन आउँछन् र यो एउटा अभेद्य शक्ति बन्छ भन्ने हाम्रो विश्वास हो।

राजनीतिमा चासो कहिलेदेखि कसरी सुरु भयो?

२०५७ सालमा नै मैले ‘सकेँ भने छोरालाई राजनीतिज्ञ बनाउँछु’ भनेर स्तम्भ लेखेको रहेछु। तीन वर्षको छोराको भविष्यबारे मैले यस्तो कुरा गर्दा बेलायतका साथीहरू भने ‘आइटी पो पढाउनु पर्छ’ भन्थे। हाम्रै वरिपरि हेर्नुस् न छोराछोरी अलिक पढेलेखे कि राजनीति चाहिँ गराउनु हुन्न है भन्ने सोच छ। साँच्चै समाज बदल्ने सोच छ भने त छोरा वा छोरी असल भए भने राजनीति गर्न पो प्रेरित गर्नुपर्छ भनेर लेखेको थिएँ। उच्च विवेक भएका योग्य नागरिक राजनीतिमा आउनुपर्छ भन्ने मेरो पहिलेदेखिको मान्यता थियो।

बेलायतबाट नेपाल फर्कंदा म आफ्नो आंशिक समय परोपकारी गतिविधिमै बिताउँछु भनेर आएको थिएँ। मैले निकै वर्षसम्म त्यही नै गरेँ। त्यसमा धेरै राम्रो भयो। मुलुकभरि शिक्षा, स्वास्थ्य र परोपकारका क्षेत्रमा धेरै काम गरेका छौं।
तर, परोपकारको क्षेत्रबाट मैले गरेको कामले जति नै राम्रो गरे पनि त्यो रानीपोखरीमा एक बाल्टिन पानी थपेको जस्तो मात्रै हुन्छ भन्ने मलाई महशुस हुन थाल्यो। यसले अन्तिम समाधान दिँदैन थियो। हामीले चालिसवटा पुस्तकालय बनायौं। तर, मुलुकभर ३२ हजारभन्दा बढी सरकारी विद्यालयमा पुस्तकालय छैनन्। पुस्तकालय नै नभएको स्कुलबाट पढेको विद्यार्थीले खाडीमा ऊँट चराउन नगए कहाँ जाउन्? यस्तोमा कसरी परिस्थिति फेर्ने त? सिंगो परिवर्तन कसले गर्ने त? सोच्दै जाँदा एउटै मात्र उपाय भनेको देशको मूल नीति अर्थात् राजनीतिलाई नै फेर्ने हो। राजनीतिले मात्र यो सिंगो देश बदल्न सक्छ भन्ने भावना बढ्न थाल्यो।

त्यसका लागि त भइरहेकै राजनीतिक दलमा गए पनि त हुन्थ्यो होला? नयाँ नै किन चाहियो?

त्यो नसोचेको होइन। तर, भइरहेका राजनीतिक दलबाट गएँ भने कि त चारित्रिक रूपमा आफैं परिवर्तित भइन्छ, चरित्र नै बिगारिदिन्छ, कि त देश जतासुकै जाओस् आफूचाहिँ बन्ने बाटो रोज्नुपर्छ।

यो सबै कुरो तपाईं आफैं राजनीतिभित्र प्रवेश नगरिकनै कसरी बाहिरबाटै थाहा पाउनु भयो?

यो त हामी सबैले बाहिरबाटै देखिरहेकै कुरा हो।

त्यो त बाहिरबाट देख्नुभयो नि! भित्र नपसेरै निश्कर्षमा पुग्नु कत्तिको उचित हो?

राजनीतिज्ञहरूसँग यति लामो संसर्ग गरियो। त्यो संसर्गले यति आधारभूत कुरा पनि नबुझ्ने भन्ने कहाँ हुन्छ र?

यो सबै त तपाईंले एउटा पत्रकारका हिसाबले बुझ्नुभएको हो। राजनीतिज्ञका हिसाबले त अब बल्ल बुझ्न सुरु गर्नुहुन्छ। त्यसैले कुन कुरा कस्तो अवस्थामा भइरहेको छ भन्ने राजनीति बाहिरैको निश्कर्ष कतिको परिपक्व होला?

किन र? अहिले भर्खर प्रहरी प्रमुखको नियुक्ति हेर्नुभएन? राजदूतको नियुक्तिमा के भयो? यो अनुमान हो र?

