मिडियामा खरो प्रश्नका पर्याय रवीन्द्र मिश्रको केही समययता परिचय बदलिएको छ । दशकौँको पत्रकारिता पेसालाई बिट मारेर उनी राजनीतिमा कस्सिएका छन् । साझा पार्टी नाम दिएर संयोजकको हैसियतमा मिश्र राजनीतिमा छिरेपछि अब अरूले सोध्ने खरो प्रश्नको सामना गर्दै छन् । आखिर के गर्न खोज्दै छन् उनी राजनीतिमा लागेर ? किन पत्याउने उनको राजनीतिलाई जनताले ? नयाँ पत्रिकाका रामजी ज्ञवालीको प्रश्नमा संयोजक मिश्रले यस्ता जवाफ दिए:

राजनीतिमा लाग्नुको कारण ?
मैले होइन, हामीले गर्नुपर्छ भनेर राजनीतिमा आएको हुँ । यो देशमा दशकौँदेखि विद्यमान परिस्थितिले देशको रूपान्तरणको संकेत नै दिन सकेन । हामीले गरेको कल्पना ‘समृद्धि हाम्रै जीवनकालमा’ भन्ने हो ।

समृद्धि कसरी सम्भव छ ? प्रश्न जरुर उठ्छ । यसको जवाफ स्पष्ट छ । नेपाल स्रोतसाधनले भरिपूर्ण देश हो, जसको सदुपयोग नै भएको छैन । नागरिक निकै सहनशील र मिहिनेती छन् । नागरिकको मिहिनेत र सहनशीलता सदुपयोग भएको छैन । विश्वका धेरै देशले नेपालभन्दा कम स्रोतसाधन भएर पनि १०–१५ वर्षमा ठूलो प्रगति गरेका छन् । यो अवधिमा हामी पनि देशलाई समृद्धिको दिशामा पुर्याउन सक्छौँ भन्ने आत्मविश्वास बोकेर म राजनीतिमा आएको हुँ ।

पत्याउने आधार के ?
सबैभन्दा पहिले पृष्ठभूमि हेर्ने हो । जनताको विश्वास छ भने सुरुवात त्यहीँबाट गर्ने हो । कति गर्छौँ भन्ने कुरा त नेतृत्वमा पुगेपछि मात्रै देखाउन सकिने कुरा हो । राजनीतिको सबैभन्दा ठूलो विडम्बना नै यही हो कि असल भएर पनि वर्षौँसम्म अनुत्पादक बस्नुपर्ने हुन्छ । गर्ने मौका नै आउँदैन । त्यसकारण म भन्छु– सबैभन्दा पहिला पृष्ठभूमि हेर्नुहोस् । हामी खराब होइनौँ, असल हौँ र गर्न सक्छौँ भन्ने लाग्यो भने विश्वास गर्नुहोस्, नत्र विश्वास गर्नुपर्दैन ।

नेपालको राजनीतिमा समस्या कहाँ छ ?
राजनीति गर्नेले काम गर्न नसक्नुको प्रधान कारण इमानको अभाव हो । घोषणापत्रमा राम्रा कुरा लेख्ने, राम्रो भाषण गर्ने र ठूला परिकल्पना गर्ने, तर इमानदार भएन भने केही गर्न सकिँदैन । तर, इमानदारितासँग क्षमता पनि जोड्नुपर्छ । नेपाली राजनीतिमा यही अभावका कारण केही हुन नसकेको हो ।

