Skip links

प्रत्यूष वन्तहरूले राजनीति किन नगर्नै?

Originally published on NEPAL fortnightly magazine | नेपालमा आफ्ना समकालीन युवाहरुमा मैले श्रद्धा गर्ने एकजना मेरा मित्र डाक्टर प्रत्युष वन्त केही समयदेखि लन्डनमा छन्। उनी एउटा अनुसन्धान छात्रवृत्तिको सिलसिलामा लन्डन आएका हुन्। अध्ययनले उनी इतिहासविद् हुन् तर हालैका वर्षहरुमा उनको अनुसन्धान मूलत: सञ्चार क्षेत्रमा केन्द्रित रहेको छ। त्यससँग सम्वन्धित आधा दर्जनभन्दा बढी पुस्तक उनले सम्पादन र सहसम्पादन गरिसकेका छन्। साथमा उनी दी काठमाडौं पोस्ट दैनिकका एकजना स्तम्भकार र समसामयिक विषयहरुमा वहस प्रवर्द्धन गर्ने काठमाडौंस्थित एउटा संस्था मार्टिन चौतारीका संयोजक पनि हुन्। एक दशकभन्दा बढी संयुक्त राज्य अमेरिकामा उच्च शिक्षा लिएर त्यहींबाट विद्यावारिधि गरेपछि धेरै युवाहरुझैँ उनी पनि अमेरिकामै पलायन हुनसक्थे या नेपाल फर्किएपछि अरु कतिपय नेपालीहरुझैँ अमेरिकी डिग्री र अङ्ग्रेजीको दक्षता बेचेर नेपालस्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा टन्न तलब आउने जागिर खाएर आरामले बस्न सक्थे।

तर उनले ती दुबै विकल्प रोजेनन्। परिणामस्वरुप उनी व्यक्तिगत आर्थिक लाभका दृष्टिले पछाडि परेका भएपनि नेपाली बौद्धिक क्षेत्रले भने अहिले नै उनीबाट उल्लेख्य उपलब्धि हासिल गरिसकेको छ। आफ्नो विशेषज्ञताको एउटा क्षेत्र भए पनि उनी देशका चौतर्फी मामिलामा समान चासो राख्छन् र तीमध्ये धेरै विषयमा उनले लेख्दै र बोल्दै आएका छन्। उन गहकिला कुरा लेख्न जान्ने तर आफैँ व्यवस्थापकीय नेतृत्वचाहिं प्रदान गर्न नसकने प्रकृतिका बुद्धिजिवी पनि होइनन् भन्ने मेरो बुझाई छ।

वन्तबारे यो सम्पूर्ण नालीबेली लगाउनको कारण लामो समयदेखि मैले राख्दैआएको र लेखन तथा अन्य माध्यमद्वारा प्रवर्द्धन गर्न खोजिरहेको एउटा मान्यतासँग जोडिएको छ, त्यो हो प्रत्यूष वन्तहरुले राजनीति किन नगर्ने? उनीजस्ता क्षमतावान र राष्ट्रप्रति इमान्दार चासो राख्ने युवाहरु आजभोलि धेरै छन् र तिनले राजनीति नगर्ने हो भने राजनीति कहिले सुध्रने? लन्डनमा वारम्वार हुने उनीसँगको भेटमा हामी यसबारे खुव चर्चा गर्छौ। प्रजातन्त्र रहिरहेको खण्डमा आउँदो २० वर्षपछिको नेपाली राजनीतिको परिकल्पना गर्दा पनि आज हामीले जसलाई घृणा भावले हेरिरहेका छौं, जसलाई भ्रष्ट र अनैतिक भनिरहेका छौं तिनै नेताहरु हाम्रा आँखासामु नाचिरहेका हुन्छन्। तिनिहरु सुध्रने सम्भावना अत्यन्त न्यून देखिन्छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संस्थाहरु बलिया र सक्रिय हुँदा जनताका आशाहरु निकै पलाएका छन्। तर सूर्यनाथ उपाध्यायले प्रहार गर्न सुरु गरेको अग्निगोलाबाट तर्सिएका राजनितिज्ञहरुले भोलि उनको पदावधि सकिएपछि फेरी त्यहाँ सूर्यनाथलाई होइन कुनै ‘हस हजुर नाथ’ लाई नियुक्त गर्न खोज्ने छन् अनि आयोगको आज देखिएको सुधारात्मक शक्तिको कुनै अर्थ रहेनछैन। तसर्थ पहिलेबाट राजनीतिज्ञहरु नै इमानदार र सक्षम नभएसम्म राज्यका अन्य अङ्गहरु स्थायीरुपमा सबल बन्न सक्दैनन्। त्यस्ता अङ्गहरु सवल नभएसम्म विकास केवल चाहना र विकृतिचाहिं आमप्रवृत्ति बन्न जान्छ। त्यसलाई रोक्ने एउटै मात्र उपाय राजनीतिमा सक्षम र इमानदार मानिसहरुको संलग्नता हो। तर त्यस्ता मान्छेहरु सबै राजनीतिलाई छिछि, दुरदर गर्ने र त्यसलाई ‘रिस्की’ देख्ने गर्छन।

जब म प्रत्यूषजीलाई उनीजस्ता युवाहरुले राजनीतिमा प्रवेश नगरी हुँदैहुँदैन भन्छु, उनी ‘मलाई अन्धकार भविष्यमा धकेल्न नखोज्नोस् न यार’ भन्छन्। उनको भनाई छ, आज उनी जे गर्दै छन्, आजभन्दा पाँच वर्षपछि उनका उपलब्धि के हुनेछन् भन्ने उनलाई प्रष्ट थाहा छ। तर नेपालको गन्हाउने राजनीतिमा प्रवेश गरेर पाँच वर्ष मात्र होइन, १० वर्षपछि पनि आफूले चाहेको उपलब्धी हासिल हुने कमै संभावना छ भन्ने उनको भनाई छ। सो तर्कलाई गलत भन्ने पनि कुनै आधार छैन।

