करिब २५ वर्ष सक्रिय पत्रकारिता गरेका रवीन्द्र मिश्र दुई महिनादेखि राजनीतिमा होमिएका छन् ।
बीबीसी नेपाली सेवाको प्रमुखबाट राजीनामा दिएर उनले साझा पार्टी गठन गरेका छन् । साझा पार्टीले छोटो समयमै गृहकार्य गरेर काठमाडौं र ललितपुर महानगरपालिकामा उमेदवार अघि सारेको छ ।
मुलुकमा देखिएको फोहोरी राजनीतिको अन्त्य, मुलुकको विकास र सुशासनलाई नै मुख्य प्राथमिकतामा राखिएको मिश्र बताउँछन् ।
दुई महिनाको समयमा आम जनताले आफूहरूलाई स्थापित पार्टीसरह व्यवहार गरेको उनको प्रतिक्रिया छ ।
मंगलबार बिहान बाह्रखरी डट कमका लागि राजेश केसी  र बलराम पाण्डेसँग कुरा गर्दै मिश्रले यी दुई महिनामा गरेका काम, अबको रणनीति र लक्ष्य हासिल गर्ने योजनासमेत सुनाए ।
प्रस्तुत छ, मिश्रसँग नेपाली राजनीति, परिवर्तनको अवस्था र भावी योजनालगायतका विषयमा गरिएको कुराकानीको सम्पादित अंश :

२५ वर्ष पत्रकारिता गरेपछि दुई महिनादेखि नेता बन्नुभएको छ । यो अवधिको तपाईँको अनुभव कस्तो रह्यो ?

मलाई लागिराखेको एउटा कुरा के हो भने राजनीति इमान्दारीपूर्वक गर्ने हो भने पत्रकारिता र अन्य पेसाभन्दा धेरै नै जटिल विषय हो, त्यो रहेछ पनि । मलाई लागेको दुःख के हो भने यस्तो दुःख गरेर हाम्रा धेरै नेताले राजनीति गरे तर देश बिगारे र गर्न नहुने कामहरू गरे । त्यति दुःख गरेपछि राम्रो काम गरेको भए हामीजस्ता मान्छे पेसा छाडेर राजनीतिमा आउनु पर्दैनथ्यो ।

यो दुई महिनाको बीचमा तपाईँहरूले के राम्रा काम गर्नुभयो त ?

दुई महिनाजति अघि राजनीतिमा आउन भनेर बीबीसीबाट राजीनामा दिएको हुँ ।
परिस्थिति यस्तो बनिदियो, मानौं हामी राष्ट्रिय स्तरको संगठन बनिसकेका पार्टी हौं । जनस्तरबाट त्यहीे व्यवहार गरियो । हामीबाट अपेक्षा पनि त्यस्तै गरियो । त्यसले हामीमाथि दबाब पनि पर्यो ।

तर पनि हामीले व्यवस्थापन गर्यौं । यो बीचमा हामीले हाम्रो विधान लेख्यौं, राजनीतिक दस्तावेज तयार पार्यौं । हामीले यो बीचमा वेबसाइट बनायौं (सार्वजनिक पनि भइसकेको छ) ।
यो बीचमा कार्यालय लगभग निर्माण गरिसक्यौं । स्थानीय तहको चुनाव पनि यही बेला पर्यो । चुनावमा भाग लिँदा राम्रो भनेर निर्णय गर्यौं । किनकि हामीसँग केही बलिया उमेदवार पनि हुनुहुन्थ्यो । त्यसो हुनाले संगठन निर्माणका लागि बाहिर जिल्लामा हिँड्ने अवस्था अहिले भएन ।

सबैको ध्यान यतिबेला चुनावमा छ । अहिले नयाँ पार्टी आएर संगठन बनाउन सक्ने अवस्था छैन । चुनावको कारणले निर्वाचन आयोगले दर्ता बन्द गरेको हुँदा दर्ता गर्न पाएका छैनौं । सीमितताभित्र बसेर पनि काम प्रशस्तै गरेका छौं ।

अहिलेको काम गराइले तपाईँहरूले लक्ष्य हासिल गर्न सक्नुहोला ?