अहिलेसम्म राजनीतिक दलमा देखिएको संरचनागत समस्यालाई पनि हामीले हेर्नुपर्छ । इमानदारिता र संरचनागत समस्यालाई परिपूर्ति गर्न हामी आएका छौँ । अहिले साझा पार्टीले स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा सक्षम, ऊर्जावान् र विज्ञ व्यक्तिलाई अघि सारेको छ । सबैले बुझ्नुपर्छ, यहाँको धुलोधुवाँले कसैलाई छाड्दैन, यहाँका अस्पताल, बाटो, पार्क, घरका संरचना, हरेक पक्षसँग नागरिकको वर्तमान र भविष्य जोडिएको छ । अब एकदमै सक्षम र इमानदार व्यक्तिलाई यो सहरको नेतृत्व दिने कि नदिने भन्ने जनताको हातको कुरा हो । हाम्रो आग्रह के हो भने यसमा तपाईंहरू खतरा नमोल्नुहोस् । नत्र उम्मेदवार त एकजना हार्ला, तर त्यो सक्षम उम्मेदवार हार्यो भने यहाँका लाखौँ जनता पनि हार्नेछन् ।

तपाईंहरूको सांगठनिक नीति कस्तो छ ?
हामीले दुई किसिमको नीति अवलम्बन गरेका छौँ । तलबाट माथि अर्थात् बटम अप र माथिबाट तल अर्थात् टप डाउन । तल वडास्तरमा नागरिक स्वतस्फूर्त संलग्न भएनन् भने पार्टी निर्माण गर्न गाह्रो छ । यसका लागि हामीले आह्वान गरिसकेका छौँ । त्यस्तै टप डाउन नीतिअन्तर्गत केन्द्रीय समन्वय समितिका सदस्य हामीले चयन गर्नेछौँ । प्रादेशिक समन्वय समिति, जिल्ला समन्वय समितिको नेतृत्व चयन हुनेछ । माथिबाट तल र तलबाट माथिलाई पार्टीको विधानअनुसार महाधिवेशनबाट संगठनको संरचनामा बाँध्नेछौँ । यसो भयो भने पार्टी बलियो र पूर्ण हुन्छ भन्ने हाम्रो विश्वास हो ।

म मुटुमा हात राखेर होइन, सिंगो छातीमा हात राखेर भन्छु– हामी संसद् अवरुद्ध गर्नेछैनौँ, आमहडताल गरेर यातायात अवरुद्ध गर्नेछैनौँ, हामी भित्तेलेखन गर्दैनौँ, कर्मचारी, विद्यार्थी, पत्रकारहरूको भगिनी संगठन खोल्दैनौँ र विधिको शासनले जे माग्छ, त्यही गर्छौँ
पार्टीको मूल नीति कस्तो हुन्छ ?
पार्टीको मूल्य–मान्यतालाई चार खम्बा भनेका छौँ । पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टता । यो देश नबनेको विचार नभएर होइन, राजनीति नभएर होइन, प्रशासन नभएर होइन । केवल पद्धति नभएर हो । पद्धति भनेको विधिको शासन हो, संविधानको पालना हो । देशमा लोकतन्त्र छ भन्ने, तर पद्धतिलाई जहिले पनि कुल्चिएर हिँड्ने, घरमा बसेर निर्णय गर्ने, संसद्मा लगेर छाप लगाउने, चित्त बुझेन भने संसद् र सडक अवरुद्ध गर्ने तरिकाले कसरी हुन्छ ? संसारमा कुनचाहिँ लोकतन्त्र संसद् नै चल्न नदिएर आन्दोलनबाट संस्थागत भएको छ ? यसकारण विधिको शासन एउटा खम्बा हो । हामीले पद्धतिसँगै पारदर्शितालाई जोड दिएका छौँ । यहाँ कैयौँ पार्टी र नेताको पैसो पारदर्शी छैन । नियम–कानुन बनाए पनि चोरले पछाडिको ढोका भेट्टाइहाल्छ । त्यसकारण राजनीतिकर्मी र नागरिक दुवै इमानदार हुन जरुरी छ । यसैगरी संसारमा कुनै पनि देशले उत्कृष्ट जनशक्तिलाई सही ठाउँमा सदुपयोग नगरी प्रगति गरेको छैन । हामीले ‘सहभागितामूलक लोकतन्त्र’ र ‘कल्याणकारी उदारवादी अर्थतन्त्र’ भनेका छौँ । भोलि बन्ने हाम्रा नीति यही सेरोफेरोमा निर्माण हुनेछन् ।