नेपालका राजनीतिक दलहरूमा क्षमताको भन्दा कृपाको कदर हुन्छ। हामीकहाँ दलभित्र क्षमताका आधारमा माथि उठ्दै र काम देखाउँदै जाने पद्धतिको विकास भैसकेको छैन। तर त्यसो भनेर कसैले पनि आँट नदेखाउने र त्यस्तो गलत प्रबृत्तिलाई चुनौति नदिने हो भने स्थिति सुध्रने कहिले? त्यसैले प्रश्न उठ्छ, राजनीतिका कारण राष्ट्ररूपी सिँगो जहाज नै डुब्न लागेका बेला आ-आफ्नै शयनकक्षमात्र सिँगारेर के गर्नु? त्यसैले पहिले त जहाज नै बचाउनु पर्ने आवश्यकता छ।

त्यसका लागि फेरी भनौं, प्रत्यूष वन्तहरूले राजनीति किन नगर्ने? अथवा आफैं राजनीतिमा प्रवेस गर्न हिचकिचाउने त्यस्ता क्षमतावान र राष्ट्रप्रति इमान्दार युवाहरुलाई सरकार तथा राजनीतिक दलहरूले खोजी-खोजी तिनको क्षमता सुहाउँदो जिम्मेवारीहरू बहन गरिदिन किन प्रेरित नगर्ने? त्यस्ता सक्षम युवाहरूलाई आफूतिर आकर्षित गर्न दलहरूले अभियान नै किन नचलाउने? अनि पो सुधृन्छ दलहरूको छवि।

हालै, विश्वकै दुई विशिष्ट श्रेणीका विश्वविद्यालय लन्डन स्कुल अफ इकनमिक्स र हार्भडमा पढेका अनि ३० वर्ष पनि नपुगेका मेरा एकजना होनहारका मित्र स्वर्णिम वाग्लेलाई राष्ट्रिय योजना आयोगले आउँदो दुई दशकका लागि नेपालको दिगो विकाससम्वन्धी अवधारणापत्र लेखायो। वाग्लेकै सिफारिसमा अर्का त्यस्तै युवा, अरनिको पाँडे पनि सो लेखन कार्यमा संलग्न भए। त्यसलाई मैले अत्यन्त शुभ संकेतका रुपमा लिएको छु। त्यति कम उमेरका युवाहरुका लागि त्यति महत्वपूर्ण दस्तावेज तयार गर्नु सानो कुरो थिएन। तर व्यक्तिगत सम्पर्कको दौरानमा वाग्लेको क्षमताबाट प्रभावित भएका हुनाले राष्ट्रिय योजना आयोगका सदस्यहरुले उनलाई त्यो जिम्मेवारी दिए। यदि व्यक्तिगत सम्पर्क नभएको भए उनीहरुले स्वर्णिम वाग्लेहरुलाई खोजी हिड्थे होला भन्ने कुरामा मलाई कमै विश्वास छ। यहाँ भन्न खोजिएको के हो भने, सरकारदेखि राजनीतिक दलहरुसम्म, राष्ट्रिय योजना आयोगदेखि अन्य व्यापार-व्यवसायसम्म सबै निकायहरुले ‘हेड हन्टिङ’ गर्नुपर्छ राम्रा मान्छेहरु आ=आफ्ना निकायभित्र भित्र्याउन। अनि डुब्दैन जहाज।

विहान-विहान नेताजीहरुका ढोकाढोका धाउनेहरुलाई मात्र काखी च्याप्नेहरुले आफु र आफ्नो संस्थामात्र होइन त्यस संस्थासँग सम्वन्धित सबैलाई डुबाइरहेका हुन्छन् । यो सबै, राजनीतिमा बुद्धि र प्रतिवद्धता भएका मानिसहरुको अभावको परिणाम हो। यदि देशको चिन्ता गर्ने हो भने यस अभावको खाल्डोलाई पुर्नैपर्छ। त्यसका लागि दोहोरो प्रयासको खाँचो छ।

एकातिर राजनीतिक निकायहरुले सक्षम, इमानदार र देशप्रतिको मायालाई कुनै न कुनै रुपमा व्यक्त गरिरहेका युवाहरुलाई आकर्षित गर्न ‘हेड हन्टिङ्’ गर्न जरुरी छ भने अर्कातिर प्रत्यूष वन्तहरुले राजनीतिलाई ‘रिस्की विजनेस’ सम्झिन छाड्नुपर्छ। राजनीतिक जति ‘रिस्की’ छ त्यति ‘रिवार्डिङ’ पनि छ। डाक्टर र इञ्जिनियर भएर एउटा विभाग चालाउने मात्र होइन, मन्त्री र प्रधानमन्त्री भएर देशै बनाउने सपना पनि देख्नुपर्यो बुद्धिमान र आदर्शवान् युवाहरुले। अनि मात्र बन्छ देश।

मिश्रका अधिकांश स्तंभ-निबन्धहरू उनका तीनवटा पुस्तकहरू, राजनीतिसँगै राजकाज, खान पुगोस् दिन पुगोस् तथा भूमध्यरेखामा पढ्न सकिन्छ। ती पुस्तकहरूबारे थप जानकारी लिन र कसरी हासिल गर्न सकिन्छ भन्ने बुझ्न कृपया BOOKS खण्डमा जानुहोला।

This website uses cookies to improve your web experience.