राम्ररी सरकार चलाउन नपाउँदै थुनिएका बिपी कोइराला र एकपटक पनि ओहोदामा नपुगेका मदन भण्डारी नै आजसम्म हाम्रो प्रमुख दलका आदर्श भइरहेका बेला राजनीतिमा प्रवेशै नगरेको मानिसले त्यहाँ कोही पनि गतिला छैनन् भन्न कसरी सक्छ? हाम्रो समस्या राजनीतिज्ञमा छ वा समस्या अन्तै अन्तै छ भन्ने बुझ्न पनि त सायद राजनीतिमा गइसकेपछि मात्र थाहा लाग्थ्यो होला नि? किन त्यो क्षेत्रमा प्रवेश गर्ने सबै जनामा दाग लागिरहेको छ भन्ने बुझ्न पनि त बाहिरैबाट त सम्भव थिएन होला?

अहिले राजनीति खराब भएको सबैभन्दा पहिलो दोष व्यक्तिकै हो। सिस्टमले होइन। सिस्टम बनाउने त व्यक्ति हो। व्यक्ति नै खराब भएपछि उसले पद्दति कसरी राम्रो बनाउँछ? उदाहरणका निम्ति जुन नेताहरू जिन्दगीभर नकमाइकनै धनी भएका छन्, ती नेताहरूबाट हामी सुशासनको अपेक्षा गरिरहेका छौं। जुन नेताहरू पार्टीको जीवनमा पारदर्शी हुन सकेनन् ती नेताहरूबाट हामी सरकारमा पारदर्शीता खोजिरहेका छौं। जुन नेताहरुले पार्टीभित्र पद्दती मानेनन् ती नेताहरुले यो देशमा पद्दती बसाइदिउन् भनेर खोजिरहेका छौं। त्यसो हुनाले मैले देखेको समस्या चाहिँ व्यक्तिमै हो। राजनीतिज्ञमै हो। त्यसैले त्यो संस्था बनाउने व्यक्ति ठीक हुनुपर्यो। अनि मात्र संस्था ठीक हुन्छ।

ठूला राजनीतिक दलभित्रै पनि तपाईंजस्ता विचार राख्ने थुप्रै नेता छन्। अहिले अर्कैखाले खोसाखोसका बेला उनीहरुको महत्व घटेको हुनसक्छ। भोलि राजाले शासन लिँदा भीमबहादुर तामाङलाई अघि सारेजस्तो उनीहरु अगाडि बढाइए भने तपाईंको पार्टीको अवस्था के होला?

अरुभन्दा हामी ठीक हौं भनेर भन्नका लागि हामीले चारवटा मूल्य र मान्यता अंगीकार गरेका छौं। त्यो भनेको हामी पद्दतिमा विश्वास गर्छौं, हामी पारदर्शीतामा विश्वास गर्छौं, हामी इमानदारीमा विश्वास गर्छौं र हामी उत्कृष्ट जनशक्तिलाई प्रवद्र्धन गर्न चाहन्छौं किनभने उत्कृष्टतालाई प्रवद्र्धन नगरिकन संसारमा कुनै पनि देश बन्नै सक्दैन। राम्रो र दक्ष व्यक्तिलाई प्रवद्र्धन नगरिकन एउटा सानो संस्था त अघि बढ्न सक्दैन भने मुलुक चलाउन त झनै सम्भव हुँदैन। त्यस कारणले यी मूल्यहरूलाई हामीले अंगीकार गर्ने हाम्रो भरमग्दूर प्रयास हुनेछ।

हामीलाई राम्रोसँग थाहा छ, यो समाज भनेको भ्रष्टहरुको देशमा सबैभन्दा पुछारमा परेको देश हो। त्यस्तोमा हामीले विदेशबाट कसैलाई आयात गरेर यहाँ राजनीति गराउने त होइन। यही समाजबाटै निकाल्नुपर्छ। तर, विश्वास के हो भने हामीले माथिल्लो एक तहलाई विशुद्ध राख्न सक्यौं भने अन्य आउने सम्भाव्य फोहोरमैलाहरूलाई हामीले व्यवस्थापन गर्न सक्छौैं। सफाइ गर्न सक्छौं। तर हामी नै बिग्रियौं भने हामीलाई अन्य फोहोर मैला सफा गर्न गाह्रो पर्छ। त्यसैले आधारभूत रुपमै हामी अरुभन्दा फरक हुन्छौं भन्ने हाम्रो विश्वास हो। जहाँनिर चुक्छौं त्यहाँनिर तपाईंहरुले निश्चित रुपमा औंल्याइदिइ हाल्नुहुन्छ।