लक्ष्य हासिल गर्न सक्छौं भन्ने प्रश्नै हुँदैन । हामीले लक्ष्य हासिल गर्नैपर्छ, किनकि कति पर्खिने ? धेरै नागरिकले, नागरिक समाजका प्रतिनिधिले अब त सुध्रेला भनेर बसेको होइन ? धेरै पत्रपत्रिका, सञ्चारमाध्यमले निरन्तर दबाब दिएको होइन ? निरन्तर दबाब दिँदादिँदै पनि एउटा मात्र गल्ती हो र ? श्रृङ्खलाबद्ध रूपमा देशलाई घात हुने गरी अनेकौं गल्ती हुँदै आए । कहिले एउटा पार्टीबाट त कहिले अर्को पार्टीबाट भयो ।

लोकमान सिंह कार्कीका विरुद्ध महाभियोग लाग्दा जनदबाबले गर्दा लागेको हो र ? अन्तिम घडीमा आफ्नो अस्तित्व संकटमा पर्ने भएपछि महाभियोग लगाइएको हो । अहिले सुशीला कार्कीमाथि नेपालको परिप्रेक्ष्यमा उहाँ इमान्दारीको प्रतीक हो भनेर सबैले भनेका होइनन् र ?

उहाँजस्तो व्यक्तिलाई गम्भीर कारणबिना महाभियोग लगाइदिने ? त्यो पनि प्रधानन्यायाधीशमाथि ? महाभियोगको हतियार भनेको झन्डै झन्डै देश युद्धमा जाने कि नजाने भनेर निर्णय गरेसमानको गम्भीर विषय हो । यति सहजै महाभियोगको प्रस्ताव ल्याउने ? यसले कस्तो नजिर बस्ला ? भोलि देशलाई कहाँ लैजाला ? यो गल्ती रोकिने अवस्था छैन ।

विभिन्न आस्था बोकेका साथीहरूले बुझे हुन्छ । त्यही आस्थामा उहाँहरू टाँसिएर बस्ने र मतदान गर्ने हो भने हामी सबैले हाम्रो पुस्ता, हामीभन्दा माथि र तलको पुस्तालाई घात गरेको ठहर्छ ।

तपार्इँले दिएका उदाहरण चट्टान जसरी जकडिएर बसेका छन्, चिर्न तपार्इँहरू सक्षम हुनुहोला ?

हामीले सक्षम हुन्छौं भनेरै जटिल र कठिन बाटो अपनाएका हौं । हामी सँगसँगै विदेश र नेपालमा बसेका नेपालीहरूले के बुझिदिनुपर्यो भने जकडिएको अवस्थालाई चिर्न हामीमात्रै लागेर हुँदैन । हामी त अघि आयौं । गर्ने भनेको सामूहिक नै हो । सामूहिक रूपमा गरेनौं भने तपार्इँले पनि तपाईँका छोराछोरीलाई विदेश कसरी पठाऊँ भनेर सोच्नुहुन्छ ।

एकपल्ट फर्किएपछि नेपालको अवस्था खराब छ तिमी नआऊ भन्नुहुन्छ । यही देशमा रमाएर, म मेरै देशमा छु भन्ने कुरालाई गर्व गरेर बस्ने कि विदेसिएका छोराछोरीलाई देशको अवस्था ठिक छैन नआऊ भन्ने ? यो कुरा हरेक नागरिकले सोच्नुपर्ने होइन र ?

