रवीन्द्र मिश्र

गोलीहरू हावामा उड्छन्

बाटा-बाटामा गोलाहरू गुड्छन्

मानिसहरू एकअर्कासँग मुस्कुराउँदैनन्

एउटा अनौठो मौनता छाएको छ हाम्रा पहाडहरूमा

तपाईं घुमाउरो बाटोमा

पीडा पखाल्दै हिँड्ने एक्ला भरिया देख्नुहुन्न

भीरपाखामा निस्फिक्री बतासिने बैंस देख्नु‍हुन्न

विश्वास, घातमा परिणत हुनसक्छ

रंगहरू बदलिएका छन् :

ती नीलाबाट राता भए

राताबाट सब सेता भए

पीर, पीडा र रंग गुमाएका विधवाहरु बाहेक केही देखिँदैन

अनौठौ मौनता छाएको छ हाम्रा पहाडहरूमा

अनि मेरा मित्रहरू भन्छन् :

तिमी नफर्क, कुनै हालतमा नफर्क

देश युद्धमा छ

सायद ती बुझ्दैनन्

यदि म विदेशमा हरेक दिन चुनावी मुद्दा बन्छु भने

सीमाहरू मलाई नै बाँध्न कसिन्छन् भने

म सदाका लागि अ-आमन्त्रित पाहुना बन्छु भने

मेरा मित्र,

तिमीले बुझ्नुपर्छ

तिमी तिम्रो देशमा फगत् एकपल्ट मर्छौ

म पराया माटोमा हरेक दिन मरिरहेको हुन्छु ।

रवीन्द्र मिश्र, ६ चैत २०६१

SHARE