राजनीतिमा प्रवेश गर्नुभन्दा अगाडि धेरै ठूलो आदर्शका कुरा गर्ने मानिस त्यहाँभित्र पसिसकेपछि बिजोग भएका छन्। ‘महात्मा गान्धी र मन्डेलाजस्ता हुन्छौं, पदमा जाँदै जाँदैनौं’ भनेकाहरुले देखाएको गति नेपाली समाजले हेरिसकेको छ। यस्तोमा…

अनि हामीले किन त्यस्तालाई विश्वास गर्यौं त? जसमा त्यो चरित्रै थिएन। जसले गरिबका चप्पल नलगाएका छोराछोरीलाई स्कुलबाट घिसारेर लगेर मर्न लगाए। र त्यसो गर्न लगाउने मध्येका कतिपयले आफ्ना छोराछोरीलाई लुकाएर राखेर पढ्न लगाए। तिनीहरुले महात्मा गान्धी र मण्डेला बन्छौं भन्दा हामीले किन विश्वास गरेको?

जसले अरुको लुटेर आफ्नो जीवन चलाए र हिंसालाई प्रयोग गरे, त्यो पनि कुन देशमा भने लोकतान्त्रिक पद्दति भएको देशमा। कुनै तानाशाही पद्दति भएको देशमा होइन। अनि हामीले किन विश्वास गरेको त? प्रश्न त्यो हो। इतिहासमा यस्तो क्षण पनि आउँछ जब मानिसलाई बहकाइन्छ। तर, यसरी बहकाएर गरिएको राजनीतिले क्षणिक लाभ त देला दूरगामी लाभ चाहिँ कतै पनि दिँदैन।

तपाईं त्रिभुवन विश्वविद्यालय पढ्दा विद्यार्थी राजनीति गर्नुभएन?

गरिनँ। राजनीतिक रुपले सक्रिय भएर विद्यार्थी कालमा मैले कहिल्यै केही पनि गरिनँ। तर, २०३६ सालको जनमतसंग्रह ताका दार्चुलामा स्कुले विद्यार्थी छँदा मैले एउटा चियापसलको भित्तामा ‘पञ्चायती व्यवस्था यस्तो हो’ भन्दै मुर्कुट्टा बनाएको कार्टुनका कारण प्रहरी निरीक्षकले मेरो काकालाई सचेत गराएका थिए। विद्यार्थी कालमा कुनै राजनीतिक समूहसँग नजिक नभए पनि २०४६ सालको आन्दोलनका बेला जुलुसहरुमा म सरिक थिएँ। २०६२–२०६३ को आन्दोलनका बेला म बेलायतमै पत्रकारिता गरिरहेको थिएँ।

तपाईंले जुन राजनीतिक दलको प्रारम्भ गर्न लाग्नुभएको छ, त्यसमा सुनिएका जे जति नामहरु छन् ती लगभग सबै नै न २०४६ न २०६२ को आन्दोलनमा पब्लिकले नोटिस गरेका व्यक्ति हुन्। यस्तो अवस्थामा यी दुई आन्दोलनका उपलब्धिप्रति यो दलको धारणा र प्रतिबद्धता कस्तो रहनेछ?

यो देशमा हरेकचोटि आफ्नो कमजोरी लुकाउन संविधानलाई दोष दिइयो। व्यवस्थालाई दोष दिइयो। नाच्न नजान्ने आँगन टेँडो भनेजस्तो भयो। सधैं आँगनको आकार मिलाउनतिर लाग्यौं। आफ्नो मश्तिष्कका रेखा सही छैनन् तर संविधानका रेखा मिलाउने बारेमा मात्र सोचाइ भयो।

