चैत्र २, २०७२- नारायणी कला मन्दिरमा शनिबार र आइतबार पत्रकार/कवि रवीन्द्र मिश्र गुन्जिए । दुई दिनसम्म उनका कविता सुन्नेहरूको भीड लाग्यो । सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तनद्वारा सञ्चालित भरतपुरको मानव सेवा आश्रमको अक्षयकोष स्थापनार्थ उनी एकल परोपकारी कविता वाचनमा उभिएका थिए ।

कविता सुन्न दुई दिन दर्शकश्रोता १ हजार रुपैयाँको टिकट काटेर पुगेका थिए । रवीन्द्रले तिनलाई तीन दर्जनभन्दा बढी कविता सुनाए । ‘आमा,’ ‘भूकम्पपछि,’ ‘तिमी भएनौ भने,’ ‘पाप’ शीर्षक कविता बढी रुचाइए :
हरे पाप त एक दिन लाग्छ लाग्छ
कि आज लाग्छ कि भोलि लाग्छ…

त्यस्तै, उनले ‘नेताजी तपाईं त साह्रै गन्हाउनुभयो,’ ‘मुटुको भूकम्प र तिमी’, ‘युवा हो’, ‘यसरी पढौं कविता’, ‘तिमी, ईश्वर, म मान्छे’ पनि दुवै दिन दोहोर्‍याए । ‘नेताजी तपाईं त साह्रै गन्हाउनुभयो’ ले पनि निकै वाहवाही पायो । कविता वाचनका क्रममा दर्शक दीर्घाबाट सहयोग गर्न प्रतिस्पर्धा चल्यो । जिन्सी सामानसहित दुई दिनमा ३५ लाख जम्मा भयो । टिकट बिक्रीबाट पहिलो दिन ४ लाख ५० हजार र दोस्रो दिन ९ लाख जम्मा भयो । त्यस्तै, कविता वाचनका क्रममा २० लाख १५ हजार नगद जम्मा भयो । आश्रमका लागि ७५ हजार मूल्य बराबरको वासिङ मेसिन र ६५ हजार बराबरको साबुन र सर्फ प्राप्त भयो ।

‘कार्यक्रम सोचेभन्दा राम्रो भयो,’ रवीन्द्रले भने, ‘परोपकारी काममा सहयोगी हातहरू बढ्दै गएका छन् ।’ उनका कविता सुन्न हेटौंडा, नवलपरासीदेखि दर्शकश्रोता जुटे ।

पाँच महिनाअघि हेटौंडामा त्यहीँको मानव सेवा आश्रमको भवन निर्माणार्थ परोपकारी कविता वाचनको आयोजना गरिएको थियो । त्यहाँ १२ लाख रुपैयाँ जम्मा भएको थियो । ‘अक्षयकोषका लागि परोपकारी कविता वाचन कार्यक्रमको आयोजना गरेका थियौं,’ मानवसेवा आश्रमका संयोजक रामजी अधिकारीले भने, ‘अपेक्षा गरेजस्तै सहयोग मिल्यो ।’ उनका अनुसार, सडकबाट उद्धार गरिएका अशक्त, अनाथ र बेवारिसेहरूलाई आश्रममा राखिने गरिएको छ । काठमाडौंको आश्रममा १८, हेटौंडामा ७२ र भरतपुरमा ३७ जना छन् ।

प्रकाशित: चैत्र २, २०७२

– विमल खतिवडा, चितवन

Source: Kantipur