– रवीन्द्र मिश्र

हेर…
पाप त एक दिन लाग्छ, लाग्छ
कि आज लाग्छ
कि भोलि लाग्छ
देखेनौ तिमीले ?
उहिले देउता चोर्नेहरूलाई
अहिले श्राप लागेको छ

भन्लाऊ
पाप लाग्ने भए
ऊ त्यो दुर्गन्धित पैसाले सुन्निएको घरमा
किन चट्यांङ परेन ?
भन्लाऊ
ऊ त्यो अलकत्रा खाने गोरूको भुँडी
प्याट्ट किन फुटेन ?
के पाप कलेजको परीक्षा हो र ?
तुरुन्तै पास र फेल हुने ?
त्यो पनि हुन सक्छ, नहोला नै भन्ने त छैन
तर पाप धेरै वर्षपछि बुढेसकालमा
दिन-रात ‘एया र आत्थु’ भन्दै आउन सक्छ
गु र मुतको आहलमा लतपतिएर आउन सक्छ
छोरा-छोरी, नाति-नातिनाको लाश भएर आउन सक्छ
भन्लाऊ
तिनको के दोष छ ?

हो, एकदिन जानु नै थियो – ती त गए
तिनको स्वर्गको वास हुन्छ
तर पाप त तिमीलाई न लागेको छ
किनभने
अब यो सुन्दर धर्तीमा
नर्कको वास चाहिँ तिम्रो हुन्छ

पाप त एक दिन लाग्छ, लाग्छ

भन्लाऊ
लाख बत्ती बालेको छु
चार धाम गएको छु
मन्दिर बनाएको छु
हीरा-जुहारत चढाएको छु
गंङ्गामा नुहाएको छु
तर म तिमीलाई सोध्छु
कहिले हेरका छौ – मनको दियो कहाँ बलेको छ ?
कहिले सोधेका छौ – विवेकको यात्रा कता हराएको छ ?
मन्दिर बनायौ कि मसान बनायौ ?
हीरा चढायौ कि चेतना जलायौ ?
गङ्गामा नुहायौ कि फोहोर बनायौ ?

हेर, यस्तै गर्यौ भने
पाप त एक दिन लाग्छ, लाग्छ

जाऊ, एकचोटि विवेकको बत्ती बाल
जाउ, एकचोटि मन्दिरमा माफी माग
जाउ, एकचोटि गङ्गामा मुटु पखाल
ढिलो भएको छैन – सूर्य अस्ताएको छैन
मानव भएर आयौ, मानव भएर जाऊ
नत्र पाप त एकदिन लाग्छ, लाग्छ ।

रवीन्द्र मिश्र, ३ कार्तिक २०७१

SHARE