जापानमा दोश्रो विश्वयुद्धपछि अमेरिकीहरुले आएर लेखिदिएको संविधान जारी भयो। त्यो संविधान अनुसार जापानीहरुले चाहेको बेला आफ्नो सेना पनि परिचालन गर्न पाउँदैन थिए। सेना नै प्रयोग गर्न नपाउनु भनेको त सार्वभौमसत्ता नै नहुनु होइन? तर, त्यो संविधान उनीहरुले पचास वर्षसम्म एक शब्द पनि परिवर्तन नगरिकन जापानीहरुले त्यत्रो विकास गरे। हामीसँग त २०४६ सालपछि त्यस्तो संविधान थियो। होला त्यसमा केही कमजोरी थिए होलान्। संसारमा कुनचाहिँ संविधान दोषमुक्त होला? तर, हामीले त हरेकचोटि संविधान परिवर्तन गर्न मात्र चाहिरहेका छौं। व्यवस्था परिवर्तन गर्न चाहिरहेका छौं। अहिलेको विन्दुमा आउँदा केही मानिसले अब के भन्न थाले भने कार्यकारी राष्ट्रपति नआइकन अब यो देशमा विकास र स्थिरता नै सम्भव छैन रे! कार्यकारी राष्ट्रपतिका के कस्ता समस्या हुन्छन् भनेर कसैले सोचेकै छैनन्।

यसरी हरेकपटक आफ्ना कमजोरी लुकाउन हामी संविधान र व्यवस्थालाई दोष दिन्छौं। यस्तो अवस्थामा हाम्रो भनाइ के हो भने यो संविधान लोकतान्त्रिक संविधानै हो। र, यही संविधानको दायरा भित्र बसेर हामी विकासको काम गर्छौं। विकास गर्नको लागि संविधान हरेकपल्ट परिवर्तन गरिराख्नु पर्दैन। यो देशमा सबैथोकवादी भए, संविधानवादी चाहिँ किन हुँदैनन्? संविधानको पालनै नगरिकन कसरी लोकतन्त्रलाई संस्थागत गर्न सकिन्छ?

संविधानको पालना किन भइरहेको छैन त?

यो देशमा कस्तो संस्कार विकास भयो भने संविधानको पालना गरेर असन्तुष्टिहरूको सम्बोधन गर्ने होइन कि सडकमा आगो बालेर अथवा संसद अवरुद्ध गरेर मात्र सम्बोधन गर्ने। त्यो स्थापित संस्कारलाई नै हामीले स्वीकार गरिसक्यौं। पद्दतिले विचारलाई निर्देशित गर्नुपर्नेमा व्यक्ति व्यक्तिका विचारले पद्दतिलाई निर्देशित गर्ने संस्कार यहाँ विकसित भयो।

अहिले स्थानीय चुनाव घोषणा भइसकेपछिको अवरोध जुन छ, त्यसको तपाईंले देख्नुभएको निकास के हो?

यो कुरालाई संसदीय पद्दतिभित्रैबाट सम्बोधन गर्नुपर्छ। मधेसमा समस्या नभएको होइन। तर, कुनै समस्या वास्तविक छन् भने कुनै राजनीतिक नेताहरुले स्वार्थवश सिर्जना गरिदिएका छन्। मधेसको जनताका वास्तविक हितसँग जोडिएका जे जस्ता समस्या छन् त्यसलाई छोड्न मिल्दैन। राजनीतिभित्र जुन बिग्रिएको संस्कार विकास भएको छ त्यसैको एउटा अंग मधेसको समस्या पनि हो।

मधेसमा संघीयता र प्रतिनिधित्वका जुन कुरा उठाइएको छ त्यसमा तपाईंको भनाइ के हो?

संघीयतामा हामी जाने नै हो। त्यसमा विमति रहेन। तर, संघीयतामा जाने निर्णय मात्र राजनीतिक क्षेत्रले गर्न सक्छ। कस्तो संघीयता भन्ने चाहिँ प्राज्ञिक विषय हो। विज्ञहरुले गर्ने काम हो त्यो। हाम्रा राजनीतिज्ञहरू सबैथोकको बारेमा जानकार पनि आफैं हुन खोजेर बिग्रेको हो।

संविधान जारी गर्दा मधेसवादी दलहरू बाहिरै परे। उनीहरूलाई अटाउन खोज्दा पनि ‘स्पेस’ नदिइएको भनिँदैछ। त्यसले परिस्थिति बिगारेको होइन?