तपाईँहरूले पेसा व्यवसायमा आबद्ध व्यक्तिहरूको छुट्टै समूह बनाउँदैनौं भनेर भन्नुभएको छ । तपार्इँहरू जोसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, उनीहरूका सबै छन् । यस्तो बेलामा तपार्इँहरू कसरी अघि बढ्नुहुन्छ ?

नेपालको राजनीति र समाजलाई अहिलेका पार्टीहरूले यति जर्जर बनाइदिएका छन्, त्यसलाई ट्रयाकमा ल्याउन गाह्रो छ । तर हामीभन्दा धेरै जटिल परिस्थितिमा भएका देशहरूले पनि उचित नेतृत्व पाउँदा आफै ८–१० वर्षको बीचमा ट्रयाक समाएका छन् ।

कि हामीले सक्दै सक्दैनौं भनेर आत्मसमर्पण गर्नुपर्यो कि सकिन्छ भनेर निरन्तर लागिरहनुपर्यो ।

हामीलाई साथ दिने र नदिने सबैको विश्वास हामी सक्छौं भन्ने नै हुनुपर्यो । दोस्रो कुरा पत्रकार, पेसाकर्मी, व्यवसायीको बीचमा जसरी राजनीति भएको छ, यो हुनै नहुने काम हामीले गरिदियौं ।
त्यसरी लागेको जनसंख्याको कति प्रतिशत होला भनेर विचार गरौं त ? धेरै ठूलो प्रतिशत छैन । हामीले यस्तो अवस्था सिर्जना गर्यौं कि कर्मचारीमा पनि संगठन नभई हुँदैन, विद्यार्थी, पेसागत संगठनमा पनि नभई हुँदैन भन्ने बनायौं ।
त्यसलाई हामीले तोड्नैपर्छ । तोड्न सक्यौं भने अझै ठूलो जनसमर्थन प्राप्त हुन्छ । यस्तो राजनीतिकरणबाट धेरै पीडित भएका छन् ।

त्यसो भए तपार्इँको पार्टीको पेसागत संगठन हुँदैन ?
हाम्रो विद्यार्थी, अन्य पेसाकर्मीको संगठन हुँदैन । जहाँ स्वार्थको द्वन्द्व हुन्छ, त्यहाँ संगठन बनाउँदैनौं र बनाउन पनि हुँदैन ।
सरकारी कर्मचारीलाई पार्टीको सदस्य बनाएर हुँदैन । हामीले यो कुरा विधानमै प्रस्ट रूपमा लेखेका छौं । हामी विद्यार्थी क्लब नै बनाउँदैनौं ।

तपार्इँकै भनाइमा तपाईँहरूबाट जनताले धेरै अपेक्षा गरेका छन् । अब त्यो अपेक्षा सेलाउन धेरै बेर लाग्दैन भन्ने पनि सोच्नुभएको छ ?
निरन्तर काम गर्यौं भने सेलाउँदैन । आम सर्वसाधारणले यिनीहरूले काम गर्दैछन् भन्ने बुझ्नुपर्यो ।
हामीले बनाएको जस्तो पार्टी अफिस कुनै दलको छैन । जसले पार्टी अफिसलाई सुन्दर बनाउन जान्दैन, त्यसले देश कसरी सुन्दर बनाउने ? हामीले पार्टी अफिसलाई तराई, पहाड र हिमालको प्रतीक बनाएका छौं । त्यो अफिस नितान्त फरक छ । त्यो ग्यालरीजस्तो छ । यो दुई महिनाको बीचमा गरेका हौं ।

जबसम्म नेपालमा कांग्रेस र एमालेको संगठनलाई धक्का दिने गरी कुनै पार्टी जन्मदैन, त्यसबेलासम्म कोही पनि वैकल्पिक शक्ति बन्न सक्दैन भनेर विश्लेषण गरिन्छ । यसलाई तपार्इँहरूले कसरी लिनुभएको छ ?