व्यवहार त पुरानै देखाउने होला ?
म मुटुमा हात राखेर होइन, सिंगो छातीमा हात राखेर भन्छु– हामी संसद् अवरुद्ध गर्नेछैनौँ । आमहडताल गरेर यातायात अवरुद्ध गर्नेछैनौँ । हामी भित्तेलेखन गर्दैनौँ । कर्मचारी, विद्यार्थी, पत्रकारहरूको भगिनी संगठन खोल्दैनौँ । र, हामी विधिको शासनले जे माग्छ, त्यही गर्छौँ । यसकारण हामीलाई पत्याउनुपर्छ भन्ने हाम्रो विनम्र आग्रह हो । कि त हामीलाई पनि खराब हुन्, काम लाग्दैनन् भनिदिनुहोस् । काम लाग्छन् भन्ने ठान्नुहुन्छ भने पत्याइदिनुहोस् । हामीलाई हाम्रा लागि पत्याउने होइन, तपार्इंकै लागि पत्याउनुपर्यो ।

तपाईं आज काम गर्दै हुनुहुन्छ, तपार्इंको काममा २० हजार, २५ हजार, ३० हजारको तलब आर्जन गर्नु ठूलो कुरा हुन्छ । एकजना श्रमिकले दिनमा पाँच सय कमाउनका लागि हम्मेहम्मे पर्छ । एकजना सरकारी जागिरेलाई छोराछोरी स्कुल पठाउनका लागि मुस्किल पर्छ । अब विकल्प तपाईंका लागि कि हाम्रा लागि ? हामी त्यो विकल्प दिन्छौँ भनेर आएका हौँ । हामीलाई विश्वास गर्ने कि नगर्ने भन्ने कुरा तपाईंको बुबाआमाको स्वास्थ्य, तपाईंको जीवनस्तर, छोराछोरीको भविष्य, तपार्इंको जीवनको हरेक पक्षसँग गाँसिएको छ । नेपाली जनताले धेरै लामो समयसम्म विकल्प नै छैन भने । अब हामी विकल्पका रूपमा आएका छौँ । त्यसकारण हामीलाई विश्वास गरिदिनोस्, हामी विश्वासघात गर्नेछैनौँ ।

आर्थिक भिजन कस्तो छ ?
अहिलेका २२–२४ वर्षका व्यक्ति मेरो उमेरमा पुग्दा सफा बाटोमा मोटर चलाएर राम्रो ठाउँमा घुम्न जान सक्नुपर्यो । तपाईंले छोराछोरीलाई सार्वजनिक विद्यालयमा राख्दा गर्व गर्न सक्नुपर्यो । तपाईंले अस्पतालमा जाँदा राम्रो उपचार गर्न पाउँछु कि पाउँदिनँ भन्ने आशंका हुनुभएन । तपाईं ५० वर्ष पुग्दा ७० वर्षमा मेरो सामाजिक सुरक्षाको स्थिति के हुन्छ भन्ने चिन्ता हुनुभएन । हामीले बनाउन चाहेको नेपाल यस्तै हो । संसारमा धेरै त्यस्ता देशहरू छन्, जसले छोटो समयमै धेरै प्रगति गरेका छन् । साझा पार्टीले आफ्नो अवधारणालाई अलिकति ‘स्क्यान्डिनेभियन मोडल’ अर्थात् नर्वे, स्विडेन, फिनल्यान्डको मोडलमा ढाल्न खोजेको छ । त्यहा“ समृद्धिको मात्रै होइन, लोककल्याणको पनि उत्तिकै ख्याल गरिन्छ । हामीले समृद्धि र लोककल्याणलाई एक–अर्काको परिपूरकका रूपमा लैजान खोजेका छौँ ।

Originally Published on enayapatrika.com

SHARE