संविधान भनेको गतिशिल दस्तावेज हो। त्यसमा सुधार आवश्यक हुन्छ भनेर त भनेकै छु। हामी यस्तो समयमा बनाउँछौं भनेर आएका छौं जतिबेला हरेकतिर जर्जर भएको अवस्था छ। यसलाई जोड्न धेरै गाह्रो छ भन्ने मलाई थाहा छ। तर, उपाय आखिरमा एउटै छ। त्यो हो यसलाई विधिको शासनभित्र बाँध्नै पर्छ। आजसम्म गल्ती भए होलान्। तर, अब विधिको बाटो पछ्याउनुपर्छ। नत्र भने त्यहाँ जटिलता छ, सबै गएर अड्किएका छन् भनेर यत्तिकै छोडिदिने हो भने त कहिल्यै समाधान हुँदैन।

नेकपा (एमाले) का एकजना वरिष्ठ नेताले ‘यो राष्ट्रघाती संशोधन मान्दैनौं’ भनेको बेलामा ‘यो राष्ट्रघाती हो कि होइन भन्ने निक्र्यौल तपाईंले गर्ने कि संसदले’ भनेर मैले नै सोधेको हुँ। संशोधनको प्रस्तावै लैजान दिइएन। यसलाई संसदमै लैजानुपथ्र्यो। अब अहिले आएर बल्ल प्रक्रियामा गयो। यो सारा बेथिति त नियतले गर्दा नै बढिरहेको भनेर भनिरहेकै छु। सबै कुरा नियतमै गएर अड्किएको हो। नियत ठीक हुने हो भने पहाड र मधेसलाई जोड्दा पनि केहि फरक पर्दैन अलग अलग पार्दा पनि यो देशलाई मजाले विकास गर्न सकिन्छ। नियतलाई बाँध्ने भनेकै नियमले हो। त्यसैले सबैथोक प्रकृयामा ल्याउन अब थालिहाल्नु पर्छ। संसारमा योभन्दा प्रतिकूलता मानिसले नै चिरेका छन्। कुनै अर्को ग्रहको प्राणी आएर चिरेका छैनन्। हामी कोशिस गर्छौं भनेरै आउन लागेका हौं।

तपाईंले २२ वर्ष बिबिसीको पत्रकार भएर बिताउनुभयो। नेपालको पत्रकारितामा यत्रा बेथिति छन्। मुलुकको सिंगो राजनीतिभन्दा पहिले आफू संलग्न पेशाकै बेथितिलाई सुधारौं भन्ने लागेन?

मेरो बुवा भन्नुहुन्थ्यो ‘मेरी श्रीमतीले बौद्धबाट किनेर ल्याउने सागमा पनि राजनीति जोडिएको छ।’ हो, तपाईंले अहिले पत्रकारिताको जे अवस्थाको कुरा गर्नुभयो त्यो पनि गएर राजनीतिसँगै जोडिएको छ। यो मुलुकका सबै बेथिति राजनीतिसँगै गएर जोडिएका छन्। यो मूल नीतिलाई ठीक पारियो भने मात्र बाँकी चरित्र सुध्रिएर जाने हुन्। सुसंस्कृत राजनीति भएका देशहरुमा हेरे पुग्छ। जहाँ राजनीति बिग्रन्छ त्यहाँ समाजको चरित्र पनि बिग्रन्छ। त्यसैले मूललाई नसुधारेसम्म यहाँ अरुथोक सुध्रिनेवाला छैन।

तपाईंहरु प्रायः कसैको पनि राजनीतिक पृष्ठभूमि देखिँदैन, यस्तोमा राजनीति गर्न समस्या पर्छ कि पर्दैन?

यो देशमा बितेको ६५–७० वर्षसम्म कसले राजनीति गर्दै आएको छ? राजनीतिक पृष्ठभूमि भएकाहरुले नै हैन? अनि यो बीचकै दौरानमा हामीजस्तै आर्थिक अवस्था भएको दक्षिण कोरिया आज कहाँ पुग्यो? उतिबेला हामीभन्दा अलिकति मात्र बढी प्रतिव्यक्ति आय भएको सिंगापुर आज अमेरिकाभन्दा अगाडि छ। गृहयुद्धले हामीभन्दा हरिबिजोग भएको इथियोपियाको एयरलाइन्ससँग आज ८० वटा बोइङ विमान छ र थप ५० वटा किन्दैछ। उसको राजधानीमा मोनोरेल चल्छ। उनीहरुले गरे भने हामीकहाँ चाहिँ हाम्रो नेतृत्वले किन अलिकति पनि आशा जगाउन सकेनन्?