तपार्इँहरूको भनाइ ठिक हो । प्रमुख दलहरूलाई ओझेलमा पार्ने क्षमता नभएसम्म वैकल्पिक शक्तिको निर्माण हुनै सक्दैन । तर जनताहरू यति आजित भइसकेका छन् कि हाम्रो अपेक्षा के हो भने हामीले स्थानीय तहमा कस्ता उमेदवार उठायौं, त्यहीँबाट हामी कुन प्रकारको राजनीति गर्छौं भन्ने संकेत गर्छ ।
नियतवस गल्ती गरेको हो कि नजानीकन गरेको भन्ने कुरा आउँछ । हामी गल्ती गरेर सिकेर अघि बढ्छौं । भोलि व्यक्ति होइन, देश सफल बनाउने हो भने हामीले रणनीति बनाउने होइन, विकल्प दिएका छौं । रणनीति अब जनताले बनाउने हो ।

तपार्इँहरू वैकल्पिक शक्ति बन्न सक्नुहोला त ? त्यसको आधार के ?
चुनाव सकिनासाथ हामी संगठन निर्माणमा लाग्छौं । हामीले जग बनाएका छौं । अब संगठन निर्माणलाई व्यापक बनाउन सक्यौं भने वैकल्पिक शक्ति बनिहाल्यौं ।

स्थानीय तहको निर्वाचनमा यहाँहरूले दुईवटा महानगरमा उमेदवारी दर्ता गराउनुभएको छ । दुईवटा महानगरमा तपार्इँहरू कुन अवस्थामा हुुनुहुन्छ ?
सामाजिक सञ्जालमा काठमाडौंका मेयर र उपमेयर उमेदवार क्रमशः किशोर थापा र निरुपमा यादवका बारेमा जुन किसिमका भोटिङ भएका छन्, त्यसमा हाम्रा उमेदवार अघि छन् ।
हामीले ललितपुरमा पनि स्वतन्त्र उमेदवारी दियौं । त्यहाँ पनि रमेश महर्जन र शोभा शाक्य असाध्यै बलिया र राम्रो काम गरेका उमेदवार हुनुहुन्छ । दुबै ठाउँमा हामी जित्छौं भन्ने विश्वास छ । काठमाडौं र ललितपुरका मतदाताले पनि योग्य उमेदवार चयन गरेनन् भने त्यो एकजना व्यक्ति त हार्ला तर लाखौं जनता पनि हार्नेछन् । उहाँहरूले जित्नुहुन्छ भन्ने हाम्रो विश्वास हो ।

तपाईँहरूले चुनाव जितेपछिको पाँच वर्षमा काठमाडौं र ललितपुर कस्तो बन्ला ?
तपार्इँँ एकपटक आँखा चिम्लिएर सोच्नुस् । बेल्जियमको बु्रज भन्ने एउटा ठाउँ छ । त्यो सिंगो सहर नै विश्व सम्पदा सूचीमा सूचीकृत छ । काठमाडौंको ठमेलदेखि दरबार स्क्वायरसम्मको हाम्रो ठाउँ पनि त्यस्तै बन्न सक्छ । यो पूरै नेवाः वास्तुकलाको विशिष्ट नमुना बन्न सक्छ । त्यहाँ चोकैचोक हुनेछन्, तारहरू सबै भूमिगत हुनेछन् । त्यहाँ ढुंगा बिच्छ्याइएको हुनेछ, साइकल चलिरहेका हुन सक्छन्, विदेशमा जस्तै छेउछेउमा सडक सांगीतिक टोली हुनेछन्, त्यहाँ जादुगरले जादु देखाइरहेका हुन सक्छन्, टुरिस्टहरू रातिसम्म रमाउन सक्छन् ।