त्यो मुलुकहरुको अवस्था र हाम्रो अवस्था त फरक छ नि। हामीकहाँ अहिले पनि संक्रमणकाल सकिएको छैन।

एकदमै जटिल छ। र, यो पोखरी एकदमै गन्दा छ भनेरै पोखरीमा राम्रा मान्छेले हाम्फाल्न नचाहेको पनि देखिरहेकै छौं नि! राम्रा मान्छे नै नभएको समाज होइन हाम्रो। यो जटिलताका वावजूद हाम्फालेर प्रयास गर्नैपर्छ भन्ने सोँचले हामी यो कदम चाल्दैछौं। यत्रो श्रोत साधनले भरिपूर्ण यो देश राजनैतिक पृष्ठभूमि भएकाहरुले नै चलाउँदा यस्तो अवस्थामा पुग्यो। यो हविगत बनाएका छन्। अब राजनीतिक पृष्ठभूमि भएकाहरुले मात्र यो देसमा राजनीति गर्न पाइन्छ भनेर मलाइ कृपया कसैले नभनिदिए हुन्थ्यो। असल मन भएका, यो राष्ट्रप्रति प्रतिवद्धता भएका, देस फेर्न सकिन्छ भन्ने इमान भएका र आफू सफल छु भनेर मात्र सन्तुष्ट हुन नसकेकाहरु सबैलाई राजनीतिको ढोका खोल्नै पर्छ। उनीहरुलाई यहाँ भित्र ल्याउनैपर्छ। यसको अर्थ राजनीतिक पृष्ठभूमि भएकालाई रोक्नुपर्छ भन्ने होइन। मेरै पार्टीमा पनि राजनीतिक पृष्ठभूमिका मानिस हुनुहुन्छ। सबै मिलेर यो दलदलबाट निकालौं भन्ने हो। मूल कुरो पद्दति र पारदर्शीताबाट राजनीति अगाडि बढ्नुपर्छ भन्ने हो।
यो गाह्रो काम हो। मलाइ थाहा छ। कहिलेकाहिँ आँखा चिम्लेर सोच्दा म डराउँछु। तर, कसैले त कहीँबाट सुरु गर्नुप¥यो नि! तपाइले यत्रो प्रतिप्रश्न गरिरहँदा पनि ‘हैन यिनीहरुले चाहेका त छन् नि’ भन्ने भाव त राखिदिनु प¥यो नि!

अब संगठन कसरी तयार पार्नुहुन्छ?

हाम्रो पार्टी निर्माणको चरित्र जसरी हाम्रो दिमागमा बसेको छ त्यसभन्दा अलिक बेग्लै किसिमले सोचिनुपर्छ। संसारमा सिर्जनात्मकता भन्ने कुरा पनि हुन्छ। सिर्जनात्मकतालाई प्रयोग गर्न जानियो भने त्यो परम्परागत ट्रेण्डलाई ब्रेक गर्न सकिन्छ। स्पेनमा पोडेमस भन्ने एउटा पार्टी स्थापना भएको चार महिनामै युरोपियन संसदमा आठवटा सिट जित्यो। स्थापना भएको दुइ वर्षमा संसदमा झण्डै बीस प्रतिशत सिट जित्यो। त्यहाँ पनि अन्य परम्परागत पार्टीहरुको एकदमै बलियो पकड थियो।

भारतमा आम आदमी पार्टीको के भयो हामीले देखिहाल्यौं। हरेक टोलमा स्वतः स्फूर्त रुपमा सातजना वा त्यसभन्दा बढीको एउटा समूह बनाउनुस् भन्ने छौं। त्यो समूह नै हाम्रो पार्टीको सबैभन्दा मुनिको आधारशिला हुनेछ। यसरी तल्लो निकाय स्वतः स्फूर्त रुपमा निर्माण हुनेबित्तिकै त्योभन्दा माथिको इकाइ निर्माण गर्न सजिलो हुन्छ। यही क्रम केन्द्रसम्म बन्दै जान्छ।

हाम्रो भनाइ एउटै हो, कि त यो देसका आम सर्वसाधारणले ‘तिमीहरु गर्न सक्दैनौ, पुरानैले गर्ने हो’ भन्नुप¥यो। होइन भने स्वतःस्फूर्त रुपमा यसरी सात वा त्योभन्दा बढीको समूह बनाएर गठन गर्न थाल्नुप¥यो। त्यसको जानकारी हाम्रो छिट्टै सार्वजनिक हुने वेब साइटहरुबाट बाहिर आउँछ। त्यहाँ भित्रै सबै सम्पर्कहरु हुन्छन्। यसरी एउटा आकार बन्दै जान्छ। प्रारम्भिक प्रतिक्रिया उत्साहजनक छ। यसरी यो पार्टीको निर्माण स्वतःस्फूर्त अघि बढ्यो भने हामी सफल हुने आधार त्यही हुनेछ।

पार्टीको नामदेखि लिएर यसमा को को हुनेछन् भन्ने त अझै खुलेन नि?