काठमाडौंमा धुलो धुँवा नहुन सक्छ । ठूला ठूला रुखहरू एकैचोटि रोपिनेछन् । पाटन संसारमै सबैभन्दा बढी चोकैचोकको सहर हुन सक्छ । यहाँका मान्छेहरूको रोजगारी बढ्न सक्छ । स्कुल, अस्पतालको स्तरोन्नति हुन सक्छ । यी सबै गर्न  सकिने कामहरू हुन् । यी सबै अधिकार अहिले मेयरसँग छ । त्यो मेयरको पदमा सक्षम मान्छे पुग्ने हो भने त्यो काम हुन्छ, हुन्छ । मलाई कहिलेकहीँ नेपाली राजनीतिमा नानीमैयाँकरण होला भन्ने डर लाग्छ ।

जसरी पञ्चायतकालमा नानीमैयाँ दाहाल एकजना उमेदवार हुनुहुन्थ्यो । सम्पूर्ण असन्तुष्टि जनाउन मान्छेहरूले उनलाई भोट गरे । उनको क्षमता हेरेर होइन, हौवा सिर्जना गरियो । अहिले पनि स्थानीय तहको चुनावमा देशैभरि हौवाका भरमा, बहकाउका भरमा असन्तुष्टि अभिव्यक्ति गर्न गलत ठाउँमा मतदान गरे भने नेपाली राजनीतिलाई फेरि पनि नानीमैयाँकरणबाट जोगाउनुपर्छ ।

होला र ?
नहोला भन्न सकिँदैन । बेला बेलामा भएको छ । नानीमैयाँको केसमा मात्रै होइन, अरू बेला पनि भएको छ । पछि पछुताउने जनता नै हुन् । बेलायतमा पनि यस्तो हौवा सिर्जना गरियो कि युरोपियन युनियनबाट बेलायत छुट्टियो भने खुब राम्रो हुन्छ भनियो । जसले छुट्टिनुपर्छ भनेर मतदान गरे परिणाम आएपछि उनीहरू सार्वजनिक ठाउँमा बसेर रोए । त्यो स्थिति नेपालमा नआओस् ।

तपाईँहरूले अन्य स्थानीय तहमा किन उमेदवार नदिएको ? उमेदवार नपाएर हो ?
उठ्न चाहने मान्छेहरू काठमाडौंभित्र र बाहिर प्रशस्त छन् । तर कैयौंलाई हामीले चिनेकै छैनौं । फेरि संगठन निर्माण पनि भएको छैन ।
अहिले राम्रो उमेदवार पनि हुन सक्छ । नराम्रो भैदियो भने भनेर खतरा मोल्न चाहेनौं ।

धेरैको चाहना विवेकशील नेपाली र साझा पार्टी एक भएर चुनावमा जाओस् भन्ने थियो । तपार्इँहरूले त्यो कुरा सुन्नुभएन कि मिल्न सक्नुभएन ?

सुरुमा हाम्रो धेरै चरणमा कुराकानी भएको हो । मिलेर जानुपर्छ भन्नेमा दुई मत छैन । चुनावअघि नै साझा र विवेकशील मिल्न सक्ने हो भने विवेकशीलका अध्यक्ष उज्ज्वल थापालाई मेयरको उमेदवार बनाऊँ र सँगै लागेर जिताऔं भन्यौं । लामो समयसम्म उहाँहरूबाट जवाफ आएन ।
जवाफ नआएपछि समयको दबाबले गर्दा किशोर थापालाई उमेदवार बनायौं । त्यसको केही दिनमा उहाँहरूले रन्जुजीलाई उमेदवार बनाउनुभयो । त्यसपछि फेरि हाम्रो कुराकानी भयो ।

किशोर थापाजी सहरी विकास विज्ञ पनि हो । किशोर थापा भूपू सहरी र शिक्षा सचिव पनि हो । त्यो सँगसँगै क्षमतावान् मान्छे पनि हो । इमान्दारितामा प्रश्न उठाउन नसकेको मान्छे हो । रन्जुजीको त्यो ऊर्जा छ, तर उमेर कम छ । उहाँको प्रशासनिक र नेतृत्वदायी अनुभव छैन । त्यसैले किशोर थापालाई मेयर र रन्जुजीलाई उपमेयर बनाऔं भनेर हामीले प्रस्ताव गर्यौं । उहाँहरूले चाहिँ रन्जुजीलाई मेयर बनाऊँ, किशोरजीलाई उपमेयर भन्नुभयो । त्यो हामीलाई स्वीकार गर्न अलिकति अप्ठेरो पर्यो । त्यसो हुनाले अहिले सँगै हुन सकेनौं । भविष्यमा हुन सक्छ । हामीलाई धेरै नागरिक समाजका प्रतिनिधिले मिलिदिए हुन्थ्यो भन्ने प्रयास गरेका पनि हुन् ।

साझा पार्टीप्रतिका आरोपहरू पनि सुन्नुभएको छ ? तपार्इँहरूलाई परिवर्तन विरोधी, आलोचनाविरोधी, छिटै प्रतिकारमा उत्रने खालका छन् भनेर भन्छन् नि ! कसरी लिनुभएको छ ?
हा हा हा… । यो कस्तो हुन्छ भने नि जहिले पनि मान्छेको आँखा पत्रिका पढ्दा होस् वा सामाजिक सञ्जाल नकारात्मकताले च्याप्प समात्छ ।
सकारात्मक भयो भने मान्छेको आँखा हतपत पर्दैन तर नकारात्मक भयो भने आँखा पुगिहाल्छ । तपार्इँले सेतो कमिज लगाउनुभयो भने कसैले पनि सेतो कमिज लगाउनुभएछ भनेर भन्दैन तर कालो मसीको दाग पर्यो भने सेतो कमिजमा कालो दाग परेछ नि भन्छ ।

हामी राजनीतिक दलका रूपमा आइसकेपछि आलोचना खप्न नसकेर पनि राजनीति गरिन्छ ? आलोचना हामीले सुन्न सक्नुपर्छ । अनि कैयौं ठाउँमा परिवर्तन पनि गर्नुपर्छ । त्यो आरोपमा एक रत्ति पनि सत्यता छैन ।

रवीन्द्र मिश्रलाई बीबीसीमा तिखो प्रश्न गर्ने पत्रकारका रूपमा चिन्थे ।  सामाजिक सञ्जालबाट पनि चिनेका छन् । तर तपार्इँको पार्टीलाई धेरैले चिनेका छैनन् । सबैले चिन्ने अवस्थामा पुग्न कति वर्ष लाग्ला ?
सामाजिक सञ्जाललाई अवमूल्यन गर्न नहुने रैछ । जाजरकोट, मुगु, कालीकोट, खोटाङ, सर्लाहीका गाउँका मान्छेले हामीलाई सामाजिक सञ्जालबाट थाहा पाए ।
उनीहरू कुनै न कुनै रूपमा पुगेर गफ गर्छन् । त्यो हाम्रा लागि फाइदा पनि हो । स्थानीय तहको चुनावपछि हामी विभिन्न जिल्लामा पुग्छौं ।
यसमार्फत हाम्रो परिचयलाई स्थापित गर्छौं । आउँदो राष्ट्रिय निर्वाचनमा देशभरबाट उमेदवारी दिन सकौं भन्ने हाम्रो चाहना हो ।

परिवर्तन हाम्रै कालमा सम्भव होला त ?
त्यो पूर्ण रूपमा सम्भव छ । इथियोपिया भ्रष्टाचार र भोकमरीले बर्बाद भएको देश थियो । यस्तो हरेक हिसाबबाट बर्बाद भएको देशले १० वर्षभित्रमा एक प्रतिशतभन्दा कम आर्थिक वृद्धिदरबाट १० प्रतिशतभन्दा माथि आर्थिक वृद्धि गरेको १५ वर्ष भयो ।