त्यो त नखुलाएको हो। हामीसँग सबै छ। दस्तावेजहरु पनि तयार छन्। विधान पनि बनाएका छौं। अलि अलि पैसा पनि जम्मा गरेका छौं। त्यो मात्र होइन, भोली जे जस्ता पैसा जम्मा र खर्च हुन्छ त्यो सबैको हिसाब किताब वेबसाइटमार्फतै पारदर्शी हुनेछ। अलिकति समय दिनुस्, एक महिनाभित्रै सबै बाहिर आउँछ।

स्थानीय निकायको निर्वाचन भ्याउनु हुन्छ?

हाम्रो मुख्य लक्ष्य त राष्ट्रिय चुनाव नै हो। तर, स्थानीय चुनावलाई कसरी सामना गर्ने भनेर हामी छिट्टै निर्णय गर्छौं। दल दर्ता बन्द भइसकेकाले पार्टीगत हिसाबले त चुनावमा भाग लिन मिल्दैन। तर, स्वतन्त्र उम्मेदवार उठाएर लड्न मिल्ने अवस्थामा के गर्ने भन्ने निर्णय चाहिँ चाँडै सार्वजनिक गर्छौं।

Originally Published on SetoPati.com

SHARE

2 COMMENTS

  1. Hearty Best Wishes. You are started to do great . I m really appreciated with you. I am your fan best wisher too. I am always with you. I am dalit science student. I study lot n try to do something in society but many political parties has their own selfishness so They are destroying our family our home our community our society our village our ward our VDC our District Our Zone Our Development area Our Beautiful Country. Noone want to do for Dalit Muslim Madhesi Janajati Poor family. Our political leader cannot change our Beautiful country. We need good education good health good job good security good peaceful good infrastructure development good economic development good farming system good scientific technology in every infrastructure sector for development. Our road have to be good with scientific technology with scientific system. We can change our country. We can make our country great. no need to argue dalit with government that we need rights. what a system is going here. that is disgusting system . So we need rule. that covers all people not only madhesi not only dalit not only brahmins not only men not only women. This Saja Party needs to cover all people by equal eyes .we all are human beings . we have to respect our history but negative system need to eleminate from every community vilage home VDC District every area of our country.

    We have a great power. We have to identify our power. We can change nicely fastly than we imagine . Be bold Be strong Be brave Be humble .
    Strength is life . Weakness is death.
    Best wishes from my side.

    I am ananda Nepali . My home is in Gulmi Kharjyang ward no 3. Now I am Kathmandu Dillibazzar Nepal. My email id: ananda.nepali99@gmail.com.
    You are our leader. you have to do leadership whole nation. I am always with you. I need you. you need us n me.

  2. You are started to do great . I m really appreciated with you. I am your fan best wisher too. I am always with you. I am dalit science student. I study lot n try to do something in society but many political parties has their own selfishness so They are destroying our family our home our community our society our village our ward our VDC our District Our Zone Our Development area Our Beautiful Country. Noone want to do for Dalit Muslim Madhesi Janajati Poor family. Our political leader cannot change our Beautiful country. We need good education good health good job good security good peaceful good infrastructure development good economic development good farming system good scientific technology in every infrastructure sector for development. Our road have to be good with scientific technology with scientific system. We can change our country. We can make our country great. no need to argue dalit with government that we need rights. what a system is going here. that is disgusting system . So we need rule. that covers all people not only madhesi not only dalit not only brahmins not only men not only women. This Saja Party needs to cover all people by equal eyes .we all are human beings . we have to respect our history but negative system need to eleminate from every community vilage home VDC District every area of our country.

    We have a great power. We have to identify our power. We can change nicely fastly than we imagine . Be bold Be strong Be brave Be humble .
    Strength is life . Weakness is death.
    Best wishes from my side.

    I am ananda Nepali . My home is in Gulmi Kharjyang ward no 3. Now I am Kathmandu Dillibazzar Nepal. My email id: ananda.nepali99@gmail.com.
    You are our leader. you have to do leadership whole nation. I am always with you. I need you. you need us n me.

Comments are closed.