अहिले इथियोपियासँग ८० वटा बोइङ विमान छ । त्यो सँगैको रुवान्डा हेरौं । चार महिनामा ९ लाख मान्छे जातीय द्वन्द्वमा मारिएको देश हो । रुवान्डाको प्रगतिको गाथा अहिले अनौठो छ ।
नेपाल स्रोत साधनले भरिपूर्ण देश हो । हामीले यो अझै बुझेका छैनौं । स्रोत साधन भनेको हिमाल र पानीमात्रै होइन । पर्यटन क्षेत्रको राम्रोसँग मार्केटिङ गर्न जानेकै छैनौं । बिक्री गर्न पनि जानेका छैनौं ।

त्यसका लागि त प्रधानमन्त्री नभई सम्भव देखिँदैन । तपार्इँहरूलाई प्रधानमन्त्री बन्न कति समय लाग्ला र परिवर्तन कहिले होला ?
तपार्इँजस्ता प्रश्न सोध्ने लाखौं नेपालीहरूले आउँदा निर्वाचनमा हामीलाई भोट दिए भने त्यो बाटोमा अग्रसर भइहालियो । भोट दिएनन् र फेरि पनि रेस्टुराँमा गएर मेनु हेर्यो–हेर्यो लास्टमा मःमः खाएझैं भयो भने परिवर्तन हुँदैन ।

मतदातालाई कन्भिन्स गर्न नसक्नु तपार्इँहरूको कमजोरी ठहरिँदैन ?
यसैगरी अन्तर्वार्तामा जति भनेका छौं, त्यति भनेर पनि बुझेनन् भने आधा विफलता हाम्रो हुन्छ । आधा मतदाताको पनि हुन सक्छ ।

तपाईँले एकदशक अघि नै सकेँ भने छोरालाई राजनीतिमा लगाउँछु भन्नुभएको थियो । अहिले तपार्इँ नै राजनीतिमा होमिनुभयो । अहिले भर्खरै जन्मिएका बालबालिका ३० वर्षपछि फेरि नेपाल उस्तै रह्यो, अब हामी अघि नसरी भएन भन्ने दिन आउला कि नआउला ?

त्यो नआइदिओस् । राजनीति भनेको सहज काम हुँदै होइन । यो समाजसेवा र परोपकारको सबैभन्दा विशिष्ट मञ्च हो । इमान्दारीपूर्वक राजनीति गर्ने हो भने ठूलो समाजसेवा हो । यो कठिन काम हो  । त्यसैले यो अवस्थाको अन्त्य गर्न हामीजस्ता राजनीतिमा होमिनुपरेको हो ।

तपार्इँ नेता भैसकेपछि सबैभन्दा बढी झेल्नुपरेको प्रश्न कुन हो ?
तपाईँहरूको मूल्य–मान्यता, आदर्श सिद्धान्त के हो ? भन्ने प्रश्न धेरै आयो । त्यो सबै स्पष्ट हुने गरी वेबसाइटमा राखेका छौं । यस्तो खराब अवस्था भएको बेला तपार्इँहरूले केही गर्न सक्नुहोला र ? भन्ने प्रश्न पनि धेरै सोधियो ।
अन्त्यमा, अब पनि विचार गरेनौं भने यो अवस्थाबाट उठ्न सक्दैनौं । वस्तुस्थिति बदलिएपछि आस्था परिवर्तन हुन्छ, इमान परिवर्तन गर्नु हुँदैन । स्वार्थविहीन ढंगबाट स्थिति परिवर्तन हुँदा विचार परिवर्तन गर्नैपर्छ । गर्नुभएन भने त्यो जडसूत्रवाद हो । यो देश साँच्चिकै कहिले पनि नसुध्रिने राजनीतिभित्र जकडिएको छ । त्यसलाई निकाल्न हरेक नागरिकले इमान नत्यागीकन आस्था परिवर्तन नगरी हुँदैन ।

SHARE